काठमाडौं । राष्ट्रिय गौरव आयोजनामध्येको पूर्व-पश्चिम जोड्ने पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाको बाटो परिवर्तन हुने भएको छ ।
अन्य राष्ट्रिय गौरवका जलाशययुक्त आयोजनाका कारण २ ठाउँमा बाटो परिवर्तन गर्नुपर्ने लोकमार्गले जनाएको छ ।
बूढीगण्डकी जलविद्युत् आयोजना, सुनकोसी मरिण डाइभर्सन आयोजना तथा सुनकोसी जलविद्युत् आयोजना २ र ३ का कारण राजमार्गको बाटो परिवर्तन गर्नुपर्ने भएको हो ।
आयोजनाले दिएको विवरणअनुसार रामेछापको तामाकोसीमा बन्ने पुल मरिण डाइभर्सनको बाँधले डुबानमा पर्ने भएपछि १५ सय मिटर बाटो सारिएको छ । मरिण डाइभर्सन बहुउद्देश्य आयोजनाबाट ३१ मेगावाट विद्युत् उत्पादनसहित तराईमा करिब ४५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने छ । डाइभर्सन आयोजना सिन्धुली जिल्लामा निर्माणाधीन अवस्थामा छ ।
पहिलेको डिजाइनुसार २०० मिटर लामो पुल बन्नु पर्नेमा १५ सय मिटर बाटो सार्दा पुलको लम्बाइ घटेर १५० मिटर पुगेको आयोजनाले जनाएको छ । यसरी लम्बाइ घट्दा करिब साढे ७ करोड रुपैयाँ लागत पनि घट्ने बताइएको छ ।
त्यस्तै सिन्धुलीमै निर्माण हुने सुनकोसी २ र ३ जलविद्युत् आयोजनाका कारण पनि मध्यपहाडी लोकमार्गको करिब ६० किमि बाटो परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्ने आयोजनाका इन्जिनियरहरु बताउँछन् । तर, जलविद्युत् आयोजनको निर्माण कार्य अघि नबढेकाले हाल उक्त क्षेत्रको बाटोको विषयमा लोकमार्गले कुनै कदम चालेको छैन ।
त्यस्तै अर्को राष्ट्रिय गौरवकै बूढीगण्डकी जलविद्युत् आयोजनाका कारण धादिङमा ६७ किलोमिटर बाटो परिवर्तन गर्नुपर्ने लोकमार्गले जनाएको छ । हाल सञ्चालनमा रहेको जलजले, खहरेबजार, सल्यानटार, आरुघाट क्षेत्रको २० किमि बाटो बूढीगण्डकी आयोजना निर्माण भएपछि डुबानमा पर्नेछ । यसकै कारण करिब १० वर्षपछि उक्त बाटो परिवर्तन भई जलजले किन्ताङ्फेदी, आँचौर, आर्खेत, सिमलफेदी क्षेत्रबाट करिब ६७ किमि बाटो लम्बाएर लोकमार्ग निर्माण गर्नुपर्ने हुन्छ ।
तर, लोकमार्गले १० वर्षपछि बन्नुपर्ने जलजले–सिमलफेदी खण्डको नयाँ ट्रयाक नबनाई २० किमि बाटोलाई नै अघि बढाउने जनाएको छ । बूढीगण्डकीको डुबानमा परेर १० वर्षपछि बाटो परिवर्तन गर्नुपर्ने थाहा हुँदाहुँदै पुरानो रेखांकनअनुसार आयोजनाले काम गरेर दोहोर खर्च किन गर्छ ? भन्ने प्रश्नमा आयोजनाका सूचना अधिकारी सुरजहरी अधिकारी भन्छन्, ‘राष्ट्रिय योजना आयोगको निर्देशन अनुसार हामीले काम गर्छौं । आयोगले पुरानै रेखाङ्कन फलो गर्नु भनेर पत्राचार गरेको छ ।’
