काठमाडाैं । सन् २०२१ टाटा मोटर्सका लागि फलदायी रह्यो । भारतको स्वदेशी कम्पनी टाटाले कडा टक्कर दिँदै विदेशी कम्पनी हुन्डाईलाई पछि पार्दै भारतमा दोस्रो ठूलो कम्पनी बनेको छ ।
अहिलेसम्म मारुती सुजुकीपछि हुन्डाईको नाम आउँथ्यो । तर, डिसेम्बरमा यो रेकर्ड तोडिएको छ । हुन्डाईको भन्दा बढी कार बेचेर टाटाले दोस्रो स्थान कब्जा गरेको हो ।
पछिल्लो केही महिनायता हुन्डाईको बिक्रीमा गिरावट आइरहेको छ । यस्तोमा टाटाका फरक–फरक कारको लोकप्रियताले हुन्डाईलाई पछि पारेको हो ।
डिसेम्बर २०२१ को सेल्स रिपोर्ट हेर्दा हुन्डाई मोटर इन्डियाले अलग–अलग सेगमेन्टमा कुल ३२ हजार ३१२ कार बेचिसकेको छ । डिसेम्बरको कार सेल्समा वार्षिक ३२ प्रतिशत गिरावट देखिएको छ । यस्तै मासिक सेलमा पनि झन्डै १३ प्रतिशतले कमी आएको छ ।
तर, टाटाको सेल्स रिपोर्ट हेर्दा भने कम्पनीले ३५ हजार २९९ कार बेचेको देखिन्छ । वार्षिक ५० प्रतिशत ग्रोथसमेत छ यसको । यस्तै नोभेम्बरमा कम्पनीले २९ हजार ७८० कार बेचेको थियो । मासिक बिक्री (मन्थ्ली सेल) मा पनि टाटाले नै बाजी मारेको छ ।
टाटाको लामो छलाङ
केही वर्षको अवधिमा टाटा मोटर्सले भारतमा हरेक सेग्मेन्टमा आकर्षक कारहरु बजारमा ल्याइरहेको छ । विशेषगरी एसयूभी सेगमेन्टमा हालसालै लन्च गरेको सानो एसयूभी टाटा पन्च, कम्प्याक्ट एसयूभी सेगमेन्टमा टाटा नेक्सन र टाटा नेक्सन इलेक्ट्रिकले टाटाको भाग्य नै फेरिदियो । यसैको परिणाम हो, टाटाले डिसेम्बरमा हुन्डाईको भन्दा बढी कार बेचेकोे ।
यस्तै टाटा कम्पनीले लामो समयसम्म देशको दोस्रो कार कम्पनी बनिरहने कोसिस गर्ने बताएको छ ।
२०२१ मा टाटाको रोमाञ्चक ‘जर्नी’
२०२१ भरिमा कम्पनीले भारतीय बजारमा मात्रै कुल ३.३ लाखभन्दा बढी कार बेचेको छ । जनवरीदेखि मार्चबीचको अवधिमा ८४ हजार कार बेच्यो । अप्रिल–जुनको त्रैमासमा ६४ हजार ३८७, जुलाई–सेप्टेम्बरमा झन्डै ८४ हजार र वर्षको अन्तिम अर्थात् डिसेम्बर महिनामा मात्रै ९९ हजार कार बेच्यो ।
यसरी कठिन यात्रामा पनि टाटा मोटर्सका कारले आम मानिसलाई आकर्षित गर्न सफल भइरह्यो । र, देशकै दोस्रो पपुलर कम्पनी बन्यो ।
८ सुरक्षित कारमध्ये ६ वटा कारसहित सेफ्टी चार्टमा पनि टाटाकै वर्चश्व
टाटा मोटर्सले टियागो, एनआरजी, टिगोर, टिगोर इभी, अल्ट्रोज, नेक्सन, नेक्सन इभी, ह्यारियर (एच फाइभ) सफारी र पन्च उत्पादन गर्दै आइरहेको छ । यी कारहरूमध्ये अल्ट्रोज, नेक्सन र पन्चले वयस्क सुरक्षामा फाइभ स्टार प्राप्त गरेका छन् । यस्तै टियागो, टिगोर, टिगोर इभीले फोर स्टार प्राप्त गरेका छन् । ग्लोबल एनक्यापको सुरक्षा सूचीमा शीर्ष आठमध्ये छ वटा टाटा मोटर्सका परेका छन् । यसले पनि टाटा मोटर्स सुरक्षित सवारी रहेका प्रस्ट हुन्छ ।
टियागो भर्सेस स्वीफ्ट भर्सेस ग्र्यान्ड आई १० निओस
