काठमाडौं । एनसेलमा एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप, वेबसाइट, आइसर्भ तथा इन्टरनेट बैंकिङ निःशुल्क चलाउन मिल्ने भएको छ । एनसेल डेटा प्रयोग गरी बैंकका ग्राहकले एनआइसी एशियाको मोबाइल बैंक एप, आइसर्भ, वेबसाइट र इन्टरनेट बैंकिङ निःशुल्क प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
एपमार्फत अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, अकाउन्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउनुका साथै मुद्दती निक्षेप खोल्न, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउन, मोबाइल टप–अप, युटिलिटि बिल भुक्तानी, क्युआर भुक्तानी र आफ्नो गुनासोको सुनुवाईजस्ता सुविधाहरू लिन सकिनेछ ।
त्यस्तै एनआईसी एशिया बैंकमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक सेयर (आईपीओ) मा आवेदन दिन, कार्डबिनै एटिएमबाट नगद रकम झिक्न र एपमा भएको ‘कस्टमर केयर’ बाट ग्राहकले आफ्ना समस्या समाधान तथा जिज्ञासाको सहजै सम्बोधन पाउनेछन् ।
आइसर्भमार्फत ग्राहकले मोबाइल बैंकिङ सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन–पासवर्ड रिसेट), ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, अकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो सेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र स्टप चेक पेमेन्ट, टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर भर्ने) र कार्डसम्बन्धी सेवाहरू (ई–कमर्स दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, डेबिट कार्ड रिप्लेसमेन्ट आवेदन र इन्स्टा बाई) ग्राहकले सरल तरिकाले लिन सक्नेछन् ।
‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप एनआईसी एशियाले सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्नेछ । बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले ‘सेल्फ हेल्प’ बैंकिङको अभ्यासलाई आइसर्भ मार्फत अघि बढाउँदै आएको छ ।
हाल बैंकले देशभर रहेका ३५८ शाखा कार्यालय, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।