काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि शुक्रबार मध्यान्ह नेपाल पर्यटन बोर्डमा बहाली भएका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीमाथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आरोप लगाएका छन् ।
करिब दुई साताअघि नेपाल पर्यटन बोर्डको सञ्चालक समितिले निलम्बन गरेपछि सीईओ रेग्मीले आफू गलत नभएको भन्दै सर्वोच्च अदालतमा अन्तरिम आदेशका लागि निवेदन दिएका थिए । अदालतले अल्पकालीन आदेश दिँदै तत्काल निलम्बन कार्यान्वयन नगर्नसमेत बोर्डलाई निर्देशन दिइसकेको अवस्थामा पर्यटनमन्त्री आले र पर्यटन सचिव महेश्वर न्यौपाने भने उनविरुद्ध प्रचारबाजीमा उत्रिएका छन् ।
बिहान बोर्डकै हलमा आयोजित २३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री आलेले सर्वोच्च अदालतमा पैसा खुवाएर अल्पकालीन आदेश ल्याएको आरोप लगाएका थिए ।
उनले बोर्डका सीईओ रेग्मीलाई त्यति बेला पनि ‘सिंह’ र ‘गैंडा’ को संज्ञा दिएका थिए ।
केही महिनाअघि लन्डनमा आयोजित कार्यक्रममा सहभागी हुँदा बोर्डका सीईओ रेग्मीले आफूलाई अपमानित गरेको र नेपालको प्रतिनिधित्व गर्न राखिएको स्टलसमेत सानो भएको बताएका थिए । स्टल सानो भएकै कारण फोटो खिच्न पनि समस्या भएको र ‘सिंह’ र ‘गैंडा’ जस्तो सीईओले छेकेर आफूले पनि फोटो खिच्न नपाएको गुनासो गरेका थिए ।
त्यतिले मात्र नरोकिएका पर्यटनमन्त्री आले शुक्रबार दिउँसो नेपाल नागरिक उड्डयन प्राधिकरणको २३ औं वार्षिकोत्सव समारोहमा पनि बोर्डका सीईओ रेग्मीप्रति आक्रोशित बनेका थिए । यस्तै सीईओ रेग्मीको कार्यशैलीप्रति प्रश्न उठाउँदै उनले डाक्टरको सर्टिफिकेट पनि चोरेको हुन सक्छ भन्दै आशंका व्यक्त गरेका थिए ।
पर्यटन सचिव महेश्वर न्यौपानेले पनि गाडी व्यवसायीलाई पर्यटन बोर्डको जिम्मेवारी दिँदा समस्या उत्पन्न भएको बताएका थिए । बोर्ड अध्यक्षसमेत रहेका सचिव न्यौपानेले सीईओ रेग्मीको कार्यशैलीका कारण निजी क्षेत्र पनि असन्तुष्ट रहेको बताउँदै राजनीतिक नियुक्तिले बोर्डमा समस्या आएको बताए ।
पर्यटन क्षेत्र नबुझेका व्यक्तिलाई बोर्डको जिम्मा दिँदा यस्तो अवस्था सिर्जना भएको भन्दै आफ्नो कार्यकाल रहँदासम्म कुनै पनि विकृति हुन नदिने प्रतिबद्धतासमेत जनाएका थिए ।
त्यसो त पर्यटन बोर्डका सीईओ रेग्मी खुल्ला प्रतिस्पर्धाबाट बोर्डमा ४ वर्षका लागि नियुक्त भएका हुन् । बोर्डले गठन गरेको छनौट समितिमार्फत दर्खास्त आव्हान गर्दा रेग्मी नियुक्त भएका थिए । बोर्डमा खुल्ला प्रतिस्पर्धामार्फत सीईओको नियुक्ति हुने गरेको छ ।
सीईओ रेग्मीले पुन पदबहाली गर्दै सञ्चालक समितिले आफूमाथि लगाएको आरोपबारे छानबिन गर्न आफू तयार रहेको बताएका छन् । बोर्डका निर्देशकहरुसँगको छलफलमा आफूले यहाँबाट कुनै स्वार्थपूर्र्ति गर्न आवश्यक नरहेको बताउँदै आफ्नो कार्यकालमा उत्कृष्ट कार्य गरेर फर्किने प्रतिबद्धता दोहोर्याएका छन् ।