काठमाडौंं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित १२ जनाविरुद्ध १ अर्ब बढी भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आइतबार सूचना जारी गर्दै आयोगले १२ जनाविरुद्ध १ अर्ब ५३ लाख २२ हजार ४ सय ६ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको जनाएको हो ।
उनीहरुले गुणस्तरहीन रासायनिक मल आयात गरेको आरोप लागेको छ । कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक भण्डारीसहित मल आयात गर्ने कृषि सामग्री कम्पनी, मल परीक्षण गर्ने नेपाल इन्भारमेन्टल एन्ड साइन्टिफिक सर्भिस प्रालि र मल आपूर्ति गर्ने जोशी विज हाउसका प्रतिनिधिविरुद्ध मुद्दा दायर भएको छ ।
कम गुणस्तरको मल आयात गरेको आरोपमा कृषि तथा पशुपन्छी मन्त्रालयको कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णु पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उप–प्रबन्धक पुष्करदीप बुढाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो ।
त्यस्तै गुणस्तहीन मललाई गुणस्तरीय भएको बताउने नेपाल इन्भारमेन्टल एन्ड साइन्टिफिक सर्भिस प्रालिका प्रबन्ध निर्देशक सलिल देवकोटा, ल्याब निर्देशक सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्रकुमार डागा, प्रयोगशाला परामर्शदाता भोलानाथ चौधरी र कम्पनीका तर्फबाट सम्झौता गर्ने मनोज आचार्यविरुद्ध समेत मुद्दा दायर भएको छ ।
साथै मल आयात गर्ने जोशी बिज हाउस प्रालिका विनित जोशीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उक्त कम्पनीलाई भुक्तानी भएको रकमको ९० प्रतिशत हुने गरी भ्रष्टाचारको आरोपमा बिगो कायम गरेको छ ।