म्याग्दी । धवलागिरि गाउँपालिका–२ मा करिब एक सय मिटर सडक बनाउन दुई वर्ष लागेको छ । धवलागिरिको वडा नं १ र २ मा पर्ने गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडकअन्तर्गत पर्ने महतला भीरमा दुई वर्षको प्रयासपछि सडक बल्ल सडक बनेको हो ।
पूर्वाधार विकास कार्यालयले दरबाङ–बिम–भारबाङ–ताकम–मुना–लुलाङ–गुर्जा सडक आयोजनाअन्तर्गत महतला भीरमा सडक निर्माणका लागि २०७६ साल पुस पहिलो हप्ता ठेक्का लगाएको थियो । १ करोड ४९ लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त योजनामा काठमाडौंको बीएन कन्सट्रक्सनले ७८ लाख ९९ हजार ३१० मा ठेक्का लिएको थियो । विसं २०७७ असार मसान्तसम्म म्याद भएको त्यस आयोजनामा खोरिया, लमसुङ र लुलाङका बासिन्दाको विवादको बहानामा सम्झौता भएको १५ महिनापछि २०७७ साल चैतमा सुरु गरिएको थियो । पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले महतला भिरमा दुइटा प्याकेजमा भएको ठेक्कामार्फत सडकको मार्ग खोलिएको बताए ।
‘आर्थिक वर्ष ०७७÷७८ मा दुई हजार घनमिटर चट्टान फुटाएर सडक बनाउन माछापुच्छ्रे निर्माण सेवाले ठेक्का लिएको काम गत असारमै सकिएको थियो’ उनले भने, ‘०७६÷७७ मा बीएनले ठेक्का लिएको १ हजार ५०० घनमिटर कडा चट्टान काट्ने काम यसैपालि गरिएको हो ।’ अक्करे पहाडमा करिब १ सय मिटर दूरीमा चट्टान काटेर मार्ग खोलिए पनि ग्रेड मिलाउन र फराकिलो बनाएर यातायातका साधन चल्न योग्य बनाउन बाँकी छ । खोरिया आधारभूत विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले अक्करे पहाड छिचोलेर सडकको मार्ग खोलिए पनि थप मर्मत सुधार गरेर जति सक्दो छिटो यातायात सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने बताए ।
‘खोरियाभन्दा अघि मरेनी र लमसुङसम्म सडक पुगेको छ’ उनले भने, ‘महतलाको भीरमा खुलेको ट्र्याकलाई यातायात सञ्चालन योग्य बनाएमा आवतजावत र ढुवानीमा सहज हुने थियो ।’ सडक भए पनि पैदलयात्रा गर्न बाध्य छन् । ढुवानीका लागि भरिया र खच्चरमा निर्भर छन् । महतलामा दुई वर्षअघि सडक पुगेको थियो ।
निर्माण कम्पनी बीएन कन्सट्रक्सनका सञ्चालक नारायण जिसीले महतला भन्ने ठाउँमा पुगेको सडक कताबाट खन्ने भन्ने विवादले समयमा काम गर्न नपाउँदा ढिलाइ भएको बताउँदै आएका छन् । महतलादेखि केही तलबाट दरखोलाको दायाँ किनारबाट सडक खन्नुपर्ने माग गर्दै आएका लुलाङ, लमसुङ र खोरियाका बासिन्दाबीच गत वर्ष गाउँपालिकाको पहलमा महतलाभन्दा अगाडि खोरियाको फेदीबाट लमसुङतर्फ जाने सडक बनाउने सहमति भएको थियो । सहमतिअनुसार गत वर्ष गाउँपालिकाले विनियोजन गरेको ४० लाख रुपैयाँ बजेटबाट खोरियाको फेदीदेखि लमसुङको सिमानासम्म पुगेको सडकलाई पूर्णता दिनुपर्नेमा लमसुङका ओम विकले जोड दिए । महतला भीरमा खोलिएको सडकलाई सुधार गरेमा खोरिया हँुदै लमसुङको सिमानासम्म गाडी गुड्न सक्छन् ।
महतलाको अप्ठ्यारो भीरलाई छाडेर सडक डिभिजन कार्यालयले खोरिया हुँदै कासम खोलासम्म गत वर्ष साढे तीन किलोमिटरभन्दा बढी सडक खनिसकेको छ । खोरियावासीले चन्दा संकलन गरेर ढोरपाटन जाने मूल सडकदेखि लमसुङ जोड्ने सहायक सडकको ट्र्याक पनि खनेका थिए । धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले महतलाको भीरमा खुलेको मार्गलाई चक्लाएर र ग्रेड सुधार गरेर यातायात सञ्चालन योग्य बनाउन तथा गुर्जातर्फ जाने सडक निर्माणका लागि विभिन्न विकल्पमा छलफल र पहल भइरहेको बताए ।