काठमाडौं । नेपाल विद्युत् प्राधिकरण नेतृत्वसँग सेटिङ गरेर पोल आपूर्तिको ठेक्का हात पारेको हुलास स्टिल इन्डस्ट्रिज प्रालिमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी बढाएको छ ।
कम्पनीले किर्ते डकुमेन्ट बनाई प्राधिकरण भित्रका खरिदका हाकिम विजय सेन खड्कासहितको टोलीलाई रिझाएर पोल ठेक्का हात पारेको हुलास स्टिल र कर्मचारीमाथि आयोगले निगरानी सुरु गरेको हो ।
प्राधिकरणको खरिद विभागका प्रमुखसमेत रहेका खड्काको सल्लाहमा हुलास स्टिलका सञ्चालक हिमांशु गोल्छाले किर्ते डकुमेन्ट बनाएका थिए । उक्त डकुमेन्टसहित अख्तियारमा उजुरी परेपछि अनुसन्धान बढाइएको अख्तियार स्रोतले बताएको छ ।
‘जो जो कम्पनीले ठेक्का पाएका छन्, उनीहरूका फाइल अनुसन्धानकाे क्रममा छन्’ अख्तियारका एक अधिकारीले भने, ‘प्राधिकरण कर्मचारीबाट किर्ते डकुमेन्ट बनाई पोल आपूर्तिको ठेक्का दिएको उजुरी परेको थियो । त्यसैका आधारमा अहिले अनुसन्धान गर्ने काम भइरहेको छ ।
खड्काले कमिसन खाएर पोल उत्पादनमा अनुभव नै नभएको कम्पनीलाई पोल आपूर्तिको ठेक्का दिएका हुन् । सुरुमा उनै खड्काले डकुमेन्ट नपुगेपछि किर्ते कागजात बनाउन कम्पनीलाई सुझाएका थिए । टेन्डर आह्वान गर्दा पोल उत्पादनमा ५ वर्षको अनुभव आवश्यकता पर्ने उल्लेख थियो । त्यसपछि गोल्छाको कम्पनी अयोग्य हुने देखिएपछि खड्कालाई प्रलोभनमा पारेर किर्ते डकुमेन्टलाई सक्कली मानेर ठेक्का दिइएको हो ।
खरिद विभाग प्रमुख खड्काले नियमसंगत दुई कम्पनीलाई पोल आपूर्तिको जिम्मा दिएको प्रतिक्रिया दिए ।
नेपाल विद्युत् प्राधिकरणले १८ जुन २०२१ मा ८, ९ र ११ मिटरका १ लाख ५० थान पोल खरिद गर्ने टेन्डर आह्वान गरेको थियो । टेन्डरमा पाँच वर्षको अनुभव चाहिने व्यवस्था समेटिएपछि हिमांशुको कम्पनी हुलास स्टिल स्वतः रेसबाट बाहिरिने भयो । त्यसपछि उनले प्राधिकरणका उच्च पदस्थ कर्मचारीलाई आफ्नो कम्पनीलाई पोल आपूर्तिको ठेक्का पारिदिने हो भने १५ देखि २० प्रतिशत रकम घुस दिने बताएपछि प्राधिकरणको नेतृत्व पनि उनको डमुकेन्ट मिलाउनतिर लाग्यो ।
खासगरी, हुलास स्टिलको अनुभव र वार्षिक कारोबारको भोल्युम पुगेको थिएन । ५ वर्षको अनुभव र वार्षिक रूपमा २५ करोड रुपैयाँ कारोबार गर्ने कम्पनीले मात्रै टेन्डरमा सहभागी हुन पाउने व्यवस्था थियो ।
दुवै क्वालिफिकेसनमा हुलास स्टिल अयोग्य ठहरिएपछि प्राधिकरणका उच्च कर्मचारीले 'कुनै कम्पनीमा ५ वर्षअघि पोल आपूर्ति गरेको अनुभव ल्याउनुस्, त्यसलाई हामी मान्छौं र तपाईंको यो डकुमेन्टमा एटेच गरेर राख्छौं' भनी हिमांशुलाई आइडिया दिए ।
याे पनि पढ्नुहाेस्ः
‘अयोग्य’ कम्पनीलाई पोल ठेक्का पार्न प्राधिकरणभित्र हिमांशुले यसरी मिलाएका थिए सेटिङ