काठमाडौं । पाँच वर्षमा ब्रोडब्याण्ड इन्टरनेट ६२.४९ प्रतिशतले बिस्तार भएको छ । २०७८ कात्तिकको एमआईएस प्रतिवेदनका अनुसार हालसम्म नेपालमा इन्टरनेट ब्रोडब्याण्ड विस्तार ११६.९१ प्रतिशत पुगेको छ ।
२०७३ कात्तिकसम्म १ करोड ४४ लाख १८ हजार ८ सय ५७ रहेको थियो । ब्रोडब्याण्ड इन्टरनेट सब्सक्रिप्सन संख्या २०७८ कात्तिकसम्म ३ करोड ५३ लाख ४३ हजार २ सय ८९ पुगेको हो ।
फिक्स्ड ब्रोडब्याण्ड र मोबाइल ब्रोडब्याण्डतर्फ फोरजीको तिब्रतर विस्तारका कारण पछिल्लो पाँच वर्षमा ब्रोडब्याण्ड इन्टरनेट ६२ प्रतिशतभन्दा माथिको दरले वृद्धि भएको छ ।
पछिल्लो पाँच वर्षको ब्रोडब्याण्ड इन्टरनेट विकासको ग्राफलाई हेर्दा २०७६ कार्तिकमा एक वर्षमा फोरजी सब्सक्रिप्सन संख्या एकै पटक शतप्रतिशतले बढेर ४७ लाख ९१ हजार ८ सय ९६ पुगेको थियो जुन संख्या २०७५ कात्तिकसम्म २१ लाख ४४ हजार ८ सय ८७ थियो ।
यसैगरी फिक्स्ड ब्रोडब्याण्डतर्फ एडीएसएलको सब्सक्रिप्सन घटे पनि केबल तथा द्रुत गतिको एफटीटीएच लाइन विस्तारमा इन्टरनेट सेवा प्रदायकहरु आक्रमक देखिएका छन् । २०७५ कात्तिकसम्म २२ लाख ६७ हजार १ सय ६५ रहेको केबल एफटीटीएच सब्सक्रिप्सन संख्या हालसम्म ८० लाख ७८ हजार ५ सय ७७ पुगेको छ । यसरी हेर्दा ३ वर्षमा केबल तथा एफटीटीएच लाइनको विस्तार २५६.३२ प्रतिशतले बढेको छ ।
यसबीच वायरलेस फिक्स्ड ब्रोडब्याण्ड अन्तर्गत रेडियो वाईफाई तथा वाई म्याक्स विस्तारको संख्या खासै उल्लेखनीय छैन । तर हालसमम रेडियो वाईफाईतर्फ १ लाख २० हजार ६३ र वाई म्याक्स तर्फ ९० हजार ६ सय ३ सब्सक्राइब्र्सहरु छन् ।
२०७८ कार्तिकसम्मको ब्रोडब्याण्ड इन्टरनेटको बजार हिस्साको कुरा गर्दा सबैभन्दा धेरै मोबाइल ब्रोडब्याण्ड इन्टरनेटको हिस्सा ७४.६३ प्रतिशत छ भने वायरलाइन फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको हिस्सा २४.७७ प्रतिशत रहेको छ । यसैगरी अन्य वायरलेस फिक्स्ड ब्रोडब्याण्डको हिस्सा ०.६ प्रतिशत रहेको छ ।
सुरुवात देखि नै मोबाइल इन्टरनेटको वर्चस्व रहँदै आएको नेपाली ब्रोडब्याण्ड इन्टरनेट बजारमा अहिले फिक्स्ड ब्रोडब्याण्डले पनि तिव्र गतिमा बजार हिस्सा लिदैँछ ।