काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले २०७७ को असार अन्तिमसम्म १ सय ७४ कम्पनीलाई इमेलसहितको इन्टरनेट सेवा प्रदायकको लाइसेन्स प्रदान गरिसकेको छ । यस्तै जसमध्ये हालसम्म ४५ वटा कम्पनीको लाइसेन्स रद्द भइसकेको छ ।
प्राधिकरणको एमआईएस तथ्यांकअनुसार हाल १२९ ओटा कम्पनीसँग इमेलसहितको इन्टरनेट सेवा प्रदान गर्ने इजाजतपत्र छ । तर, एमआईएस रिपोर्टका अनुसार अहिले ४८ कम्पनीका पूर्वाधार र ग्राहक संख्या मात्र प्राधिकरणमा दर्ता छन् ।
प्राधिकरणको तथ्यांकअनुसार हाल ग्राहक संख्याको आधारमा सबैभन्दा अघि वल्र्डलिंक छ । वल्र्डलिंकका ५ लाख ४२ हजार ७ सय ५८ प्रयोगकर्ता छन् ।
दोस्रोमा सरकारी स्वामित्वको संस्थान नेपाल दूरसञ्चार कम्पनी रहेको छ । नेपाल टेलिकमका ३ लाख ९ हजार ७९ प्रयोगकर्ता छन् ।
तेस्रोमा सुबिसु रहेको छ । उसका २ लाख ३७ हजार ६३ प्रयोगकर्ता छन् ।
सुबिसुपछि सबैभन्दा धेरै सब्सक्राइबर्स ग्राहक भएको आईएसपी क्लासिक टेक हो । क्लासिक टेकका १ लाख ८१ हजार ३ सय ६८ प्रयोगकर्ता छन् । यसैगरी भायनेट पाँचौं ठूलो आईएसपी हो । उसका १ लाख ६३ हजार ४ सय २१ प्रयोगकर्ता छन् ।
अर्को इन्टरनेट सेवाप्रदायक कम्पनी वेबसर्फर नेपाल देशको छैटौं ठूलो आईएसपी हो । वेब सर्फरको सेवा ७४ हजार ४२ ले लिएका छन् ।
यसैगरी सातौं ठूलो आईएसपी टेकमाइन्ड्ससँग ६९ हजार ९ सय १३ जना सब्सक्राइबर्स छन् । आठौं ठूलो सेवाप्रदायक ब्रोडलिंक कम्युनिकेसनका ४६ हजार २ सय १८ जना प्रयोगकर्ता छन् ।
गत वर्ष सन् २०२० मा मात्र इन्टरनेट सेवा प्रदायकको रुपमा सेवा सुरु गरेको डिस मिडिया नेटवर्क देशको नवौं ठूलो आईएसपी हो । फाइबरनेटको नामबाट सेवा सञ्चालन गरिरहेको उसका ३४ हजार ७ सय ४७ घरधुरी प्रयोगकर्ता रहेका छन् ।
नेपालको दसौं कम्पनी कोनेक्ट नेपाल नेटवर्कका १८ हजार ५ सय ७० प्रयोगकर्ताहरु छन् । पछिल्लो एक वर्षको तथ्यांक हेर्दा यी १० सेवाप्रदायकमध्ये शीर्ष ३ ठूला इन्टरनेट सेवा प्रदायकबाहेक अन्यले एकअर्कोलाई पछि पार्दै कडा प्रतिस्पर्धा गरिरहेका छन् ।
२०७७ असोजसम्म पाँचौं स्थानमा रहेको क्लासिक टेक यस वर्ष चौंथो ठूलो सेवा प्रदायक बनेको छ । यसैगरी आठौं स्थानमा रहेको वेब सर्फर टेक माइन्ड्स र ब्रोडलिंकलाई पछि पार्दै छैटौं स्थानमा उक्लियो । डिस मिडियाको उदयसँगै दसौं स्थानको एर्रोनेट भने शीर्ष १० कम्पनीको सूचीबाट तल झर्यो ।
फाइबर नेटको उडान
इन्टरनेट सेवा सुरु गरेको एक वर्षमै डिस मिडिया नेटवर्कको फाइबर नेट देशकै ठूलो नवौं सेवाप्रदायक कम्पनी बनिसकेको छ । देशभर उच्च गतिको इन्टरनेट सेवा दिने योजना बोकेको कम्प्नीले हाल देशका प्रमुख सहरहरुमा नेट विस्तार गरिरहेको छ ।
फाइबरनेटले इन्टरनेट विस्तारका लागि उच्च गतिको फाइबर मात्र प्रयोग गर्दै आइरहेको छ । हालसम्म कम्पनीले ३४ हजार ७ सय ४७ ठाउँमा आफ्नो एफटीटीएच सेवा पुर्याइसकेको छ ।
अन्य सेवाप्रदायकको तुलनामा नयाँ भए पनि फाइबरनेट, जारी आईएसपीहरुबीचको स्पिडवारमा समेत प्रतिस्पर्धा देखिएको छ । कम्पनीले गत साता मात्रै सस्तो मूल्यमा ३ सय एमबीपीएसको इन्टनेट ल्याउने घोषणा गरेको छ ।
उच्च गतिको फाइबर विस्तारमा वल्र्डलिंक अघि
देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक उच्च गतिको फाइबर पूर्वाधार विस्तारमा अघि छ । गत असोजको एमआईएस तथ्यांकअनुसार नेपाल दूरसञ्चार कम्पनीले १ लाख ४५ हजार ६ सय ५५ युनिट फाइबर विस्तार गरेको छ भने वल्र्डलिंकले सबैभन्दा धेरै ५ लाख ४१ हजार ४ सय २ युनिट फाइबर विस्तार गरिसकेको छ ।
टेलिकमले अझै पनि १ लाख ४४ हजार ८ सय ५८ युनिट तामाको केबलबाट इन्टरनेट प्रदान गरिरहेको छ । तर, वल्र्डलिंकले ७ सय ५० युनिट केबल मात्र वितरण गरेको छ ।