काठमाडौं । व्यवसायी इच्छाराज तामाङविरुद्ध ठगीका थप उजुरी परेका छन् । नेपाल प्रहरीको अनुसन्धान ब्युरो (सीआईबी) मा थप ४२ जनाले १५ करोड १० लाख रुपैयाँ ठगी गरेको जाहेरी दिएका छन् ।
यो विवरण सीआईबीले जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएपछिको हो । सीआईबीले १५०३ जनाबाट ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ ठगी गरेको विवरण जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको थियो । सोही आधारमा अहिले इच्छाराजलगायत ४२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्धा चलिरहेको छ । पीडितको संख्या बढ्दै गएकाले माग दाबी रकम थप हुने देखिको छ ।
सीआईबीले सहकारीमा निक्षेप राखी नपाएका पीडितबाट जाहेरी लिइरहेको प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए । सहकारीमा रकम जम्मा गरेर नपाएका १ हजार ९०० जना रहेका सीआईबीको अनुसन्धानले देखाएको छ । दिनहुँजसो इच्छाराजविरुद्ध ठगीको उजुरी आइरहेका उनको भनाइ छ । यस्तै अझै साढे ३ सय जना सम्पर्कमा आउन बाँकी छन् ।
इच्छाराजले विभिन्न २१ वटा कम्पनी खडा गरेर सहकारीको ८ अर्ब रुपैयाँभन्दा बढी रकम त्यसमा लगानी गरेका थिए । यसमध्ये सिभिल होम्सलगायतका ३ कम्पनीमा बढी पैसा गएको छ ।
अनुसन्धानका क्रममा उनले आफ्ना विभिन्न २१ वटा कम्पनीका नाममा बिनाधितो ऋण लिएर नतिरेपछि सिभिल सहकारीका निक्षेपकर्ताको रकम प्रयाेग गरेकाे पाइएको थियो ।
इच्छाराजसहित ४२ जनालाई प्रतिवादी बनाउँदै सरकारी वकिल कार्यालयले मंसिर १७ गते अदालतमा मुद्दा दर्ता गरेको थियो ।
यता बुधबार थुनछेक बहसपछि न्यायाधीश राजकुमार कोइरालाको इजलासले इच्छाराज र सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अन्य भने अपराधअनुसार धरौटीमा रिहा भएका छन् । इच्छाराजको पक्षबाट २५ जना वकिलले बहस गरेका थिए ।
सिभिल सहकारी ठगी प्रकरणमा पक्राउ परेका इच्छाराज नेकपा (एमाले) का पूर्वसांसदसमेत हुन् ।
पक्राउ परेकाहरूमा भगवान्बहादुर सिंह, मायोनानी महर्जन, एलिना तुलाधर, शंकरप्रसाद पाठक, संगीता श्रेष्ठ, राकेश महर्जन, बुद्धराज तामाङ, कौस्तुभ केतन ढुंगाना, विजयविक्रम शाह र हरिहर लामिछाने छन् ।
इच्छाराजकी श्रीमती सिर्जना शाक्य तामाङलाई पक्राउ गर्न प्रहरीले वारेन्ट जारी गरेको छ । हाल उनी फरार छिन् । मुद्धा अदालतमा पुगेकाले उनलाई पक्राउ गर्न अदालतबाटै आदेश हुनुपर्ने छ ।
सीआईबीले ठगी तथा संगठित अपराधमा इच्छाराजलाई ७ वर्ष जेल सजाय, बिगो बराबरको रकम तिराउनुका साथै थप ७० हजार रुपैयाँ जरिवानाको माग गरेको छ । यस्तै वित्तीय अपराधमा थप साढे २ वर्ष गरी कुल १० वर्ष ६ महिनासम्म कैद सजाय माग माग गर्दै सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
कर्मचारी सञ्चय कोषले समेत इच्छाराजले राजधानीको सुन्धाराको ६ रोपनी जग्गामा बनाएको सीटीसी मल लिलामीकाे प्रक्रिया अघि बढाएको छ ।
यो पनि हेर्नुहोस्ः
काठमाडौं जिल्ला अदालतले इच्छाराज तामाङलाई पठायो जेल