चितवन । चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा ५१ हजारभन्दा बढीले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गएको साउनदेखि मंसिर मसान्तसम्म ५१ हजार ३०४ जनाले निकुञ्ज भ्रमण गरेका छन् ।
यस वर्ष कात्तिकमा सबैभन्दा बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । कात्तिकमा २१ हजार ५०६ जनाले निकुञ्जको भ्रमण गरेका तिवारीले बताए । त्यस्तै मंसिरमा १९ हजार ८०, असोजमा पाँच हजार ८३५, भदौमा २ हजार ९७७ तथा साउनमा १ हजार ९०६ जनाले निकुञ्जको भ्रमण गरेका छन् ।
त्यसैगरी निकुञ्ज घुम्ने पर्यटकबाट निकुञ्जले चालू आवको हालसम्म १ करोड २९ लाख ९५ हजार १५० राजस्व संकलन गरेको छ । निकुञ्जले सबैभन्दा बढी राजस्व मंसिर महिनामा संकलन गरेको भन्दै सूचना अधिकारी तिवारीले जानकारी दिए । मंसिरमा मात्रै ५४ लाख १२ राजस्व संकलन भएको थियो ।
उनका अनुसार कात्तिकमा ५१ लाख १४ हजार ८५०, असोजमा १५ लाख २ हजार ७००, भदौमा ६ लाख ११ हजार २५०, साउनमा ३ लाख ५४ हजार ३५० राजस्व संकलन भएको छ ।
निकुञ्जले घुम्न आउने पर्यटकबाहेक अन्य गतिविधिबाट समेत राजस्व संकलन गर्दै आएको छ । चालू आव २०७८/७९ मा विभिन्न शीर्षकमा २ करोड ४१ लाख १५ हजार ८१८ राजस्व संकलन गरेको तिवारीले बताए । उनका अनुसार गैरकाष्ठ वन पैदावार बिक्री वितरणबाट १९ लाख ४२ हजार १३३, पर्यटक, जीप सफारी र नदीजन्य पैदावारबाट १ करोड ९० लाख १४ हजार ५५०, दण्ड जरिवानाबाट २० लाख ४७ हजार ६१० तथा नेचर गाइड र माछा मार्ने अनुमति शीर्षकमा ११ लाख ११ हजार ५२५ राजस्व संकलन भएको छ ।
विसं २०७२ को भूकम्पका कारण घटेका निकुञ्ज घुम्ने पर्यटक विस्तारै बढ्ने क्रममा थिए । दुई वर्षअघिदेखि विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण निकुञ्ज घुम्ने पर्यटकको संख्यामा कमी आएको हो । गत आव २०७७/७८ मा ९८ हजार ९२८ जनाले निकुञ्जको भ्रमण गरेका थिए भने अघिल्लो आव २०७६/७७ मा एक लाख ८२ हजार ४३५ जनाले निकुञ्ज भ्रमण गरेका थिए ।