काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोमबार सार्वजनिक गरेका एकवर्षे कार्ययोजनामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गर्ने कार्यक्रम समावेश गर्न छुटाएका छन् ।
पर्यटनमन्त्रीमा नियुक्त भएलगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा दिएको आन्तरिक निर्देशनमा मङ्सिरभित्र निजगढ विमानस्थलको शिलान्यास गर्ने गरी आवश्यक तयारी गर्न भनेका थिए । त्यसको केही दिनअघि मन्त्रालयमा आयोजित कार्यक्रममा पनि मङ्सिरभित्र निजगढ विमानस्थलको शिलान्यास गर्ने बताएका थिए ।
एक सार्वजनिक कार्यक्रममा २४ वर्षसम्म विमानस्थल निर्माण गर्ने चर्चा मात्र भएको भन्दै उनले मङ्सिरभित्र जसरी पनि शिलान्यास गर्ने बताउँदै आएका थिए । तर, उनले सार्वजनिक गरेको एकवर्षे कार्ययोजनामा यो विषय समावेश छैन ।
याे पनि पढ्नुहाेस् ः
निजगढमा भएका समस्या समाधान गर्दै विदेशी लगानी नआएमा सरकार आफैंले लगानी गरेर भए पनि निर्माण गर्ने घोषणा गरेका मन्त्री भट्टराईले एक वर्षको कार्ययोजनामा भने शिलान्यासको कार्यक्रम समावेश गरेका छैनन् ।
कार्ययोजनामा सो विमानस्थलको निर्माण कार्यमा शीघ्रताका लागि लगानी बोर्डसँग छलफल गरी लगानीको मोडालिटी तयार गर्ने, टाँगिया बस्ती व्यवस्थापनको मोडालिटी स्पष्ट गर्ने, वृक्षरोपणका लागि क्षेत्र पहिचान गर्ने र वन तथा वातावरण मन्त्रालयसँग समन्वय गरी साइट क्लियरेन्स गर्ने विषय समेटिएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा लिइएको निजगढ विमानस्थलको काम तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले अगाडि बढाउन खोज्दा वातावरण संरक्षणकर्मीले तीव्र विरोध गरेपछि पछि हटेका थिए । कोरियाली परामर्शदाता कम्पनी ल्यान्डमार्क वल्र्डवाइडले सन् २०१० मै आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको थियो ।
कोरियाली कम्पनीले तयार पारेको प्रतिवेदनअनुसार विमानस्थल निर्माणका लागि ११ हजार ८७ बिगाहा जमिन अधिग्रहण गर्नुपर्ने र २४ लाख रुख काट्नु पर्ने हुन्छ । यस्तै आयोजना प्रभावित बाराको गढीमाई नगरपालिका १६ मा रहेको टाँगिया बस्तीका एक हजार ४०० घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने उल्लेख छ ।
मन्त्री भट्टराईले सोमबार सार्वजनिक गरेकाे एकवर्षे कार्ययोजना हेर्नुहाेस् ः