पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले महिला सहकारीलाई कम्प्युटरसहितका विद्युतीय उपकरण उपलब्ध गराई कम्प्युटर सञ्चालनसम्बन्धी तालिम सञ्चालन गरेको छ ।
कुम्मायक गाउँपालिकाले गत वर्ष पाँचवटा वडामा रहेका पाँच महिला सहकारी संस्थालाई एक/एक थान कम्प्युटर, प्रिन्टर र स्क्यान गर्ने मेसिन उपलब्ध गराएको थियो ।
महिला सहकारीलाई प्रविधिमा आधारित लेखा व्यवस्थापन गर्न सक्षम बनाउन तथा सूचना प्रविधिमा दक्ष बनाउन यस वर्ष गाउँपालिकाले एड्भान्स कम्प्युटर तालिम आयोजना गरेको हो । गाउँपालिकाको केन्द्र यासोकमा सोमबारदेखि उक्त तालिम सुरुआत भएको हो ।
तालिममा पाँचवटै सहकारी संस्थाका दुई÷दुई पदाधिकारी सहभागी भएको कुम्मायक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले जानकारी दिए । तीन महिनासम्म चल्ने तालिममा कम्प्युटर सञ्चालनदेखि मर्मत र सूचना प्रविधिको प्रयोगसमेतका जानकारी दिइने प्रशिक्षक मदन थापाले बताए।
तालिमको उद्घाटन गर्दै कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले सहकारीसहित वित्तीय संस्थाको सञ्चालनमा प्रविधिको प्रयोग अत्यावश्यक भएको देखिएपछि गाउँपालिकाले सो तालिम चलाएको बताए।
गाउँपालिकाले महिला सहकारीका माध्यमबाट जनचेतनाको विस्तार, महिलाको क्षमता विकास र आयआर्जन अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिरहेको छ । दुई वर्षअघि महिला सहकारीका सञ्चालकलाई क्षमता विकास तथा उद्घोषण कलासम्बन्धी तालिमसमेत दिइसकेको गाउँपालिका उपाध्यक्ष सीता आचार्यले बताइन्।
तालिममा सहभागी नवज्योति महिला सहकारी संस्था कुम्मायक–४ की अध्यक्ष कमलादेवी चौलागाईंले ग्रामीण क्षेत्रका महिलाले एड्भान्स कम्प्युटर तालिम लिन पाउनु खुसीको कुरा भएको बताइन्।