काठमाडौ । रोजगारीलाई मूर्त रुप दिन यही भदौ २४ र २५ गते नेपाल र मलेसियाको प्राविधिक कमिटीको बैठक बस्ने भएको छ । दुवै मुलुकबीच श्रम समझदारी सम्पन्न भएपछि बाँकी रहेको प्राविधिक विषय टुङ्ग्याउने बारेमा बैठकमा छलफल हुने श्रम मन्त्रालयले जनाएको छ ।
मलेसियामा हुने सो बैठकमा समझदारी कार्यान्वयन प्रक्रियामा हालसम्म भएका प्रगतिका बारेमा समेत बैठकमा छलफल हुनेछ । बैठकले मलेसिया रोजगारीका सम्बन्धमा देखिएको अन्योल अन्त्य गर्ने र मोडालिटी तय गर्ने बताइएको छ । बैठकले समझदारी कार्यान्वयनमा आएको समस्याको समाधान खोज्नेछ । बैठकमा नेपालको तर्फबाट सात सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने तय भएको छ ।
नेपाली प्रतिनिधिमण्डलमा श्रम मन्त्रालयका सहसचिव (दुई), परराष्ट्र र कानून मन्त्रालयका सहसचिव एक÷एक जना, श्रम मन्त्रालयका उपसचिव एक जना र मलेसियास्थित नेपाली दूतावासबाट दुई जना प्रतिनिधि सहभागी हुने मन्त्रालयले जनाएको छ ।
दुई मुलुकबीच भएको श्रम समझदारी लामो समय भइसक्दा पनि केही प्राविधिक विषय टुङ्गो नलाग्दा मलेसिया रोजगार नियमित हुन सकेको छैन । पहिलो प्राविधिक कमिटीको बैठक श्रम समझारीलगत्तै काठमाडौँमा बसेको थियो ।
गत असारमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकी समारोहमा सहभागी हुन जेनेभा पुगेका नेपाल र मलेसियाका उच्च अधिकारीबीच छिट्टै प्राविधिक कमिटीको बैठक बस्ने सहमति भएको थियो ।
नेपाल र मलेसियाबीच गत कात्तिक ११ गते श्रम समझदारी भएको थियो । श्रम समझदारी भएको लामो समय भए पनि मलेसिया नियमित हुन सकेको थिएन ।
मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि १२२ वटा स्वास्थ्य संस्था सूचीकृत भइसकेका छन् । सरकारले मलेसिया जाने कामदारमाथि चर्को आर्थिक शोषण भएको भन्दै २०७५ जेठमा नेपाली कामदार मलेसिया पठाउन रोक लगाएको थियो ।