काठमाडौं । चालू आर्थिक वर्षको मंसिरसम्म ८ अर्ब रुपैयाँ औद्योगिक उत्पादनतर्फको अन्तःशुल्क संकलन भएको छ । मंसिरसम्ममा कुल ३९ अर्ब ७४ करोड अन्तःशुल्क संकलन भएकोमा औद्योगिक उत्पादनको योगदान २० देखि २१ प्रतिशतसम्म हुने अनुमान आन्तरिक राजस्व विभागले गरेको छ । आन्तरिक उत्पादन नबढेकै कारण औद्योगिक उत्पादनमार्फत असुल हुने अन्तःशुल्कको योगदान खासै बढ्न नसकेको विभागले जनाएको छ ।
अन्तःशुल्कमा मदिरा, चुरोट बिँडी र बियरको योगदान ८१ प्रतिशतभन्दा बढी रहेको देखिन्छ । आव ०७१/०७२ मा औद्योगिक उत्पादनको अन्तःशुल्कमा योगदान करिब १४ प्रतिशत रहेकामा गत आर्थिक वर्षमा १९.३८ प्रतिशत पुगेको थियो । अन्तःशुल्कमा मदिराको योगदान २५ प्रतिशत,चुरोट–बिँडीको २५.०२ प्रतिशत र बियरको २५.७४ प्रतिशत गरी कुल ८१.३६ प्रतिशत रहेको छ ।
गत आर्थिक वर्ष कुल ८१ अर्ब ५१ करोड रुपैयाँ अन्तःशुल्क संकलन भएकामा चुरोट–बिँडीबाट २० अर्ब ३९ करोड रुपैयाँ, मदिराबाट २४ अर्ब ३२ करोड र बियरबाट २१ अर्ब रुपैयाँ अन्तःशुल्क असुली भएको थियो ।
बियर, मदिरा र चुरोट–बिँडीको अन्तःशुल्क दर बर्सेनि बढ्ने हुँदा यस्ता वस्तुको योगदान बढी र औद्योगिक वस्तुको दरमा कम हुने भएकाले अन्तःशुल्कमा आन्तरिक उत्पादनको योगदान कम हुने गरेको विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेल बताउँछन् ।
‘मदिरा, चुरोट–बिँडी र बियरको अन्तःशुल्क दर प्रत्येक वर्ष बढ्ने भएकाले यस्ता वस्तुबाट बढी अन्तःशुल्क उठ्ने गरेको छ । सरकारले आन्तरिक उत्पादनलाई प्रोत्साहन दिने उद्देश्यले औद्योगिक वस्तुको दर कम तोकेकाले अन्तःशुल्कमा योगदान पनि कम देखिन्छ’ उनले भने ।
गत आर्थिक वर्ष औद्योगिक वस्तुको योगदान १९.३८ प्रतिशत मात्रै रहेको आन्तरिक राजस्व विभागले जनाएको छ । विगतका ७ वर्षमा अन्तःशुल्कमा औद्योगिक वस्तुको योगदान ३.६४ गुना बढेको देखिन्छ । तर, रकमका हिसाबले हेर्ने हो भने अन्तःशुल्कमा यसको योगदान खासै ठूलो छैन ।
आर्थिक वर्ष ०७१/०७२ मा ४ अर्ब ३४ करोड, आर्थिक वर्ष ०७२/०७३ मा ४ अर्ब ४५ करोड, आव ०७३/०७४ मा ६ अर्ब ३२ करोड, आव ०७४/०७५ मा ७ अर्ब ८४ करोड, आव ०७५/०७६ मा १२ अर्ब ३८ करोड, आव ०७६/०७७ मा ११ अर्ब ४२ करोड र आव ०७७/०७८ मा १५ अर्ब ८० करोड रुपैयाँ औद्योगिक वस्तुबाट अन्तःशुल्क संकलन भएको छ ।
यस्तै आर्थिक वर्ष ०७४/०७५ को तुलनामा ०७६/०७७ मा संकलन भएको अन्तःशुल्क करिब ५८ प्रतिशतले बढेको थियो । यसैगरी आर्थिक वर्ष ०७६/०७७ मा कोभिड १९ ले गर्दा आन्तरिक उत्पादनमा कमी आएकाले यसबाट उठ्ने अन्तःशुल्क करिब ९६ करोड रुपैयाँले घटेको छ । गत आर्थिक वर्ष यस्ता वस्तुबाट संकलन हुने अन्तःशुल्क करिब ३८ प्रतिशत अर्थात् ४ अर्ब ३८ करोड रुपैयाँले बढेको छ ।
पछिल्लो समय औद्योगिक वस्तुको खपत बढेकाले यसबाट संकलन हुने अन्तःशुल्क वृद्धि भए पनि सन्तोष गर्ने ठाउँ नरहेको उद्योगी पवन गोल्यान बताउँछन् । अन्तःशुल्कमा यस क्षेत्रको हिस्सा बढाउन औद्योगिक वस्तुमा थप लगानी बढाउनुपर्नेमा उनले जोड छ ।
