काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ९८.७६ प्रतिशत सकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको २३ औं वार्षिक उत्सवको अवसरमा महानिर्देशक राजकुमार क्षेत्रीले ९८.७६ प्रतिशत काम सकिसकेको र सञ्चालनको अन्तिम तयारीमा रहेको जानकारी दिए ।
२०२२ को जनवरीसम्ममा सञ्चालनमा ल्याउने सरकारी तयारी रहे पनि हालसम्म क्यालिब्रेसन फ्लाइट नै हुन सकेको छैन । केही साताअघि एरोथाई क्यालिब्रेसन फ्लाइटका लागि नेपाल आए पनि आवश्यक तयारी नभएको भन्दै फर्किएको थियो ।
महानिर्देशक क्षेत्रीले भने जनवरी अन्तिमसम्ममा क्यालिब्रेसन फ्लाइटका लागि एरोथाईका प्रतिनिधिहरु नेपाल आउने जानकारी दिए ।
पटकपटक म्याद थप गर्दै आएको सो विमानस्थलको फेरि पनि म्याद थप हुने अवस्थामा पुगेको छ । विभिन्न प्राविधिक कारणहरु देखाउँदै उडान मिति सार्वजनिक गर्न अझै समस्या भएको छ ।
क्यालिब्रेसन फ्लाइट गर्न मात्र करिब ३ महिना लाग्छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भारतसँगको विवादका कारण सो विमानस्थलको सञ्चालन मिति अझै अन्यौलमा रहेको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाको माघ पहिलो साता हुने भारत भ्रमणमा गौतमबुद्ध विमानस्थलको एयर रुटको विषयमा पनि छलफल गर्न सुझाव दिएको जानकारी दिए । उनले मिल्यो भने प्रधानमन्त्रीको भ्रमणमा आफूलाई पनि समावेश गर्न अनुरोध गरेको बताउँदै भारतीय समकक्षीसँग विमानस्थलको समस्याबारे जानकारी गराई दुई पक्षीय सहमति गर्ने बताए ।
विमानस्थलमा जडान गर्नुपर्ने रनवे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार–उड्डयन सहायक उपकरण, ब्यागेज ह्यान्डलिङ सिस्टम, कन्भेयर बेल्ट, एक्स–रे मेसिन आदि यन्त्र–उपकरण जडान कार्य सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सुरु भएको विमानस्थल निर्माण कार्य चिनियाँ कम्पनी नर्थ–वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो ।
विमानस्थल सन् २०२२ को जनवरीसम्म सञ्चालनमा ल्याउने सरकारी योजना थियो ।
यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि ८९ प्रतिशत सकिएको महानिर्देशक क्षेत्रीले जानकारी दिए । अर्को वर्षदेखि सञ्चालनमा आउने गरी काम तीव्र भइरहेको उनको भनाइ छ । करिब २२ अर्बमा निर्माण भइरहेको सो विमानस्थलको चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले विसं २०७३ साउन १८ देखि विमानस्थल निर्माण गरिरहेको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्डअनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भए पनि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाजको उडान अवतरण हुने जनाइएको छ ।
पर्यटनमन्त्री आलेले पोखराको विमानस्थलको काम अन्तिम चरणमा पुगे पनि रिठ्ठेपानी डाँडा काट्ने काम नै बाँकी रहेकाले त्यसलाई छिटोभन्दा छिटो अघि बढाउन निर्देशन दिएका छन् । आयोजनाको काम सकिन लाग्दा त्यसका आसपासका बाँकी काममा ढिलाइ भएकोप्रति आक्रोशित हुँदै दु्रत गतिमा काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।