काठमाडौं । अहिले देशमा रासायनिक मलको अभाव नेपालको मात्रै नभई अन्तर्राष्ट्रिय समस्या भएको कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादवले बताएका छन् ।
विश्वव्यापी रुपमा नै रासायनिक मल अभाव भएकाले नेपालमा त्यसको असर देखिएको उनले बताए । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको अर्थ–समितिले विभिन्न ६ विषयगत मन्त्रालयसँग पुँजीगत बजेट खर्च हुन सक्नेबारे गरेको अन्तरक्रियामा बोल्दै यादवले सो कुरा बताएका हुन् । समितिका सभापति कृष्णप्रसाद दाहाल र समितका सदस्य सुरेन्द्र पाण्डेले किसानहरुले बाली लगाउने समयमा बजारमा मल अभाव हुनाको कारण बारे मन्त्री यादवको धारणा माग गरेका थिए ।
जवाफमा मन्त्री यादवले मलको अभावको समस्या नेपालका लागि नयाँ नभएको भन्दै उनले प्रत्यक वर्ष यो समस्या दोहोरिने गरेको बताए ।
विगतका सरकारले यसको दीर्घकालीन समाधान नखोज्दा समस्या दोहोरिने गरेको उनको भनाइ थियो । अन्तर्राष्ट्रिय बजारमा नै रासायनिक मलको अभाव रहेको बताउँदै विश्वव्यापी रुपमा ऊर्जा तथा कच्चा पदार्थ अभावले मल उत्पादनमा कटौती आई मूल्य बढेको समेत बताए ।
‘मल खरिदका लागि कम मूल्यमा टेन्डर हालेका ठेकेदारहरु अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको मारमा पर्दा समयमा नै मल आयात गर्न नसकिएको हो’ मन्त्री यादवले भने, ‘लामो टेन्डर प्रक्रियाका कारण समयमा नै मल खरिद गर्न नसक्दा मूल्यवृद्धिको असर मल आयातकर्तालाई परेको हा ।’
मन्त्रालयले केही समयअघि युरिया मल खरिद गर्नका लागि ग्लोबल टेन्डर आव्हान गरेकामा कुनै पनि आवेदन नपरेको र स्वदेशी तथा विदेशी ठेकेदारलाई लिने फरक–फरक करका कारण आवेदन प्राप्त नभएको यादवले बताए ।
सरकारले मल खरिका लागि स्वेदेशी ठेकेदारबाट २.५ प्रतिशत र विदेशीलाई ५ प्रतिशत कर लिने गरेको छ ।
चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले मलमा १५ अर्ब अनुदान दिएको छ । तर, अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिले गर्दा उक्त अनुदानले नधान्ने देखिएको छ । ‘सरकारले ४ लाख मेट्रिक मल आयातका लागि १५ अर्ब रुपैयाँ दिएकामा अहिलको मूल्यवृद्धिलाई हेर्दा २ लाख मेट्रिक टन पनि आउने नदेखिएको मन्त्री यादवको भनाइ छ ।
विभिन्न देशसँग मल खरिदका लागि ‘जी टु जी’ मार्फत भारतसँग १.५ लाख मेट्रिक टन आयातका लागि अघि बढे पनि मल आउन भने सकेको छैन । यसैगरी नेपाली ठेकेदारले चीनबाट आयात गर्ने भनिएको १.५ लाख मेट्रिक टन मल आयात हुन पनि सकेको छैन । तर, चीनबाट मल आयातका लागि कठिनाइ भएकाले परराष्ट्र मन्त्रालयमार्फत मल आयातका लागि पहल भइरहेको छ ।
समिति सदस्य सुरेन्द्र पाण्डेले भारतमा समेत मल अभाव रहेकाले आफूहरु भारतसँग मात्रै रासायनिक मलमा निर्भर हुन नसक्ने उल्लेख गरे ।साथै मल अभावको समस्या हटाउँदै विकल्पको खोजी गर्नसमेत मन्त्री यादवलाई सुझाव दिएका थिए ।