म्याग्दी । यस वर्ष धानको उत्पादनमा कमी आएको छ ।
गत वर्षको तुलनामा यो वर्ष धान उत्पादन शून्य दशमलव ८९ प्रतिशतले कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
क्षेत्रफल घटेको र भित्र्याउने समयमा वर्षात्ले पुर्याएको क्षतिले उत्पादनमा असर पुगेको केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए । गत वर्ष ३ हजार ८९० हेक्टर क्षेत्रफलमा खेती हुँदा १३ हजार ४८० मेट्रिक टन धान उत्पादन भएको थियो ।
यस वर्ष ३ हजार ८८५ हेक्टरमा धानखेती भएको थियो । १३ हजार ३६० मेट्रिक टन उत्पादन भएको कृषि प्रसार अधिकृत पाण्डेले बताए । वैशाख–जेठ महिनादेखिनै वर्षा भएकाले कृषकले समयमै धान रोपाइँ गर्न पाएका थिए । नियमित वर्षा भएकाले सिँचाइ सहज भएको थियो । रोग तथा कीराको समस्या नदेखिए पनि कात्तिकको पहिलो साता भएको वर्षात्ले भित्र्याउन समस्या बनाएको थियो । यस्तै २०० हेक्टरमा बोट ढलाएर क्षति गरेको थियो ।
म्याग्दीमा गौरी, जेठो बुडो, जर्नेली, पहेंले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातको धानखेती हुने गर्छ । लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धानखेतीसमेत हुन्छ ।
अनुकूल मौसमका कारण मकै उत्पादन भने बढेको छ । यस वर्ष नौ हजार ४३५ हेक्टर क्षेत्रफलमा मकैखेती भएको थियो । गत वर्ष ३२ हजार २०० मेट्रिक टन मकै उत्पादन भएकोमा यसपालि ३२ हजार २१० मेट्रिक टन उत्पादन भएको छ ।
मकै म्याग्दीमा सबैभन्दा धेरै खेती हुने खाद्यबाली हो ।