काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको नयाँ जहाज खरिद गर्ने प्रस्तावलाई प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन् ।
आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि नयाँ जहाज खरिदको प्रस्ताव लिएर प्रधानमन्त्री निवासमा पुगेका पर्यटनमन्त्री आलेलाई निगमको यथास्थितिमा नयाँ जहाज खरिद गर्न नहुने भन्दै प्रधानमन्त्री देउवाले उनको प्रस्ताव अस्वीकार गरेका हुन् । उनले जहाज खरिदका लागि सरकारले निगमलाई पैसा दिन सक्ने अवस्था नरहेको र भद्रगोल अवस्थामा चलेको निगमलाई सुधारतर्फ लैजान सुझावसमेत दिएका थिए ।
पर्यटनमन्त्री आलेले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका लागि तत्कालै नयाँ जहाज खरिद गर्नुपर्ने र सोही अनुसारको बजेट दिन अनुरोध गरेका थिए ।
तर, प्रधानमन्त्री देउवाले भने यथास्थितिमा जहाज खरिद प्रक्रिया अघि नबढाउन उनलाई निर्देशन दिएका थिए । निगमले पुस ६ गते पाँच वर्षमा ३२ वटा जहाज खरिद गर्ने योजना सार्वजनिक गरेको थियो । कार्यकारी अध्यक्ष युवराज अधिकारीले पर्यटनमन्त्री आलेसामु पाँच वर्षे रणनीतिक योजना सार्दै निगमले अन्तर्राष्ट्रिय उडानमा १४ र आन्तरिकमा १८ वटा जहाज पुर्याउने योजना अघि सारेको थियो ।
निगमले वाइडबडी ६ र न्यारोबडी ८ गरी १४ वटा जहाज ल्याउने योजना अघि सारेको हो । यस्तै आन्तरिक उडानका लागि १८ वटा जहाज थप्ने योजनासमेत अघि सारेको छ ।
निगमले अहिले कै अवस्थामा संस्था चलायमान बनाउन समस्या भएको भन्दै सरकारसँग १५ अर्ब रुपैयाँसमेत माग गरेको थियो ।
दुईवटा वाई १२ मात्र चलाउने
सुरुमा तीनवटा चिनियाँ जहाज सञ्चालन गर्ने तयारी भए पनि अहिले भने दुईवटा वाई १२ मात्र चलाउने तयारी गरेको छ । ठूला जहाज सञ्चालन गर्दा खर्च धेरै लाग्ने भन्दै निगमले वाई १२ जहाज मात्र चलाउने भएको हो ।
निगमका अध्यक्ष अधिकारीले केही दिनअघि वाई १२ का दुई जहाज सञ्चालन गर्ने र त्यसका लागि आवश्यक तयारी गर्नका लागि प्राविधिकहरुलाई निर्देशन जारी गरेका थिए ।
‘सुरुमा तीनवटा जहाज चलाउने भनिए पनि पछि दुइटा मात्रै चलाउने सर्कुलर आएको छ’ निगमका एक अधिकारीले क्यापिटलसँग कुरा गर्दै भने, ‘अहिले हामी सोहीअनुसार काम अघि बढाउन थालेका छौं ।’
त्यसो त कार्यकारी अध्यक्ष र मन्त्रीले भनेर मात्र जहाज सञ्चालन गर्न सहज छैन । सञ्चालक समितिले नै ती जहाजहरु सञ्चालन गर्ने निर्णय गरेकाले बोर्ड बैठकबाट निर्णय गराउनुपर्ने हुन्छ । तर, हालसम्म बोर्ड बैठक बस्न सकेको छैन । आन्दोलनरत कर्मचारीहरुले निगमलाई कम्पनी मोडलमा लैजाने प्रबन्धपत्रका मस्यौदाकार सबैलाई हटाउनुपर्ने र नयाँ सञ्चालक समिति ल्याउनुपर्ने माग राख्दै आएका छन् ।
मंगलबार साँझ पनि निगमको कर्मचारी संगठनले पर्यटनमन्त्री आलेलाई भेटेर बोर्डको समस्या तत्कालै समाधान गरी बैठक बस्ने वातावरण मिलाउन सुझाव दिएका थिए । उनीहरुले सीमित स्वार्थमा लागेर बोर्डका सदस्यहरु हटाउँदा मुख्य मस्यौदाकारलाई जोगाएर अरुलाई हटाउने प्रक्रियामा नलाग्नसमेत अनुरोध गरेका थिए ।
अहिले पर्यटनमन्त्री आले र कार्यकारी अध्यक्ष अधिकारी मिलेर तीन जना सञ्चालक समिति हटाउने र प्रबन्धपत्र तयार पार्ने संयोजक किशोर प्रधानलाई भने निरन्तरता दिने तयारीमा लागेका छन् ।
कर्मचारीहरुले भने चारै जना सञ्चालकलाई हटाउनु पर्ने माग राख्दै आएका छन् ।