बीबीसी । भारतमा गत साता कोभिड भएका मानिसको सङ्ख्यामा ठूलो वृद्धि भएको देखिएकाले त्यहाँ ओमिक्रोनका कारण कोरोना भाइरस महामारीको तेस्रो लहर आउने त्रास फैलिएको छ।
शनिवार बिहान प्रकाशित तथ्याङ्कका अनुसार विगत २४ घण्टामा देशभरि २२ हजार ७७५ सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा ४०६ जनाको कोभिडका कारण मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यो अक्टोबरयता एकैदिन भएको सर्वाधिक वृद्धि हो।
त्यस्तो वृद्धि राजधानी दिल्ली, आर्थिक केन्द्र मुम्बई र कोलकाताजस्ता उच्च जनघनत्व भएका सहरमा देखिन्छ। यसअघि शुक्रवार बिहान सरकारले २४ घण्टाको अवधिमा १६ हजार ७६४ जनामा सङ्क्रमण पुष्टि भएको तथा २२० जनाको मृत्यु भएको जनाएको थियो।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी छ। गत अप्रिल र मे महिनामा भारतमा कहालीलाग्दो दोस्रो लहर उत्कर्षमा पुग्दा दैनिक सरदर चार लाख मानिसमा कोभिड पुष्टि भएको थियो।
त्यसयता सङ्क्रमितको सङ्ख्या उल्लेख्य घटेको थियो। कैयौँ महिना दैनिक १० हजारभन्दा कम सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका थिए।
तर अधिकारी र विज्ञहरूले निकै सङ्क्रामक ओमिक्रोन भेरिअन्टले तेस्रो लहर सिर्जना गर्न लागेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन्।भारतमा ओमिक्रोनबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या १हजार ४०० नाघेको छ।
मुम्बई रहेको महाराष्ट्र राज्यमा अहिलेसम्म सबैभन्दा धेरै ४५४ जनामा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको छ। दिल्लीमा ३५१, तामिलनाडुमा ११८, गुजरातमा ११५ र केरलामा १०९ जनामा पनि ओमिक्रोन देखिएको छ।
सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि अहिले भारतमा दैनिक सङ्क्रमण पुष्टि दर २.०५ प्रतिशत पुगेको छ। साप्ताहिक पुष्टि दर १.१० प्रतिशत छ।
वेलायत र दक्षिण अफ्रिकामा गरिएका प्रारम्भिक अध्ययनहरूले ओमिक्रोनबाट सङ्क्रमित थोरै मानिसलाई यसअघिका अन्य भेरिअन्टको तुलनामा अस्पतालको स्याहार आवश्यक पर्ने देखाएका छन्। तर यसको सङ्क्रामक प्रवृत्तिका कारण विज्ञहरूले सजग रहन सुझाएका छन्।