काठमाडौं । ८ दिनदेखि बढेको सेयर बजार बढ्ने गतिमा ब्रेक लागेको छ । साताको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६९.७७ अंकले घटेर २५२१.६५ बिन्दूमा रोकिएको छ ।
सोमबारको घटाई आइतबारको बढाइभन्दा २ अंक कम हो । आइतबार ७१ अंक बढेको थियो । सोमबारको कारोबार प्रवृत्ति र कारोबार रकमको शिलशिला हेर्ने हो भने बजार फेरि घट्दो चक्रमा पसेको संकेत गर्छ । यद्यपि, आइतबार २५९१ बिन्दूमा रोकिएको सूचक सोमबार प्रिओपनिङ कारोबार २६०० मा चढेको थियो । कारोबार खुल्दा नखुल्दै २६१६ सम्म चढेको बजार सूचक ५औं मिनेटपछि भने घट्न थाल्यो । यद्यपि, बीच-बीचमा बढ्ने कोसिस गरे पनि क्षमता प्रदर्शन गर्न सकेन ।
यद्यपि, प्रवृत्तिमा भने फरक देखिएको छ । आइतबार १४ बिमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागे पनि बिमा कम्पनीहरुको घटाइको रफ्तार सोमबार कम छ । खासगरी, आइतबार र सोमबारको कारोबार नियाल्दा जलविद्युत् कम्पनीहरु ट्र्यापमा परेको देखिन्छ । विगतमा नेप्से बढ्नलाई जलविद्युत् समूहले सकारात्मक सहयोग गरेको पाइन्थ्यो । तर, आइतबार ७१ अंकले सूचक बढ्दा पनि जलविद्युत् समूह सूचक भने घटेको थियो । सोमबार समग्रमा बजार घट्दा जलविद्युत् समूह पनि त्यही रफ्तारमा घटेको छ । यसले जलविद्युत् कम्पनीहरुको मूल्य विस्तारै ‘कन्सोलिडेसन’मा गएको संकेत गर्छ ।
विगतमा जलविद्युत् कम्पनीहरुको सेयर मूल्य अन्य क्षेत्रको हेरिकन आकासिएको भनेर केही लगानीकर्ता, विश्लेषक तथा नियामकहरुले सचेत गराउँदै आएका थिए । धेरैजसो जलविद्युत् कम्पनीहरुको सेयर मूल्य निरन्तर ओरालो लागिरहेको छ । यद्यपि, एउटा बिन्दूबाट जुनसुकै बेला उठाउन सक्छन् ।
जस्तो, आइतबार बिमा कम्पनीहरुको मूल्य उठाइएको थियो । लगानीकर्ता बढी फस्ने त्यस्तै बेला हो । बजार बढ्दा झन बढ्छ भन्ने आशा रहन्छ हुन्छ । र, लगानीकर्ताले किन्छन् । उता बढेको मूल्य बिक्री गर्दा पछि झन् बढ्ने आशले बिक्री गर्ने सामर्थ्य राख्दैनन् । तर, मूल्य भने घट्ने वा बढ्ने ठेगान हुँदैन । जुन स्थिति आइतबार र सोमबारको बिमा कम्पनीको स्क्रिप्ट हरेर पनि थाहा हुन्छ ।
सोमबार बजार सूचक घटे पनि कारोबार रकम भने सामान्य बढेको छ । घट्दो बजारमा कारोबार बढ्नु राम्रो संकेत होइन । त्यसले बजार अझै घट्द भन्ने संकेत गर्छ । आइतबार ५ अर्ब ११ करोड रुपैयाँ भएकोमा सोमबार ५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । जुन कारोबार १ महिनायताकै उच्च देखिएको छ । मंसिर १२ गते ५ अर्ब ६८ करोडको कारोबार भएको थियो ।
सोमबार सबैभन्दा बढी कारोबार नबिल बैंकको ३० करोड ६१ लाख रुपैयाँ छ भने १२ कम्पनीको १० करोड रुपैयाँभन्दा बढी छ । उता घट्दो बजारमा पनि म्युचुअल फन्ड र डिबेञ्चर बाहेक ८ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसमध्ये सबैभन्दा बढी आइतबारबाट कारोबार सुरु भएको मध्य भोटेकोसी र गोर्खाज फाइनान्सको १० प्रतिशत सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
गोर्खाज फाइनान्सको सेयर मूल्य दिनभरजसो घटेर कारोबार भएकोमा अन्तिम समयमा सकारात्मक सर्किट लगाइएको छ । गोर्खाजको विगतमा पनि एकाएक सेयर मूल्य घटाउने र बढाउने गरेको पाइन्छ । १८२ कम्पनीको मूल्य घटेकोमा सबैभन्दा बढी जोशी हाइड्रोको ८.५४ प्रतिशतले घटेको छ । उच्च १० मूल्य घट्नेमध्ये ६ वटा जलविद्युत् कम्पनी छन् ।