काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष २०२२ को रौनक छाउन थालिसकेको छ । यसकै छेको पारेर नेपालमा पनि ‘न्यू इयर इभ’ मनाउने, रमाइलो गर्ने चलन पछिल्लो समयमा बढ्दो छ । यसका लागि पर्यटकीय नगरका होटल÷रिसोर्टहरु हप्तादिन अघिदेखि नै ‘प्री–बुकिङ’ हुन थालिसकेका छन् । अहिले उपत्यका बाहिरका धेरैजसो होटल÷रिसोर्ट बुकिङ भइसकेका छन् ।
नयाँ वर्ष २०२२ को स्वागतका लागि ‘फेस्टिभ मुड’ मा निस्कनेहरूको संख्या बढेसँगै पर्यटकीय नगरी पोखरा, सौराहा, नगरकोट, कालिञ्चोक, धुलिखेल, रानीकोट, लुम्बिनी, चन्द्रागिरिलगायतका क्षेत्रमा रहेका होटलहरु भरिभराउ हुन थालेका छन् ।
कोरोना महामारीले थलिएको पर्यटन व्यवसायले गति लिइरहेको छ । यसलाई थप गति दिन होटल/रिसोर्टहरूले पनि न्यू एयरलाई लक्षित गरी विभिन्न प्याकेजसमेत ल्याएका छन् ।
पोखराको रुपाकोट, होटल बाराही, चितवनको मेगौली सेराइ ताज सफारी, सिराइचुली, चन्द्रागिरिको चन्द्रागिरि रिसोर्ट लगायतका होटलले आन्तरिक पर्यटकहरुलाई लक्षित गरी विभिन्न प्याकेजहरु सार्वजनिक गरेका छन् ।
यही सन्दर्भमा पोखरामा विगत २३ वर्षदेखि सडक महोत्सवको आयोजना हुँदै आइरहेको छ । सडक महोत्सवमा रमाउनेको संख्या बढेसँगै होटल भरिभराउ हुन थालेको होटल रानीवनका सञ्चालक हरि भुजेलले बताए । नयाँ वर्षको अवसरमा आन्तरिकसँगै भारतीय पर्यटकहरु धेरै आएको उनको भनाइ छ ।
यस्तै पोखरा पनि भरिभराउ हुन थालेको पर्यटन व्यवसायीले बताएका छन् । बिहीबारबाट मौसममा सुधार पनि आएको र ‘न्यू इयर इभ’ शुक्रबार भएकाले थप पर्यटक त्यहाँ पुग्ने अपेक्षा व्यवसायीहरुको छ ।
पोखरामा करिब ८ सय होटलमा ३० हजार कोठाहरु रहेको बुझिएको छ । यस्तै १ सय ५० बढी रेष्टुराँ रहेका छन् । हालसम्म पोखरामा ७० प्रतिशतभन्दा बढी होटल बुक भइसकेका छन् ।
न्यू इयर मनाउन पोखरापछि सबैभन्दा बढी पर्यटक सौराह, चितवन जाने गरेका छन् । आन्तरिक एवम् बाह्य पर्यटकको भीडभाड हुने सौराहामा करिब ७० प्रतिशत होटलहरु बुक भइसकेका छन् । र, शुक्रबारसम्म करिब–करिब सबै होटलहरु बुक भइसक्ने अपेक्षा गरिएको होटल जंगल सफारीका सञ्चालक एवम् क्षेत्रीय होटल संघ चितवनका पूर्वअध्यक्ष सुमन घिमिरेले बताए ।
पर्यटकलाई लक्षित गरी केही होटल तथा रेष्टुराले लाइभ म्युजिक कार्यक्रमसमेत सञ्चालन गर्ने गरेका छन् । सौराहमा मात्र १२० भन्दा बढी होटल र ६० भन्दा बढी रेष्टुराँ छन् ।
काठमाडौं उपत्यकानजिकैका नगरकोट, रानीकोटलगायतका क्षेत्रका होटलहरु पनि भरिन थालेका छन् । नगरकोटमा रहेको क्लब हिमालय शुक्रबारदेखि नै पूर्णरुपमा बुक भइसकेको छ । यस्तै त्यहाँ रहेका ७५ प्रतिशतभन्दा बढी होटलहरु बुक भइसकेको र बाँकी आउने क्रम जारी रहेको क्लब हिमालयका सञ्चालक योगेन्द्र शाक्यले जानकारी दिए ।
पछिल्लो समय नयाँ गन्तव्यको रुपमा विकास भएको रानीकोटमा पनि पर्यटकहरुको चहपहल बढेको छ । शुक्रबारदेखिकै लागि होटलमा बुकिङ आइरहेको हाइल्यान्ड रिसोर्टका सञ्चालक श्यामसुन्दर बाकेले बताए ।
पर्यटकीय गन्तव्यको रुपमा प्रख्यात धुलिखेलका होटल पनि ७० प्रतिशत बुक भइसकेको क्षेत्रीय होटल संघ धुलिखेलका सचिव जोशना सैजुले जानकारी दिइन् । काठमाडौंबाट नजिकको गन्तव्यको रुपमा धुलिखेलका होटलहरुले आकर्षक प्याकेज पनि ल्याएका छन् । धुलिखेलमा मात्र ३५ देखि ४० वटा सुविधासम्पन्न होटलमा ४ सयभन्दा बढी कोठा रहेका माउन्ट प्रिन्सेस होटलकी सञ्चालकसमेत रहेकी सचिव सैजुले बताइन् ।
यस्तै लुम्बिनी क्षेत्रका होटलहरु पनि ‘न्यू एयर इभ’ लक्षित गरेर बुकिङ भइरहेको नानस होटलका सञ्चालक चन्द्रप्रकाश श्रेष्ठको भनाइ छ । विषेशगरी भारतीय पर्यटकहरु बढी आएको उनी बताउँछन् ।
यस्तै दोलखाको कालिञ्चोकका होटल पनि भरिभराउ हुन थालेको कालिञ्चोक कन्ट्रिभिल्लाका सञ्चालक नोर्बु लामाले जानकारी दिए ।
कालिञ्चोकमा हिउँ परेका कारण नयाँ वर्षसँगै हिउँ खेल्न जानेहरुको संख्या ह्वात्तै बढेको उनको भनाइ छ ।
योसँगै चरिकोटमा रहेका होटलहरुमा पनि चहलपहल बढेको होटल किस्मतका सञ्चालक शान्त जिरेलले जानकारी दिए ।
दोलखा भीमेश्वर, कालिञ्चोक, सैलुङलगायतका क्षेत्रमा पुग्ने पर्यटकका कारण चरिकोटका होटलमा समेत चहलपहल बढेको उनले बताए ।