काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बहुप्रतीक्षित तथा चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक गरेको छ ।
सिप्रदीले भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना भइरहेको नाडा अटो सो २०१९ मा टाटा एच फाइभ सार्वजनिक गरेको हो । भारतीय बजारमा टाटा ह्यारियर भनिने टाटा एचफाइभको सुरु मूल्य नेपाली बजारमा ५६ लाख ५५ हजार रुपैयाँ तोकेको छ । यसको डेलिभरी सेप्टेम्बरबाट सुरू हुने र पहिला बुक गर्नेलाई प्राथमिकता दिइने सिप्रदीले जनाएको छ ।
नेपाली बजारमा टाटा एच फाइभको बुकिङ केही दिनअघि मात्र खुला गरिएको हो । बुकिङ खुला भएयता टाटा एच फाइभबारे सकारात्मक प्रतिक्रियाहरू प्राप्त भइरहेको सिप्रदीले जनाएको छ ।
सार्वजनिक अवसरमा बोल्दै टाटा मोटर्सका प्यासेन्जर भेइकल्स इन्टरनेसनल बिजनेसका प्रमुख सुजन रोयले टाटा एच फाइभले नेपाली एसयूभी बजारमा आमूल परिवर्तन ल्याउने बताए । नेपाली एसयूभीपारखीहरूले आकर्षक बनावट तथा खराब बाटोहरूमा पनि उच्च प्रदर्शन तथा राम्रो कन्ट्रोल गर्न सक्ने टाटा एच फाइभलाई मन पराउने रोयले बताए ।
क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा निकै चर्चित छ । एच फाइभमा रहेको इन्जिनले १३८ बीएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एच फाइभ ल्यान्डरोभरको डी एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो । आकर्षक रहेको टाटा एच फाइभमा पुस बटन स्टार्टस्टप, सेमीडिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, मल्टीफङ्कसन स्टरिङ, हाइट अजस्टेबल ड्राइभर सिट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषता छन् ।
बजारमा सार्वजनिक गरिएको जानकारी दिँदै सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा एच फाइभ सर्वोत्कृष्ट उत्पादन भएको र नेपाली बजारमा लोकप्रिय हुने विश्वास व्यक्त गरेका छन् ।