काठमाडौं । पुरानो गोपीकृष्ण हल भत्काएर निर्माण हुन लागेको ‘गोपीकृष्ण सेन्टर कम्प्लेक्स’ (जीकेसीसी) मा पाँचतारे होटल पनि बन्ने भएको छ । होटल बनाउन कम्प्लेकसले नक्सा परिवर्तन गरेको छ ।
सुरुमा ७ रोपनी क्षेत्रलफलमा जीकेसीसी निर्माण गर्न नक्साङ्कन तयार पारेको थियो । ३ रोपनी जग्गा थपेर १० रोपनी क्षेत्रफलमा पाँचतारे होटलसहितको भवन निर्माण गर्ने भएपछि नक्सा परिवर्तन भएको जीकेसीसीका महाप्रबन्धक प्रदीप दाहालले बताए ।
दाहालका अनुसार ७ रोपनी जग्गा हुँदा अण्डरग्राउण्ड २ तलासहित १८ तले भवन निर्माण गर्ने योजना रहेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएकाका कारण १८ तलाको भवन निर्माण गर्न नमिल्ले भएपछि तला घटाएर १४ बनाइएको हो । क्षेत्रफल बढेर भवनको तला घटे पनि लागत भने बढेको छ ।
१८ तलाको भवन बन्दा ४ अर्ब रुपैयाँ लागत अनुमान गरिएकोमा १४ तला निर्माण हुने भएसँगै लागत २ अर्ब बढेर ६ अर्ब रुपैयाँ पुगेको दाहालले जानकारी दिए । क्यापिटल नेपालसँग कुरा गर्दै उनी भन्छन्, ‘अण्डरग्राउण्ड २ तला नै हुन्छ, त्यो बाहेक १४ तला हो । अब नक्सा परिवर्तन हुँदैन ।’
चिनियाँ कम्पनीले जिम्मेवारी लिएको उक्त भवनको एक महिनापछि अर्थात् आगामी फेब्रुअरिबाट निर्माण सुरु हुने बताइएको छ । यसअघि गत मंसिर दोस्रो हप्ताबाट भवन निर्माणको काम सुरु भइ २ वर्षमा सम्पन्न हुने भनिएकोमा नक्साको कारण केही महिला ढिलाइ भएको महाप्रबन्धक दाहालले बताए ।
छतमा हेलि प्याड
१४ तलाको सो भवनमा पाँचतारे होटलसँगै छतमा हेलिकप्टर बस्न मिल्ने हेलिप्याड बनाउने बताइएको छ । ‘त्रिभुवन विमानस्थल, पशुपति, बौद्ध, स्वयम्भु, अस्पताललगायत क्षेत्रलाई ख्याल गरेर हेलिकप्टर बस्न मिल्ने बनाउँन लागेका हौं’ दाहालले भने ।
पाँचतारे होटलमा १५७ वटा कोठा रहने छन् । साथै ग्रिनरी, चिल्ड्रेन पार्क, फुडपार्क, गेमिङ जोनलगायत रहनेछन् । पाँच तलासम्म सपिङ कम्प्लेक्स र त्यसभन्दा माथि लक्जरी होटेल हुने बतइएको छ ।
माघ १५ पछि फिल्म हल सञ्चालन हुने
गोपीकृष्णको पुरानो भवनमा रहेका ३ वटा फिल्म हल आगामी माघ १५ पछि सञ्चालनमा आउने भएका छन् । पुराना ७ वटा हल रहेकोमा ४ वटा भत्काइएको छ भने ३ वटाको नामा परिवर्तन भएको छ । परिवर्तन भएका नाममा रेड, ब्लू र ग्रीन रहेका छन् । नाम अनुसार नै हलको कार्पेटदेखि कुर्ची, पर्दासम्म एउटै रङ्को राखिएको दाहालले बताए ।
त्यस्तै चिनियाँ कम्पनीले पनि फिल्म हल सञ्चालन गर्दा नयाँ भवन निर्माण कार्यलाई बाधा नपर्ने जनाएको उनको भनाइ छ ।
फिल्म हलले नाम पविर्तन गरेसँगै सबै उपकरणहरु पनि आधुनिक जडान गरेको जनाएको छ । १० रोपनी जग्गामा करिब ७ रोपनीमा फिल्म हल सञ्चालन हुने र बाँकी जग्गा सबै जीकेसीसीको लागि रहने छ ।
गोपीकृष्णको अस्तित्व समाप्त
गोपीकृष्ण कुनै समय देशकै ठूलो र सबैभन्दा बढी चलेको हल हो । एउटै भवनभित्र धेरैवटा हल भएको गोपीकृष्ण मुभिजको भवन भत्काएर अस्तित्व पाँचतारे होटलसहितको कम्प्लेक्स बन्ने भएपछि अहिले आएर अस्तित्व समाप्त भएको छ ।
कोभिडका कारण २०७६ चैतदेखि सुरु भएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण लामो समय हल सञ्चालन हुन सकेन । २०७७ पुस माघमा हल खोल्ने भनिए पनि सहज भएन र कोरोनाको दोस्रो लहरले फेरी निषेधाज्ञा सुरु भयो ।
सिनेमा हल नचलेपछि सञ्चालक उद्धव पौडेलले चलचित्र भवनलाई भत्काएर पाँचतारे होटलसहित ‘गोपीकृष्ण कम्प्लेक्स सेन्टर बनाउने तयारी थालेका हुन । चलचित्र व्यवसायी पौडेलले २०५३ सालदेखि सञ्चालन गर्दै आएको सो सिनेमा हल नचलेपछि बिजनेस सेन्टरमा परिणत गर्न लागिएको हो ।
यसअघि गोपी, कृष्ण, राधा, मीरा, ओम, नम र शिवाय नामका हलहरु सञ्चालनमा थिए । अब बाँकी रहेका हल पनि आधुनिक प्रविधिको प्रयोग गरेर परिमार्जनसहित दर्शक माझ आउने भएको छ । गत वर्षको पुसदेखि भत्काउन सुरु गरिएको उक्त हल वैशाखमा सकिएको हो ।
यो पनि हेर्नुहोस
गोपीकृष्ण हलमा ४ अर्ब लगानी गरेर पाँचतारे होटलसहितको १८ तले बिजनेस कम्प्लेक्स बनाइने