काठमाडौं । एनएस होटल समूह, पृथ्वीबहादुर पाण्डे र सीई ग्रुपको संयुक्त लगानीमा भक्तपुरको नगरकोटमा ‘हब नगरकोट’ परियोजना सुरु हुने भएको छ । हब लुम्बिनी निर्माण सुरु गरिसकेको सो ग्रुपले नगरकोटमा पनि ‘हब नगरकोट’ निर्माण अघि बढाएको हो ।
परियोजना तीन चरणमा सञ्चालन गर्ने गरी पहिलो फेजको तयारी पूरा भएको एस समूहका अध्यक्ष योगेन्द्र शाक्यले जानकारी दिए । ‘केही साताभित्रै बिक्रीका लागि खुला गर्ने गरी आवश्यक तयारी पूरा भएको छ’ अध्यक्ष शाक्यले भने पहिलो चरणमा २४ वटा घर निर्माण गरी बिक्री गर्ने छौं ।’
उक्त परियोजना २४ रोपनी क्षेत्रफलमा निर्माण हुने छ । सोहीअन्तर्गत पाटनको हेरिटेज इतिहासलाई नगरकोटमा जीवन्त रूपमा उतार्ने उद्देश्यका साथ घरहरु निर्माण गरी बिक्री गर्न लागेको शाक्यको भनाइ छ ।
परियोजनाको लागत ३ अर्बभन्दा माथि रहेको छ । यस्तै १ अर्ब हाराहारीको लगानी घरहरुमा हुनेछ । सो लागत जग्गासहितको हो । साढे तीन आनामा निर्माण हुने प्रतिघर मूल्य साढे दुई करोड अर्थात् प्रतिस्क्वायर फिट १० हजारसम्म पर्ने जानकारी उनले दिए ।
पहिलो फेजको परियोजना सार्वजनिकका लागि नगरपालिकाबाट समेत नक्सा पास भइसकेको छ । र, सो काम २ देखि ३ महिनामा सुरु हुनेछ । सहरभन्दा बाहिर सुविधा सम्पन्न परियोजनाभित्र बस्न चाहनेहरुका लागि उपयुक्त हुने उनको भनाइ छ ।
परियोजना ललितपुरको पुरानो सहर ‘पाटन स्ट्रिट’ को थिममा हुनेछ ।
आवासीय घरको पहिलो फ्ल्याट व्यावसायिक प्रयोजनका लागि हुनेछ । ती घरहरुमा विभिन्न ब्रान्डका आउटलेट सञ्चालनका लागि समेत समन्वय भइरहेको शाक्यको भनाइ छ । दरबारमार्गमा प्रतिस्क्वायरफिट तीन–चार सय रुपैयाँ लाग्छ भने नगरकोट हबमा ६० देखि ६५ रुपैयाँसम्ममा पाउन सकिन्छ । त्यसो हुँदा सामानको मूल्य पनि सस्तो हुने र ब्रान्डेड सामान किन्नेहरुका लागि आकर्षण र सस्तो गन्तव्य बनाउन सकिने उनले सुनाए ।
प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित गरिने हब नगरकोटभित्र अपार्टमेन्ट, सपिङ कम्पलेक्स, मुभी थिएटर, रेस्टुरेन्ट, मनोरञ्जन पार्क, स्विमिङ पुल, हेल्थ क्लब, पार्कलगायतका सुविधा हुनेछन् ।
हब नगरकोट निर्माण भएपछि पर्यटकहरु सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नगरकोट जाने र त्यहाँ दुई तीन बिताएर आउन सकिने वातावरण बन्ने सो समूहको विश्वास छ ।
सोही समूहले जनकपुरमा पनि त्यस्तै प्रकृतिको हब निर्माणका लागि प्रक्रिया अघि बढाइसकेको छ ।