काभ्रेपलाञ्चोक । पाँचखाल क्षेत्रका किसान आफैंले उत्पाादन गरेको आलु र गोलभेंडाबाट परिकार उत्पादनतर्फ उन्मुख भएका छन् । आलुबाट ‘चिप्स’ तथा गोलभेंडाबाट ‘सस’ बनाउने कामले उनीहरुलाई उद्यमशीलतातर्फ डोर्याउँदैछ ।
एकीकृत शत्रुजीव व्यवस्थान प्रविधि ‘आइपीएम’ किसान पाठशालामा अध्ययन गरी तरकारीलगायत खाद्यान्नमा विषादी न्यूनीकरण गरिरहेका पाँचखालका किसानलाई लभग्रिन नेपाल नामक संस्थाले उद्यमीतर्फ प्रोत्साहित गरिरहेको छ । उक्त संस्थाले स्थानीय चार सहकारीका महिलालाई चिप्स र सस बनाउने तालिम प्रदान गरिसकेको छ । ‘बिस्तारै अन्य सहकारीमा आबद्ध किसानलाई तालिमसँगै उद्यमी बनाउने अभियानमा छौं । उद्यमी बन्ने किसानलाई सहकारीमार्फत लगानी गर्दै जानेछौं’ लभग्रिनका कार्यकारी निर्देशक नारायण ज्ञवालीले भने ।
संस्थाले वातावरणमैत्री दिगो कृषि विकास परियोजनाअन्तर्गत तालिम प्रदान गरेको जनाएको छ । किसानले सानो पूँजीले आफैंले उत्पादन गरेको तरकारीबाट घरमै थप परिकार निर्माण गरी आयआर्जन गर्न सकिने उद्देश्यले इन्छुक किसानलाई तालिम प्रदान गरिने ज्ञवालीले बताए । उनका अनुसार तालिममा जिल्लास्थित खाद्य तथा गुण नियन्त्रण कार्यालयले प्राविधिक सहयोग गरेको छ । किसानलाई उद्योगी बनाउने उद्देश्यले पाँचखाल नगरपालिकाको उत्पादनमूलक उद्योग स्थापना गर्ने उद्देश्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
यसअघि लभग्रिन नेपालले पाँचखाल नगरका करिब १ हजार अगुवा किसानलाई विभिन्न चरणमा १८ महिने आईपीएम किसान पाठशालामा अध्ययन गराएको छ । उनीहरूलाई समय र मौसमको तालिका मिलाएर २२ थरीका आईपीएम प्रविधि पढाउनुको एउटै उद्देश्य तरकारी तथा अन्यबालीमा रासायनिक विषादी न्यूनीकरण गर्दै पाँचखाल नगरको सबै क्षेत्रमा जैविक विषादी प्रयोगतर्फ लैजानु हो । तरकारी तथा अन्य बालीमा विषादी प्रयोग न्यूनीकरण गर्न पाँचखाल नगरकै सामुदायिक तथा निजी माध्यमिक विद्यालयका विद्यार्थीलाईसमेत यो वर्ष सचेतना कार्यक्रमसमेत गरिँदै आएको छ ।
विद्यालय तहदेखिनै विषादीबारे जानकारी, प्रयोग तथा असरबारे जानकारी गराउँदा निकट भविष्यमा विषादी न्यूनीकरणमा ठूलो मद्दत पुग्ने अपेक्षासहित उक्त सचेतना सञ्चालन गरिएको जनाइएको छ । पाँचखालमा १३ सामुदायिक र सात निजी माध्यमिक विद्यालय छन् । लवग्रिन नेपालले मावि तहका विद्यार्थीलाई कक्षामै अनाधिकृत विषादी प्रयोग गर्दा मानव स्वास्थ्य, कृषि पर्यावरण प्रणाली तथा वातावरणमा पर्ने असरबारे भिडियो, अडियो तथा अन्य प्रस्तुतिबाट सचेतना गराउँदै आएको छ ।
‘विद्यालय तहदेखिनै विषादीबारे सचेत गराउदा निकट भविष्यमै विषादी न्यूनीकरणमा मद्दत पुग्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गर्दै आएका छौं’ ज्ञवालीले भने । पाँचखाल क्षेत्र तथा भारतको केरला राज्यमा केही वर्षअघिसम्म अनाधिकृत विषादी प्रयोगबाट परेको असर तथा हाल न्यूनीकरणपछिको अवस्थाबारे भिडियो, अडियो र डकुमेन्ट्रीमार्फत विद्यार्थीलाई जानकारी गराइँदै आइएको छ ।
उक्त संस्थाले केही वर्षदेखि पाँचखालमा आईपीएम, पशु व्यवस्थापन तथा स्वस्थ दूध उत्पादनजस्ता किसान उपयोगी तालिम दिँदै आएको छ भने तरकारीमा विषादी तथा रासायनिक मल न्यूनीकरण गरी किसानलाई प्रांगारिक कृषि उत्पादनतर्फ लैजान निरन्तर प्रयासरत छ । पाँचखाल नपा–७ का शिवराज श्रेष्ठ तरकारीलगायत अन्यबालीमा रासायनिक विषादीको विकल्पमा आफैं जैविक विषादी बनाएर बालीमा हाल्दै आएका छन् ।
जैविक विषादी र मल बनाउन घरमा थेग्न सक्नेसम्म गाईबस्तु थप्ने गरेको र गाईबस्तुबाट जैविकताका लागि मलमूत्र महत्वपूर्ण हुने उनको भनाइ छ । साथै उनले आफ्नो २० रोपनी खेतबारीमा जैविक विषादी प्रयोग गरी केही वर्षदेखि अर्ग्यानिक तरकारी ‘सुरक्षित उत्पादन’ गर्दै आइहरेका छन् ।
किसानले आईपीएम कक्षामा सिकेर आफैंले तयार गरेको जैविक विषादी प्रयोग गर्न थालेपछि पाँचखाल क्षेत्रका तरकारीलबालीमा रासायनिक विषादी प्रयोगमा सचेत बन्दै न्यूनीकरणतर्फ लागेको बताइन्छ । किसान पाँचखालको तरकारीमा विषादी बढी हुन्छ भन्ने आफूहरुमाथि लाग्ने आरोप जैविक विषादीको प्रयोगबाट चिर्ने अभियानमा लागिरहेका छन् ।
सरकारी तथा निजीस्तरबाट सञ्चालित विभिन्न सचेतना कार्यक्रमले पाँचखालमा विषादी प्रयोग कम हुँदै गएको तथ्यांकले देखाएको छ । पाँचखालमा हाल उत्पादित तरकारीजन्य बाली विषादी रोकावट अवशेषको मापदण्डभित्रै रहेकाले ‘सुरक्षित उत्पादन’ भन्न थालिएको पाँचखाल नगरपालिका कृषि शाखाका कृषि प्रविधिक ईश्वर अधिकारीले बताए ।
उनका अनुसार नियमित परीक्षणबाट मापदण्डभन्दा निकै कम प्रतिशत देखिएकाले पाँचखालको तरकारी प्राविधिक हिसाबले ‘सुरक्षित उत्पादन’मा सूचीकृत हुँदै आएको छ । रासायनिक विषादी न्यूनीकरण गर्दै जैविक विषादी प्रयोगमा लागेकोमा वातावरण प्रदुषण तथा मानव स्वास्थ्यमा पर्ने असर कम हुँदै जाने अपेक्षा गरिएको छ ।
पाँचखालका किसानलाई प्रयोगशालामा आफूले उत्पादन गरेको तरकारीको विषादी अवशेषको मात्र परीक्षण गर्न ल्याउन पनि सबैमा अपिल गर्दै आएको छ । केन्द्रमा करिब दुई वर्षदेखि जिल्लाको विभिन्न स्थानको तरकारीको नमूना संकलन गरी नियमित परीक्षण हुँदै आएको छ । संकलित नमुनाको विषादी रोकावट अवशेष परीक्षणमापन गर्दा सुरक्षित मापदण्डभित्र रहँदै आएको जनाइएको छ । परीक्षणबाट पाँचखालको तरकारीमा विषादीको रोकावट प्रतिशत ‘इमिसन रेट’ सरदर तीनदेखि नौ प्रतिशतसम्म झर्ने गरेको र १० देखि २० इमिसन रेटसम्मका तरकारी उत्पादन भइरहेको हालसम्मको परीक्षण प्रतिवेदनले देखाएको छ ।
यस्तै प्रदेशको काभ्रेपलाञ्चोकसहित चितवन, मकवानपुर, ललितपुर र नुवाकोट जिल्लामा आरबीपीआर ल्याब रहेको छ । बागमती प्रदशेको विषादी अवशेष द्रुत विश्लेषण कार्यविधि, २०७५ मा ३५ देखि ४५ प्रतिशतसम्म देखिएमा ४–५ दिन क्वारेन्टिनमा राखेर पुनःपरीक्षणमा ३५ प्रतिशतभन्दा कम नतिजा आएमा खानयोग्य हुने र ४५ प्रतिशतभन्दा बढी ‘इन्हिविसन’ आएमा उक्त कृषि उपजलाई खान अयोग्य मानेर नष्ट गर्नुपर्ने उल्लेख गरिएको छ ।