काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकसँग मर्जको प्रक्रिया अघि बढाउन नबिल बैंकले बुधबार सञ्चालक समितिको बैठक बोलाएको छ ।
एनबीसँग मर्ज प्रक्रिया अघि बढाउन समिति गठन गर्ने बैंकको एक मात्र एजेन्डा रहेको छ । समिति बनाएपछि औपचारिक रुपमा मर्ज प्रक्रिया अघि बढ्ने छ ।
एनबीसँग मर्जको छलफल धेरै अघि बढेको नबिलका अध्यक्ष उपेन्द्र पौडेलले बताए । उनले एनबीलाई मर्ज गर्ने विषयमा छलफल जारी रहेको सुनाए ।
नबिलले मर्ज समिति बनाएपछि एनबीले पनि यसैसाता सञ्चालक समिति बैठक बसी टिम बनाउने भएको छ ।
नबिलको यही पुस ३० गते हुन लागेको साधारणसभामा मर्जर तथा एक्विजिसनको प्रस्ताव पेस हुने भएको छ । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई बोनस सेयर र नगद गरी ३८ प्रतिशत लाभांश दिने प्रस्ताव सभामा पेस हुने छ ।
हाल नबिलको चुक्ता पुँजी १३ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ छ । साधारणसभाले ३३ प्रतिशत बोनस सेयर पारित गरेपछि बैंकको चुक्ता पुँजी बढ्ने छ ।
यता बंगलादेशको आईएफआईसी बैंकको स्वामित्वमा रहेको एनबी बैंकको ४१.९१ प्रतिशत संस्थापक सेयर खरिदको डिल गरेपछि मर्ज प्रक्रिया अघि बढ्न लागेको हो । बैंकको ४ करोड २२ लाख ६७ हजार ९११ कित्ता संस्थापक सेयर सारिका चौधरीले खरिद गर्ने डिल भएको छ ।
चौधरीले एनबीको १५७ रुपैयाँमा सेयर किन्ने भएका छन् । नेपाल राष्ट्र बैंकले पनि नबिलसँग मर्जमा जाने सर्तमा सो सेयर चौधरीलाई किन्न अनुमति दिएको हो ।
यता नेपाल बंगलादेश बैंकले गएको मंसिर २ गते नै २७ औं वार्षिक साधारणसभा गरी १२ प्रतिशत अर्थात् १ अर्ब ८ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गरिसकेको छ ।
एनबीको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ ।