काठमाडौं । पछिल्लो समय गोर्खाज फाइनान्सको सेयर मूल्यमा तीव्र चलखेल बढीरहेको छ । ह्वात्तै मूल्य बढाउने र घटाउने खेलले गोर्खाजमा निरन्तरता पाइरहेको छ । मंगलबार गोर्खाजको सेयर मूल्य नकारात्मक सर्किट लागेर कारोबार रोकिएको छ । सोमबार गोर्खाजको सेयर दिनभर घटेर कारोबार भएकोमा अन्तिम समयमा सकारात्मक सर्किट लागेर बन्द भएको थियो । फाइनान्स कम्पनीहरूमा पछिल्ला दिनमा सबैभन्दा बढी गोर्खाजको सेयरलाई चलायमान बनाउन खोजिएको छ । यद्यपि, गोर्खाजले लामो समयदेखि लगानीकर्तालाई प्रतिफल दिएको छैन र दिने अवस्था पनि छैन ।
यद्यपि, गोर्खाजको मूल्य १५ सयसम्म पुर्याइएको थियो । तर, मंगलबार ७८९ मा कारोबार भएको छ । यसअघि गोर्खाजजस्तै मूल्यमा चलखेल गर्ने कम्पनीहरूको सूचीमा आईसीएफसी फाइनान्स, महालक्ष्मी विकास बैंक थिए । तर, पछिल्ला दिनमा ती कम्पनी शान्तजस्तै देखिन्छन् ।
सोमबार २५२१ मा रोकिएको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार २.६६ अंक घटेर २५१८.९९ अंकमा रोकिएको छ । यद्यपि, कारोबारको क्रममा सूचक २४८६ सम्म झरेको थियो भने २५३३ सम्म बढेको थियो । प्री कारोबारमै २५२३ मा उक्लिएको बजार १० मिनेटभित्रै मंगलबारको न्यून बिन्दुमा झरेको थियो । त्यसपछि लगत्तै बढेको बजारले फेरि घट्ने र बढ्ने क्रम निरन्तर कायम राख्यो । मंगलबार ५ पटक बढ्न खोजेको देखायो भने ५ पटकै घटेर न्यूनबिन्दु समाउने कोसिस गरे पनि हरेक पटकको घटा अघिल्लो घटाइभन्दा कम हुँदै गएर अन्तिममा न्यून बिन्दुले घट्न पुगेको देखिन्छ ।
मंगलबारको नेप्से प्रवृत्तिलाई हेर्दा घट्दो सुरुवात 'भी' र बढ्दो पहिलो 'डब्ल्यू' र दोस्रो बढ्दो डब्ल्यूले बजार बुधबार उचालिन सक्ने संकेत गरेको छ । यद्यपि, अनपेक्षित सूचना नआएमा बढाइको रफ्तार बढी हुने छैन र घट्दो बढ्दो ट्रेन्ड समाएर सीमित उचाइ लिन सक्छ ।
तर, अन्तिममा लगानीकर्ताले यसअघिको तल्लो बिन्दुमा रहँदा सेयरमा नाफा बुक गर्न खोज्ने ट्रेन्ड देखाएमा घट्ने सम्भावनालाई पनि उत्तिकै ख्याल गर्नुपर्छ ।
बढाउने र घटाउने तीव्र प्रतिस्पर्धाका बीच कारोबार रकममा झन्डै ४० प्रतिशतभन्दा बढीको गिरावट आएको छ । सोमबार ५ अर्ब ५२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकामा मंगलबार भने ३ अर्ब १२ करोड ५५ लाख रुपैयाँमा खुम्चिएको छ । कारोबार रकम घट्नु र नेप्से सूचकले बढ्ने संकेत गरे पनि बुधबारको कारोबारले सूचक केही उक्लिए पनि बजार भने घट्दो क्रममै रहने संकेत गरेको छ ।
मंगलबार डिबेञ्चर तथा म्युचअल फन्डबाहेक ९४ कम्पनीहरूको सेयर मूल्यमा गिरावट आएर सूचक घटाउन मद्दत गरेको छ भने घट्दो बजारमा पनि ८८ कम्पनीको मूल्यमा वृद्धि देखिएको छ । मंगलबार गोर्खाजपछि सेयर मूल्य घट्ने कम्पनीमा साम्लिङ पावरको ६ प्रतिशतले मूल्य घटेको छ ।
उता आइतबारदेखि कारोबार खुलेकोमध्ये भोटेकोशीको सेयर मूल्य तेस्रो दिन पनि १० प्रतिशतले बढेको छ । नेपाल हाइड्रो डेभलपमेन्टको ५.३६ प्रतिशतले मूल्य बढेको छ । मंगलबार भने लगानीकर्ताले हिमालयन डिस्ट्रिलरीलाई रुचाएका छन् । मंगलबार उसको २६ करोड ३९ लाख ४३ लाख रुपैयाँको कारोबार हुँदा नबिलको २५ करोड ३७ लाख ३७ हजार रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको छ । मंगलबार कारोबार रकम घट्दा ४ कम्पनीको मात्रै १० कराेड रुपैयाँभन्दा बढी कारोबार भएको छ । सोमबार १४ कम्पनीको सेयर कारोबार १० कराेडभन्दा माथि थियो ।