आर्थिक वर्ष २०६९/०७० बाट निर्माण सुरु भएको बूढीगण्डकी जलविद्युत् आयोजनाबाट १२ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएको छ । २ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको सो आयोजनाको म्याद आर्थिक वर्ष २०८३/०८४ सम्म रहेको छ । हालसम्म आयोजनाको काम सुरु भएको छैन ।
हाल सञ्चालनमा रहेको (जलजले–आरुघाट) २० किमि बाटोको ट्रयाक भने मध्यपहाडी लोकमार्गले खोलेको होइन । पहिले ट्रयाक खोलिएको बाटोलाई स्तरोन्नति गर्ने काम गरेको लोकमार्गले जनाएको छ । उक्त बाटो तत्कालै परिवर्तन गर्नु नपरे पनि अबको करिब १० वर्षमा परिवर्तन गर्नुपर्ने सम्भावना रहेको सूचना अधिकारी सुरजहरी बताउँछन् । तर, आयोगको पत्राचारका कारण डुबानमा पर्ने बाटो परिवर्तन नगरी लोकमार्गले पुरानै रेखाङ्कनलाई निरन्तरता दिने भएको छ ।
८० करोड बढी लाग्ने
पहाडमा प्रतिकिलोमिटर बाटो निर्माण गर्न करिब ८ करोड रुपैयाँ लागत लाग्छ । यसरी हेर्दा अबको करिब १० वर्षपछि ८० करोड रुपैयाँ मध्यपहाडी लोकमार्गले ट्रयाक परिवर्तन गर्नमा खर्च गर्नुपर्ने हुन्छ । त्यस्तै हाल सञ्चालनमा रहेको २० किमि बाटोको स्तरोन्नति गर्ने खर्च छुट्टै हुन्छ ।
पैसासँगै नयाँ ट्रयाक खोल्न समय पनि धेरै लाग्ने इन्जिनियरहरुको भनाइ छ । यद्यपि बाटो निर्माण गर्दा विभिन्न भौगोलिक समस्या आएर ढिला हुने तथा कहिलेकाहीँ धेरै समस्या नभई छिटै निर्माण सम्पन्न हुने भएकाले अहिले नै उक्त बाटो निर्माण गर्ने समय निश्चित नहुने सूचना अधिकारी बताउँछन् ।
आर्थिक वर्ष ०६४/०६५ बाट सुरु भएको मध्यपहाडी लोकमार्ग आर्थिक वर्ष ०७९/०८० सम्पन्न गर्ने लक्ष्य तोकिएको छ । पूर्वमा पाँचथरको चियो भञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म दुई लेन कालोपत्रेसहितको सडक निर्माणाधीन अवस्थामा छ । कुल १८ सय ७९ किलोमिटर लामो सो राजमार्ग निर्माण सुरु भएदेखि मंसिर मसान्तसम्म भौतिक प्रगति ५९ प्रतिशत र ६४ प्रतिशत वित्तिय प्रगति भएको लोकमार्ग आयोजनाले जनाएको छ ।
आयोजनाका सूचना अधिकारी सुरजहरीले भने, ‘८४ अर्ब ३३ करोड रुपैयाँ आयोजनाको अनुमानित लागत रहेको छ । त्यसमध्ये ६४ प्रतिशत अर्थात् ५४ अर्ब ४० करोड रुपैयाँ खर्च भएको छ ।’
सरकारले सो राजमार्गको लागि चालू आर्थिक वर्षमा ८ अर्ब ३ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको छ । चालू आवमा विनियोजन भएकोमध्ये मंसिर मसान्तसम्म १ अर्ब ६ करोड अर्थात् १३.२२ प्रतिशत खर्च भएको छ ।
त्यस्तै चालू आर्थिक वर्षमा २३ किमि बाटो कालोपत्रे भएको छ भने खोटाङको दौत्य खोला पुल पनि यो वर्ष नै निर्माण सम्पन्न भएको छ । चालू आर्थिक वर्षको सहित समग्र आयोजनाको कुल ११ सय ३७ किमि बाटो कालोपत्रे भएको छ । साथै १३६ वटा पुल बन्नुपर्नेमा ९१ वटाको निर्माण सम्पन्नसमेत भएको छ ।