काठमाडौं । २६२२ बाट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) माथि उक्लिएकाले त्यो बिन्दुबाट तल बजार नआउने प्राविधिक विश्लेषकको ठहर छ । उनीहरूले सूचक २६२२ बाट माथि उक्लिएको अवस्था र त्यही बिन्दुभन्दा माथि केही दिनसम्म टिकिरहे बजार त्योभन्दा न्यून बिन्दुतिर नआउने विश्लेषक बताउँछन् ।
उनीहरूले आकलन गरेअनुसार बजार गएमा अब बजार घट्दा पनि २६२२ सम्म मात्रै आइपुग्छ । तर, नेपालम विभिन्न थरीका प्राविधिक विश्लेषक छन् । यसअघि पनि प्राविधिक विश्लेषकले २२५९ अंकसम्म बजार आइपुग्छ भनेका थिएनन् । २२५९ मा बजार आइपुग्दा फेरि प्राविधिक विश्लेषकले २००० को लाइनमा बजार आउने भन्दै हल्ला फैलाएका थिए । तर, बजार यसपटक २२५९ बाट माथि फर्किएको छ ।
सामान्य घटबढ गर्दै मंगलबारसम्म सूचक २६७९.९५ बिन्दुमा आइपुगेको छ । मंगलबार मात्रै ६३ अंकले बजार बढेको छ । सरकारले लगानी योग्य रकम उपलब्ध गराउन केही प्रयास गरेपछिको असर सेयर बजारमा परेको हो । त्यसैगरी, केन्द्रीय बैंकले केही मौद्रिक उपकरण प्रयोग गरेर लगानीयोग्य रकमको अभावलाई चिर्न खोजेको देखिन्छ । त्यसैगरी ब्याजदर स्थिर राख्न पनि केन्द्रीय बैंकले भूमिका निर्वाह गरेका कारण त्यसको सकारात्मक असर बजारमा परेको हो ।
सोमबारको तुलनामा मंगलबार कारोबार रकम पनि घटेको छ । सोमबार ४ अर्ब ५३ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । मंगलबार सूचक ६३ अंकले बढ्दा कारोबार रकम पनि ४ अर्ब ३२ करोडमा खुम्चिएको छ ।
कुनै बेलाको करेक्सन निकै ठूलो हुन्छ भने कुनै पनि स–साना गिरावटपछि बजार फेरि फर्किने गर्छ । यस्तै, बजार बढ्दा पनि कुनै बेलाको वेभ निकै शक्तिशाली हुन्छ भने कुनै बेला विस्तारै बढ्दै माथि जाने गर्छ । लगानीकर्ताले बजारको प्रवृत्ति, बुल–बियरको चरित्र, कुनै बुलिस पिरियड कायम रहने सामान्य अवधि, बुलिस बजारले देखाउने प्रवृत्तिलगायतका विषयमा पनि चनाखोपूर्वक ख्याल गर्न विश्लेषकले सुझाव दिने गरेका छन् ।
सेयर बजारलाई प्रभावित पार्ने विषयवस्तुका विविध पक्षमा पनि ध्यान दिनुपर्ने हुन्छ । यसैगरी, बजार मूल्य, पीई रेसियो, प्रतिसेयर आम्दानी, नाफा, रिजर्भ, रिस्क–रिवार्ड रेसियो लगायतका पक्षमा ध्यान दिन अनुभवीहरू सुझाव दिन्छन् । यसअघि करिब ४ महिना अवधिमा झन्डै ३० प्रतिशतले घट्यो । अब लगानीकर्ता विस्तारै सेयर खरिद गर्न उत्साहित हुँदै जाने अनुमान गर्न सकिन्छ ।
बजार विश्लेषकले विभिन्न तथ्य र आँकडालाई आधार मानी विभिन्न उतारचढावका बाबजुद पनि समग्रमा बजार बिस्तारै अपट्रेन्डमा जाने अनुमान लगाएका छन् ।
हाम्रो सेयर बजारलाई सधैं नीतिगत विषयले प्रभाव पार्दै आएको छ । यसअघि पनि केन्द्रीय बैंककै सेयर धितो कर्जाको सीमाका कारणले बजार ओरालो लाग्न थालेको थियो । यही बेला बजारमा तरलता अभाव र ब्याजदर वृद्धि पनि भयो । यसले बजारलाई झनै अप्ठेरोमा पारेको थियो ।
तर, अहिले फेरि नीतिगत परिवर्तन भएका छन् । तरलता सहज पार्ने टुल्सको पनि प्रयोग गरिएको छ । केन्द्रीय बैंकले आयातमा कडाइ गर्नुका साथै डलर सटहीमा समेत कडाइ गरेको छ । अर्थ मन्त्रालयले स्थानीय तहमा जाने बजेटको ८० प्रतिशतसम्म रकमलाई निक्षेपमा गणना गर्न दिएको छ । यस्तै, बैंकहरूले पुसमा ब्याजदर बढाएका छैनन् । बजारमा सेयर भाउ निकै सस्तो भइसकेको छ । बुल रन जारी रहेको विश्लेषण भइरहेका छन् ।
यी तथ्यहरूका आधारमा लगानीकर्ता उत्साहित बनेको अनुमान गरिएको छ । आम लगानीकर्ताले सकेसम्म सबल वित्तीय सूचक भएका कम्पनीहरूमा आधारभूत अवस्था अध्ययन गरेर भ्याल्यू इन्भेस्टमेन्टको अवधारणालाई अवलम्बन गर्न सके बजारबाट लाभ लिन सकिने विश्वास गर्न सकिन्छ । यस्तै, कम्पनीहरूले सार्वजनिक गरेका वित्तीय विवरण, सम्बद्ध कम्पनीको व्यवस्थापन र सञ्चालकहरूका बारेमा पनि अध्ययन गर्नुपर्छ ।
मंगलबार श्री इन्भेस्टमेन्ट फाइनान्स र सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी, बढ्दो बजारमा पनि डिबेञ्चरको मूल्य भने घटेको छ ।
मंगलबार सबैभन्दा बढी कारोबार नेपाल बंगलादेश बैंकको भएको छ । यसकाे १४ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।