जाजरकोट । स्वदेशी लगानीमा निर्माण हुन लागेको अर्धजलाशययुक्त १०६ मेगावाट जगदुल्ला जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययनदेखि निर्माण चरणको काम तीव्र गतिमा अघि बढेको छ ।
जटिल भू–बनोट तथा सडक सञ्जालसँग नजोडिएको आयोजना भए पनि कामले गति लिएको सर्वसाधारणले बताएका छन् । आयोजनाको सार्वजनिक सुनुवाइका क्रममा स्थानीयवासीले काम गर्ने तरिका राम्रो भएको भन्दै डोल्पामात्र नभई कर्णालीकै भविश्यसँग जोडिएको आयोजना भएकाले राज्यले बढी ध्यान दिनुपर्ने बताएका थिए ।
सञ्चारदेखि अन्य कुनै पनि माध्यमबाट सहज नभएको ठाउँमा आयोजनाको काम अघि बढेको र त्यसका लागि कार्यकारी प्रमुख सञ्जय सापकोटा लागिपरेको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए।
जगदुल्लाका लागि मुआब्जा वितरणदेखि स्थानीयवासीसँगको सहकार्य भइरहेको अध्यक्ष शाहीले बताए । जगदुल्ला हाइड्रोपावर कम्पनीसँगै काम थालिएका आयोजनाको काम जटिल भए पनि बाधा अड्चनबिना नै अहिलेसम्म काम अघि बढेको छ ।
मुड्केचुला गाउँपालिका–४ इलमा विद्युत् उत्पादनगृह निर्माण हुनेछ भने, जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा मुख्य बाँध रहनेछ । नेपालको पानी जनताको लगानीअन्तर्गत आयोजनाले विद्युत् उत्पादन गर्नेछ । करिब २० अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेको यो आयोजना दैनिक १ करोड २० लाख रुपैयाँ आम्दानी गर्ने छ ।
यसरी बन्दैछ आयोजना
आयोजनाको विद्युतगृह इलमा थप भौगर्भिक अध्ययन कार्यका लागि निर्माण गरिरहेको टेष्ट अडिट टनेलकोसमेत प्रगति ८० प्रतिशत सम्पन्न गरिसकेको बताएको छ । कूल ४०० मिटर लम्बाइ रहेको नमूना परीक्षण सुरुङको ३२० मिटर खन्ने काम सम्पन्न भएकोे छ । अस्थायी कार्यालय तथा आवास भवनको निर्माणको कम समेत सम्पन्न गरिसकेको छ ।
जटिल भूगोल र हेलिकप्टरबाट ल्याइएका सामग्रीबाट त्यहाँको नमूना परीक्षण हुने गरेको छ । आयोजनाका लागि आवश्यकपर्ने २६० रोपनी जग्गा अधिग्रहण र मुआब्जाको काम अघिल्लो वर्ष नै भइसकेको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) काम समेत सम्पन्न अघिल्लो वर्ष सम्पन्न भइसकेको छ ।
आयोजनाले उत्पादित विद्युत् बिक्रीका लागि गरिने विद्युत् खरिद बिक्री सम्झौता नेपाल विद्युत् प्राधिकरणसँग तथा वित्त व्यवस्थापनका लागि विभिन्न बैंक तथा वित्तीय संस्थासँग छलफल तथा प्रस्तुतीकरण गरी सम्झौताको अन्तिम चरणमा रहेकाले अर्को आर्थिक वर्ष मुख्य कार्यको निर्माण सुरु गर्ने लक्ष्य रहेको निमित्त कार्यकारी प्रमुख सापकोटाले बताए ।
आयोजनाको पहुँच मार्ग जाजरकोट–डोल्पा सडक त्रिवेणीबाट करिब ४५ किलोमिटर सहायक सडक निर्माण गरी आयोजनास्थल मुड्केचुला र जगदुल्ला सडकखण्ड निर्माण गर्नुुपर्ने बाध्यता छ ।
डोल्पास्थित प्रदेश सरकार मातहत रहेको भौतिक पूर्वाधार कार्यालय तथा स्थानीय पालिकासँग कम्पनीले सहकार्य गरी करिब ३० किलोमिटर ट्र्याक खोल्ने कार्य सम्पन्न गरिसकेको र अहिले निर्माण गरिरहेको सडक पूर्वाधारको काममा पनि उल्लेख्य प्रगति देखिएको छ ।
प्रदेशसभा सदस्य वीरबहादुर शाहीले आयोजनाको काम सन्तोषजनक भएको भन्दै जिल्लाको गौरवसँग मात्र नभई कर्णालीकै भविष्यसँग जोडिएको यो आयोजना निर्माणका लागि सबैले सहयोग आवश्यक रहेको बताए । आयोजनाबाट उत्पादन गरिएको विद्युत् रुकुमपश्चिमको बाँफीकोटमा नेपाल विद्युत् प्राधिकरणको निर्माणाधीन सबस्टेशनमा ल्याएर जोडिनेछ ।
जगदुल्ला जलविद्युत् आयोजनाले वातावरणीय अध्ययनको काम अन्तिम चरणमा पुगेसँगै मुख्य परामर्शदाता, मुख्य ठेकेदार छनोटको बोलपत्रसम्बन्धी कागजात तयारी गरिरहेकाले यथाशीघ्र बोलपत्र आह्वान गरी मुख्य परामर्शदाता तथा ठेकेदार छनोट प्रक्रियाका साथ निर्माण कार्य सुरु गर्ने तयारी आयोजनाको छ । कर्णाली प्रदेशकै सामरिक महत्वको आयोजनाका रुपमा यसलाई हेरिएको छ ।
आयोजनाको डीपीआरअनुसार आयोजना निर्माणको कुल लागत २० अर्ब रुपैयाँ अनुमान गरिएको छ । यसअघि ३०७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम थालिएको भए पनि भौगोलिक विकटताका कारण १०६ मेगावाट मात्र विद्युत् उत्पादन गर्न सकिने आयोजनाले जानकारी दिएको छ ।
जगदुल्ला गाउँपालिका–१, हुरिकोटमा २३ मिटर उचाइको जलाशययुक्त ड्याम निर्माण हुनेछ । यहाँ करिब ६ घण्टा पानी थुनेर आयोजना सञ्चालन गरिने छ । आयोजना निर्माणका लागि १० प्रतिशत सेयर स्थानीयवासीले पाउने भएका छन् ।
आयोजना निर्माणका लागि आवश्यक विद्युत्का निम्ति इलस्थित फेदीखोलाबाट २ मेगावाट र काइगाउँस्थित स्थानीय खोलाबाट २ मेगावाट विद्युत् उत्पादन गर्न सम्भाव्यता अध्ययनको काम सुरु गर्न लागिएको छ । आयोजना निर्माणस्थलमा घर नभएका कारण आयोजना निर्माणका लागि समस्या नभएको प्रमुख सञ्जय सापकोटाले जानकारी दिए।