काठमाडौं । राइड सेयरिङ एप सहाराले यात्रु तथा सहारा पार्टनरका लागि ६ लाख रुपैयाँको बिमा योजना ल्याएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा यात्रु तथा सहारा पार्टनरका लागि बिमा योजना ल्याएको हो ।
योजनाअनुसार यात्रु तथा पार्टनरका लागि ५ लाखको दुर्घटना र १ लाख रुपैयाँको उपचार बिमा सहाराले अजोड इन्स्योरेन्ससँग सम्झौता गरेको हो । शुक्रबार एक कार्यक्रमकाबीच सहारा एपका अध्यक्ष शेखर श्रेष्ठ र अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमारबहादुर खत्रीले बिमासम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौता हस्ताक्षर भएकै दिनदेखि सहाराका पार्टनर तथा यात्रुहरुको बिमा सुरु भएको अजोड इन्स्योरेन्सका सीईओ खत्रीले बताए ।
सो सम्झौताअनुसार उक्त योजना सहारा एपबाट राइड रिक्वेस्ट पठाएर यात्रा गर्ने यात्रु र चालक दुवैको हकमा लागू हुनेछ । यात्रु र सहारा पार्टनर दुवैको राइड सुनिश्चित र सुरक्षित बनाउने उद्देश्यका साथ सहाराले अजोड इन्स्योरेन्ससँग २ वर्षका लागि बिमा सम्झौता गरेको कम्पनीका अध्यक्ष श्रेष्ठले बताए ।
पार्टनर र यात्रु दुवैको बिमा गरिएकाले ढुक्क भएर सहाराको सेवा लिन अध्यक्ष श्रेष्ठले आग्रहसमेत गरेका छन् । सहारा एपमार्फत दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनको माध्यमबाट तत्काल चाहेको गन्तव्यमा पुग्न उनको भनाए छ ।
त्यस्तै सहाराले अंग्रेजी नयाँ वर्षदेखि आफ्ना पार्टनरहरुबाट कुनै किसिमको कमिसन नलिने उद्घोष गरेको छ । बजारमा राइडर तथा पार्टनरहरुले कम्पनीलाई २० प्रतिशतसम्म कमिसन बुझाउनु परिरहेको अवस्थालाई ध्यानमा राखेर यात्रुलाई गन्तव्यमा पुर्याउँदा संकलन हुने सबै रकम पार्टनरलाई दिने उद्देश्यले यस्तो व्यवस्था गरिएको श्रेष्ठले बताए ।
उनका अनुसार यो व्यवस्था ६ महिनासम्मका लागि लागू हुनेछ । यात्रुहरुले गुगल प्ले तथा एप्पलको एपस्टोरबाट सहारा एप डाउनलोड गरेर सेवा लिन सक्ने छन् भने चालकहरुले गुगल प्लेबाट सहारा पार्टनर नामक एप डाउनलोड गरेर सहारामा दर्ता भई सेवा दिन सक्नेछन् ।
सहारा एप राइड शेयरिङ एप बिजनेस ग्रोथ कम्पनी प्रालिले सञ्चालनमा ल्याएको हो । १ लाखभन्दा बढी प्रयोगकर्ता रहेको सहारा एपकामा झन्डै २० हजार पार्टनरहरु आबद्ध छन् ।