रुकुम । रुकुम (पूर्व) का जनतामा स्वास्थ्यबिमाप्रतिको आकर्षण न्यून देखिएको छ ।
सरकारले विपन्न र गरिब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको बिमा कार्यक्रममा जिल्लाका जनताको पहुँच न्यून छ । हालसम्म जिल्लामा ६ हजार ३८८ जना मात्रै सो कार्यक्रममा आबद्ध छन् ।
विसं २०६८ को तथ्यांकअनुसार जिल्लाको जनसंख्या ५३ हजार १८ छ । जिल्लामा कुल जनसंख्याकाे १२ प्रतिशतले मात्रै हालसम्म स्वास्थ्य बिमा गरेका छन् । तीन गाउँपालिकामा स्वास्थ्य बिमा गर्नेको संख्या उल्लेख्य रूपमा कम रहेको स्वास्थ्य बिमा बोर्ड रुकुम पूर्वका दर्ता अधिकारी सपना पुनले जानकारी दिए ।
स्थानीय तहले पनि चासो नदिँदा यहाँका जनता स्वास्थ्य बिमाको पहुँचमा पुग्न सकेका छैनन् । २०७४ चैत १ गतेबाट स्वास्थ्य बिमा गर्न थालिएको थियो ।
विसं २०७६ भदौ १५ गते जिल्लामा स्वास्थ्य बिमा बोर्डको शाखा कार्यालय स्थापना गरिएको थियो । जिल्लामै कार्यालय स्थापना गरी बिमा कार्यक्रम सञ्चालन गरे पनि हालसम्म १२ प्रतिशत मात्रै स्वास्थ्य बिमामा आबद्ध भएका हुन् । जिल्लाका ३१ वडामध्ये अहिले २९ वडामा दर्ता सहयोग पनि राखिएको छ ।
भूमेको वडा नं ९ र पुथाउत्तरगंगा गाउँपालिकाको वडा नं ९ मा मात्रै दर्ता सहयोगीको पद रिक्त छ । यसअघि बिमितले जिल्लाबाटै उपचार सेवा नपाएकाले पनि बिमाप्रति आकर्षण कम देखिएको दर्ता अधिकारी पुनले बताए । यसअघि प्राथमिक स्वास्थ्य केन्द्र कोलबाट स्वास्थ्यबिमा गरेकाले उपचार सेवा पाउने गरेका थिए ।
त्यहाँ भरपर्दाे सेवा प्रवाह भएन । अहिले भने रुकुम पूर्व अस्पतालबाट पनि स्वास्थ्य बिमा गरेकाले उपचार सेवा पाउन थालेका छन् । अहिले जिल्लाबाटै उपचार सेवा पाउने भएपछि भने सहज भएको बिमित बताउँछन् । बिमाको प्रावधानअन्तर्गत पाँच जनासम्मको परिवारले बिमा गरेपछि वार्षिक प्रतिपरिवार तीन हजार पाँच सय, परिवारका सदस्य पाँचभन्दा बढी भएमाप्रति सदस्य थप ७०० का दरले एक वर्षका लागि बिमामा आबद्ध हुने व्यवस्था छ ।
यस्तै पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक एक लाखसम्मको स्वास्थ्य सेवा पाइने तथा दस जनासम्म परिवारको संख्या भएमा दुई लाख बराबरको उपचार पाउने व्यवस्था रहेको छ । सत्तरी वर्ष माथिका ज्येष्ठ नागरिक, ‘क’ वर्गका अपांग एचआईभी संक्रमित र अति विपन्न परिवारका लागि भने सरकारले निःशुल्क रूपमा स्वास्थ्य बिमा गर्दै आएको छ ।