काठमाडौं । ‘बेष्ट नेपाल होटल अवार्ड २०२१’ होटल सब्रिनाले प्राप्त गरेको छ । होटल क्रिटिक्स एन्ड ब्लगर्स एसोसिएसनको सहकार्यमा वर्ल्डवाइड बेष्ट होटल डटकमले उक्त अवार्ड प्रदान गरेको हो ।
होटल सब्रिना आथित्यता सत्कारमा अब्बल रहेकाले साे अवार्ड प्रदान गरेको एसोसिएसनले जनाएको छ । सो होटलले सञ्चालन भएकोे ३ वर्षको अवधिमै साे अवार्ड पाउन सफल भएको हो । एसोसिएसनका संस्थापक अध्यक्ष टीपीएस ग्रोभरले सो अवार्ड होटलका एमडी निरञ्जन थापा र म्यानेजर उपेन्द्र भारतीलाई प्रदान गरेका हुन् । अवार्ड दिँदै ग्रोभरले होटल पारिवारिक र आतिथ्यता सत्कारमा अब्बल रहेको बताए ।
यसअघि यस्तो अवार्ड २०१९ मा होटल ओरिन्टल (र्याडिसन)ले पाएको थियो । सन् २०२० मा भने कोरोनाका कारण अवार्ड वितरण कार्य रोकिएको थियो । अवार्ड प्रदान गर्नका लागि स्वदेशी लगानी र व्यवस्थापनलाई पहिलो प्राथमिकता दिने गरेको एसोसिएसनले जनाएको छ । एसोसिएसनले यस्तो अवार्ड नेपालमा मात्रै नभई दुबई, कतार, भारत, थाइल्याण्ड, अर्मेनियालगायत युरोपियन देशहरुमा पनि प्रदान गर्दै आएको छ ।
विश्वभर कोरोना भाइरस फैलिरहेको बेला प्रायःजसो सबै क्षेत्र ठप्प रहेका थिए । त्यस्तो बेला पनि होटल सब्रिनाले आफ्नो सेवा भने निरन्तर दिइरहेको होटलका प्रबन्ध निर्देशक निरञ्जन थापाले बताए । उनले भने, ‘कोरोनाका बेला पनि हामीले होटल बन्द नगरी निरन्तर सेवा दियौं । स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर हामी होटलको सेवा दिन पछि परेनौं ।’
साथै उनले नेपाली होटललाई विदेशीहरुले आएर प्रोत्साहन गरिरहेको अवस्थामा नेपाल सरकारले पनि यस्तो कार्य गरे होटल सञ्चालनमा थप हौसला हुने प्रबन्ध निर्देशक थापाको भनाइ छ । काठमाडौंको हात्तीगौंडामा रहेको होटल सब्रिना थ्री स्टार होटल हो । मंगलबार एक कार्यक्रम आयोजना गर्दै एसोसिएसनले साे अवार्ड वितरण गरेको हो ।