काठमाडौं । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुमध्ये सिभिल बैंकको गति सुस्त थियो । निक्षेप परिचालन, कर्जा लगानी, नाफा र सेयरधनीलाई दिने प्रतिफलका हिसाबमा सिभिल बैंक पुछारमा थियो । तर, अहिले सिभिल बैंकले आफूलाई अब्बल बनाउँदै लगेको छ । यसैअनुसार बैंक व्यवसाय विस्तारमा आक्रामक रुपमा प्रस्तुत भएको छ ।
सोही लक्ष्यअनुसार सिभिल बैंकले चालू आर्थिक वर्षमा बिजनेस बढाएर सेयरधनीलाई बढी प्रतिफल दिने लक्ष्य लिएको देखिन्छ । बैंकले चालू आर्थिक वर्षमा खुदनाफा बढेर १ अर्ब ५४ करोड ४१ लाख रुपैयाँ (१७६ प्रतिशत वृद्धि) पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्षमा बैंकको खुदनाफा ५५ करोड ९३ लाख ६८ हजार रुपैयाँ मात्र थियो । त्यसको तुलनामा यो वर्ष नाफा ९८ करोड ४७ लाख रुपैयाँ बढ्ने अनुमान बैंकको छ । बैंकले ऋणपत्र निष्कासन प्रयोजनका लागि हालै मात्र सार्वजनिक गरेको वित्तीय विवरणमा यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो ।
सिभिलले वार्षिक १०.२५ प्रतिशत ब्याज दिने गरी १० वर्षका लागि पहिलोपटक ऋणपत्र निष्कासन गरेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोजसम्म) बैंकले २९ करोड १८ लाख रुपैयाँ खुदनाफा गरेको छ ।
निक्षेप, कर्जा लगानीलगायत अन्य आम्दानी बढाएर प्रक्षेपित वित्तीय उपलब्धी हासिल गर्ने बैंकले जनाएको छ । ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेपछि उसको व्यवसाय थप विस्तार हुनेछ । बैंकले सार्वजनिक गरेको ३ वर्षको प्रक्षेपित वित्तीय विवरणमा आर्थिक वर्ष ०७९÷०८९ मा २ अर्ब र आर्थिक वर्ष ०८०/०८१ मा २ अर्ब ७२ करोड रुपैयाँ खुदनाफा गर्ने उल्लेख छ ।
प्रक्षेपित नाफाको लक्ष्य पूरा गर्न सिभिले चालू आर्थिक वर्षमा खुद सञ्चालन आम्दानी बढाएर ४ अर्ब २८ करोड ८८ लाख, आगामी वर्ष ५ अर्ब १८ करोड ९१ लाख र आर्थिक वर्ष ०८०/०८१ मा ६ अर्ब ५० करोड १२ लाख रुपैयाँ पुग्ने अनुमान गरेको छ । नाफा बढेपछि यो वर्ष प्रतिसेयर आम्दानी १७ रुपैयाँ पुग्ने अनुमान बैंकको छ । यस्तै आगामी वर्ष १९.५४ र आर्थिक वर्ष ०८०/०८१ मा २३ रुपैयाँ ४७ पैसा पुग्ने छ ।
बैंकको जगेडा कोषको आकार पनि बढेर आर्थिक वर्ष ०८०/०८१ मा ३ अर्ब ७५ करोड ४८ लाख रुपैयाँ पुग्ने वित्तीय विवरणमा उल्लेख छ । हाल जगेडा कोषमा १ अर्ब ९२ करोड रुपैयाँ छ । यसबीचमा सेयर पुँजी पनि बढेर ११ अर्ब ५९ करोड रुपैयाँ पुग्ने वित्तीय विवरणमा उल्लेख छ ।
वित्तीय विवरण, प्रक्षेपणको अनुमान तथा आधार, हालको वित्तीय बजारको स्थिति, निष्कासनकर्ता कम्पनीको विगतका वर्षको कारोबार वृद्धि, भावी योजना एवम् शाखा सञ्जाल विस्तार गर्ने रणनीतिमा निर्भर रहेको बैंकले उल्लेख गरेको छ ।
हालको दक्षता र कम्पनीले प्राप्त गरेको कार्य प्रगतिलाई वृद्धिको आधार मानेको छ । बैंकले कर्जा निक्षेप अनुपात, सञ्चालन खर्च वृद्धिदर, निष्क्रिय कर्जा प्रतिशत, अनिवार्य नगद मौज्दात, वैधानिक तरलता अनुपात तथा पुँजीकोष अनुपातका साथै नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डअनुरुप कायम गरी वित्तीय विवरणको प्रक्षेपण गरेको बैंकले स्पष्ट पारेको छ ।
हाल बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप परिचालनमा सिभिलको हिस्सा १.७२ र कर्जाको १.८५ प्रतिशत अंश रहेको छ । चालू आर्थिक वर्षमा बैंकको निक्षेप परिचालन बढेर १ खर्ब १० अर्ब ८५ करोड, आगामी वर्ष १ खर्ब ३४ अर्ब ४१ करोड र आर्थिक वर्ष ०८०/०८१ मा १ खर्ब ५९ अर्ब ९५ करोड रुपैयाँ पुग्ने अनुमान वित्तीय विवरणमा उल्लेख छ ।
यस्तै कर्जा सापटी पनि बढेर यो वर्ष १ खर्ब २ अर्ब ६५ करोड, आगामी वर्ष १ खर्ब २५ अर्ब ४० करोड र १ खर्ब ४९ अर्ब ७० करोड रुपैयाँ पुग्ने अनुमान बैंकको छ ।
सिभिल बैंकले ११ औं वर्ष पार गर्दा ९२ अर्ब निक्षेप संकलन गरी ८८ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । बैंकले हाल १ सय १५ शाखा तथा १० वटा एक्सटेन्सन काउण्टरमार्फत सेवाप्रवाह गर्दै आएको जनाएको छ ।
आर्थिक वर्ष ०६७/०६८ मा १ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजीमा सिभिल बैंक स्थापना भएको हो । स्थापनाको ११ वर्षको अवधिमा बैंकले ८ अर्ब ६४ करोड ३६ लाख रुपैयाँ चुक्ता पुँजी पुर्याएको छ । सिभिलले वित्तीय संस्थालाई मर्ज, बोनस सेयर र हकप्रद सेयर निष्कासन गरी सो पुँजी पुर्याएको हो । राष्ट्र बैंकको नीतिअनुसार यसबीचमा बैंकले ५ वटा बैंक तथा वित्तीय संस्थालाई मर्ज गरेको छ ।
आर्थिक वर्ष ०६८/०६९ मा प्राथमिक निष्कासन गरे चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याएको थियो । आर्थिक वर्ष ०७०/०७१ मा एक्सिस डेभलपमेन्ट बैंक, सिभिल मर्चेन्ट वित्तीय संस्थालाई मर्ज गरेको थियो । आव ०७१/०७२ र ०७२/०७३ मा सेयरधनीहरुलाई बोनस बितरण गरेको थियो ।
आव ०७३/०७४ मा इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स, युनिक फाइनान्स र हामा मर्चेन्ट फाइनान्सलाई मर्ज तथा प्राप्ति गरेको थियो । यसपछि बैंकले चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन ४० प्रतिशत हकप्रद सेयरसमेत निष्कासन गरेको थियो ।