काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आजदेखि जापानको ओसाकामा व्यावसायिक उडान सुरु गरेकाे छ । निगमको वाइड बडी ए ३३० जहाजले पहिलोपटक ओसाका गन्तव्यमा सिधा उडान सुरू गरेकाे हाे । निगमकाे जहाज आज बिहान २ः३० बजे ओसाकाका लागि प्रस्थान गर्याे ।
बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक समारोहकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ओसाका उडानकाे उद्घाटन गरे । विमानस्थलमा औपचारिक उद्घाटनलगत्तै वाइड बडी जहाजले ओसाकाका लागि उडान भरेकाे थियाे ।
नेपाली ध्वजावहाक जहाज करीब छ घण्टाको उडान पछि ओसाका कन्साई इन्टरनेशनल एयरपोर्टमा भर्खरै अवतरण भएकाे छ । त्यहाँ पनि औपचारिक उद्घाटन कार्यक्रम गर्ने तयारी भइरहेकाे छ । नेपाली ध्वजाबहाक जहाजलाई भव्य स्वागत गर्ने तयारी गरिएकाे छ ।
ओसाका उडानमा पर्यटनराज्यमन्त्री धनबहादुर बुढा, छ जना सांसद, मन्त्रालयका उच्च अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरण र निगमका प्रतिनिधि तथा सरकारी सञ्चारमाध्यम राष्ट्रिय समाचार समिति (रासस) र नेपाल टेलिभिजनका प्रतिनिधि भ्रमण टोलीमा सहभागी छन् ।
निगमका प्रवक्ता गणेशबहादुर चन्दका अनुसार ओसाकाको पहिलो उडानमा यात्रु तथा भ्रमण टोलीका सदस्यसहित १३० सवार भएका छन् । निगमले २७४ यात्रु क्षमताको वाइड बडी ए ३३०–२०० जहाजबाट साताको तीन दिन मङ्गलबार, बिहीबार र शनिबार काठमाडौँ–ओसाका नियमित उडान गर्नेछ ।
निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित ३६ हजार ९९९ रूपैयाँ नयाँ भाडादर निर्धारण गरेको छ । उक्त गन्तव्यमा दुईतर्फी भाडा ७२ हजार ८१४ रूपैयाँ कायम गरिएको छ । यो प्रवद्र्धनात्मक भाडा दर हो । एक महिनापछि नयाँ भाडादर कायम गरिने निगमले जनाएको छ ।
काठमाडौँदेखि ओसाका उडानको समयावधि छ घण्टाको छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विमानस्थलको मर्मतको काम भइरहेको सन्दर्भमा निगमको उडान अवधिमा आधा घण्टा विमानस्थल खुला गरिनेछ ।
विमानस्थलको ‘ट्याक्सी वे’ को मर्मतको काम आगामी सेप्टेम्बर १ देखि डिसेम्बर ३१ तारिखसम्म चल्ने छ । उक्त अवधिमा निगमको उडान हुने तीन दिन ३० मिनेट विमानस्थल सञ्चालन गरिनेछ । जहाज उड्ने दिन राति २ बजे विमानस्थल सञ्चालन गरी राति २ः३० बजे पुनःबन्द गरेर काम गरिनेछ ।
मर्मतको सामान्य अवस्थामा राति ११ः३० देखि बिहान ६ः३० बजेसम्म विमानस्थल बन्द गरिने विमानस्थलले जनाएको छ । राष्ट्रिय ध्वजाबाहकको सेवालाई मध्यनजर गर्दै मर्मतको अवधिमा आधा घण्टा विमानस्थल सञ्चालन गरिनेछ ।
डेड महीनाअघि अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रनवे रिह्याब’ तीन महिनाको अवधिमा सम्पन्न गरिएको थियो । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै जापान उडानको योजना बनाइएको निगमले उल्लेख गरेको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटन नेपाल आएका छन् । सन् २०१७ मा २७ हजार ३२६ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
निगममले वाइड बडी जहाज भित्र्याएको एक वर्षपछि लामो गन्तव्यमा पहिलोपटक उडान भर्न लागेको हो । निगमले गत वर्ष असार र साउन महीनामा दुई नयाँ वाइड बडी जहाज खरीद गरेको थियो ।
निगमले जापान उडान १३ वर्षपछि पुनः सुरू गरेकाे हाे । यसअघि अक्टोबर ३० सन् १९९४ निगमले ओसाका उडान शुरु गरेको थियो । जुन उडान काठमाडौँ र चीनको साङ्घाई हुँदै जापानको ओसाका थियो । अप्रिल १२ सन् २००७ मा जहाज अभाव भएको भन्दै निगमले ओसाका उडान बन्द गरेको थियो ।