‘उपभोगमा आएको वृद्धिअनुसार आन्तरिक उत्पादन नबढ्दा आयात बढेको छ । स्टिल, टेक्सटाइल, क्लिंकरजस्ता वस्तुको मागअनुसार उत्पादन गर्न सकेका छैनौं । उद्योगीहरुले यस्ता क्षेत्रमा लगानी बढाउने हो भने यसबाट संकलन हुने अन्तःशुल्कमा थप योगदान हुने थियो’ उनले भने ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल आन्तरिक उत्पादनमा अन्तःशुल्क लगाउने सरकारको नीति गतल भएकाले यसलाई हटाउनुपर्ने बताउँछन् । स्वास्थ्यलाई हानी गर्ने वस्तुबाहेक अन्य आन्तरिक उत्पादनमा अन्तःशुल्क लगाउन नहुने उनको भनाइ छ ।
‘स्वास्थ्यलाई हानी गर्नेबाहेकका वस्तुमा अन्तःशुल्क लगाउन हुँदैन । आन्तरिक उत्पादनसहितका कतिपय वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) पनि लगाउने भएकाले अन्तःशुल्क लगाउनु उचित हुँदैन’ अग्रवालले भने ।
कसको योगदान कति ?
सिमेन्ट, फलामे छड, जुस, प्लास्टिकका झोलालगायतका वस्तुहरू औद्योगिक उत्पादनतर्फको अन्तःशुल्कमा सबैभन्दा बढी योगदान गर्ने बस्तुहरु हुन ।
सिमेन्टमा प्रतिबोरा ११ रुपैयाँ अन्तःशुल्क लाग्ने गरेको छ । यसैगरी सिमेन्टको खाली बोरामा उत्पादन मूल्यको ५ प्रतिशतका दरले प्रतिबोरा १ रुपैयाँ अन्तःशुल्क लाग्ने गरेको छ । गत आर्थिक वर्षमा २० करोड बोरा सिमेन्ट बिक्री भएकामा यसबाट २ अर्ब ४० करोड रुपैयाँ अन्तःशुल्क संकलन भएको देखिन्छ ।
चालू आर्थिक वर्ष सिमेन्टको खपत १० प्रतिशले बढ्ने अनुमान सिमेन्ट उत्पादकहरुले गरेका छन् । यस हिसाबले यो वर्षको अन्त्यसम्ममा सिमेन्टको अन्तःशुल्कमा योगदान २ अर्ब ६४ करोड रुपैयाँ पुग्ने देखिन्छ ।
यसैगरी स्टिलमा प्रतिटन २ हजार ५ सय अन्तःशुल्क लाग्ने गरेको छ । नेपालमा प्रतिवर्ष कुल १६ हजार टन स्टिल खपत हुने गरेकामा १४ हजार टन नेपालमा नै उत्पादन हुने गरेको छ । यसरी हेर्दा स्टिलबाट करिब ४० करोड रुपैयाँ अन्तःशुल्क संकलन हुने देखिन्छ ।
अर्थतन्त्र कोभिड १९ अघिकै अवस्थामा फर्कने क्रममा रहेकाले र गत वर्षको जस्तो तरलतामा सहजता नभएकाले आन्तरिक उत्पादन घट्न सक्ने उद्योगीहरु बताउँछन् ।
कोभिड १९ का कारण मानिसको क्रयशक्ति घटेको, सरकारको पुँजीगत खर्च नभएको, घर निर्माणमा भएको कमी, रेमिट्यान्समा आएको गिरावटजस्ता कारणले औद्योगिक उत्पादनतर्फ अन्तःशुल्कमा गतवर्षको जस्तो वृद्धिदर हासिल गर्न कठिन हुने उनीहरु बताउँछन् । स्टिलको माग आगामी आर्थिक वर्षमा ५ प्रतिशतले मात्रै बढ्ने उद्योगी विष्णुप्रसाद न्यौपाने बताउँछन् ।
‘मानिसको क्रयशक्तिमा आएको कमीका कारण मानिसले घर बनाउने म्याद पछि सारेका छन् । सरकारले पुँजीगत खर्च गर्न सकेको छैन । घर निर्माण र रेमिट्यान्स क्षेत्र र बैंकिङ तरलताका कारण स्टिल उत्पादनको वृद्धिदर ५ प्रतिशतभन्दा माथि जाने संभावना छैन’ उनले भने ।