टाटा टियागोमा १,१९९ सीसीको इन्जिन छ । ग्र्यान्ड आई १० निओस र स्वीफ्टमा १,१९७ सीसीको इन्जिन जडान छ । माइलेजको हिसाबले हेर्दा ग्र्यान्ड आई १० निओसमा २१ किलोमिटर प्रतिलिटर माइलेज छ भने स्वीफ्टमा २३.७६ किलोमिटर प्रतिलिटर माइलेज छ । साथै टियागोमा २३.८६ किलोमिटर प्रतिलिटर माइलेज छ । टाटा टियागोका ११ भेरियन्ट, मारुती स्विफ्टका ९ भेरियन्ट र ग्र्यान्ड आई १० निओसका चार भेरियन्ट रहेका छन् । सुरक्षा रेटिङका हिसाबले पनि टियागो अगाडि छ । टाटा टियागोले सेफ्टी रेटिङमा ग्लोबल एनक्याप फोर स्टार प्राप्त गरेको छ । सेफ्टी रेटिङमा मारुती स्विफ्ट जिरो छ भने ग्र्यान्ड आई १० ले सेफ्टी रेटिङमा टु स्टार प्राप्त गरेको छ ।
टिगोर भर्सेस डिजायर
टाटा टिगोरमा ह्विलबेस २,४५० एमएम र डाइमेन्सन ३,९९३ एमएम, एक्स १६७७ एमएम, एक्स १५३२ एमएम छ भने मारुती सुजुकी डिजायरको ह्विलबेस २,४५० एमएम र डाइमेन्सन ३,९९५ एक्स १,७३५ एमएम एक्स १,५१५ एमएम छ । सुजुकी डिजायरको इन्जिन १,१९७ सीसीको छ भने टिगोरको इन्जिन १,१९९ सीसीको छ । डिजायरले २४.१२ किलोमिटर प्रतिलिटर र टिगोरले २०.३ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ । सुरक्षाको कुरा गर्दा डिजायरले ग्लोबल एनक्याप टु स्टार र टिगोरले फोर स्टार प्राप्त गरेको छ ।
पन्च भर्सेस म्याग्नाइट भर्सेस काइगर
काइगर र म्याग्नाइटमा ९,९९ सीसीको इन्जिन छ । तर, टाटा पन्चमा १,१९९ सीसीको इन्जिन छ । रेनो काइगरको माइलेज २०.५३ किलोमिटर प्रतिलिटर, पन्चको माइलेज १८.९७ किलोमिटर प्रतिलिटर र म्याग्नाइटको माइलेज २०.० किलोमिटर प्रतिलिटर छ । काइगर र म्याग्नाइटको ग्राउन्ड क्लियरेन्स २०५ एमएम छ भने टाटा पन्चमा १८७ एमएम छ । टाटा पन्चमा सुरक्षाबाहेक ट्र्याक्सन कन्ट्रोल, अटो–डिमिङ, रियर–भ्यु, इबीडी र आईएसओ फिक्स प्रविधि उपलब्ध छन् । काइगरमा यी सुविधा उपलब्ध छैनन् ।
निसान म्याग्नाइट सब–कम्प्याक्ट एसयुभीले क्र्यास टेस्टमा एसियन एनक्याप फोर स्टारसुरक्षा रेटिङ प्राप्त गरेको छ । ग्लोबल एनक्याप ले टाटा पन्चलाई फाइभ स्टार र काइगरलाई फोर स्टारको सुरक्षा रेटिङ प्रदान गरेको छ ।
टाटा अल्ट्रोज भर्सेस हुन्डाई आई २० भर्सेस मारुती सुजुकी बलेनो
टाटा अल्ट्रोजको डाइमेन्सन ३,९९० एमएम एक्स १,७५५ एमएम एक्स १,५२३ छ भने हुन्डाई आई २० को ३,९९५ एमएम एक्स १,७७५ एमएम एक्स १,५०५ एमएम छ । टाटा अल्ट्रोजको बुट साइज ३४५ लिटर छ । यस्तै आई २० र सुजुकी बलेनोको क्रमशः २८५ र ३३९ लिटर रहेको छ ।
हुन्डाई आई २० र बलेनोमा १७० एमएमको ग्राउन्ड क्लियरेन्स छ भने अल्ट्रोजको ग्राउन्ड क्लियरेन्स १६५ एमएम छ । हुन्डाई र बलेनोको तुलनामा टाटा अल्ट्रोज आरामदायी र फराकिलो छ । टाटा अल्ट्रोज र हुन्डाई आई २० ले एडल्ट अकुपेन्ट प्रोटेक्सन फाइभ स्टार प्राप्त गरेको छ भने बलेनो ग्लोबल एनक्याप रेटिङमा कुनै स्टार पाएको छैन ।
-एजेन्सीकाे सहयाेगमा ।