काठमाडौं । ऋणमा चुर्लुम डुबेको नेपाल वायुसेवा निगममा आफूअनुकूल निर्णय गर्न हालका सञ्चालक सदस्यहरूलाई निकाल्ने तयारी थालिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफ्नो स्वार्थअनुकूल निर्णय गर्न सहज हुने गरी सञ्चालक समितिमा हेरफेरको तयारी थालेका छन् ।
कर्मचारी संघ–संगठनलाई अघि सार्दै पर्यटनमन्त्री आले र अध्यक्ष अधिकारीले आफूलाई सहज बनाउने खालका सञ्चालक समिति नियुक्ति गर्न लागेका हुन् । निगमलाई कम्पनी मोडलमा लैजाने प्रारम्भिक मस्यौदा बनाएको भन्दै गत असार १८ गतेबाट त्यहाँका कर्मचारीहरू आन्दोलनमा उत्रिएका थिए ।
उनीहरूले महाप्रबन्धक डिमप्रकाश पौडेलको बर्खास्ती, कम्पनी मोडलमा लैजाने मस्यौदाको खारेजी, स्वार्थ बाझिएका सञ्चालक समितिका सदस्यलाई हटाउनु पर्ने र महाप्रबन्धकको अस्वाभाविक तलब वृद्धि रोक्नुपर्ने माग राखेका थिए । करिब तीन महिनासम्म चलेको आन्दोलनपछि पर्यटन मन्त्री आलेले महाप्रबन्धक पौडेलको जिम्मेवारी खोसेका थिए भने कार्यकारी अध्यक्षमा अधिकारीलाई नियुक्ति दिलाएका थिए ।
अधिकारीको नियुक्तिको विषयलाई लिएर धेरै नकारात्मक टिकाटिप्पणी भएका थिए । उनको नियुक्तिपछि पहिलेका महाप्रबन्धकले गरेको निर्णयलाई उल्टाएर ग्राउन्डेड गरिएका चिनियाँ जहाज सञ्चालन गर्ने निर्णय गरेका थिए । जहाज सञ्चालन गर्दाभन्दा ग्राउन्डेड गर्दा झनै घाटा भएको निष्कर्ष निकाल्दै यसअघिको सञ्चालक समितिले ती जहाज सञ्चालन नगरी बिक्री वा भाडामा दिने योजना अघि सारेकाे थियाे ।
यस निर्णयमा अर्थ मन्त्रालय र पर्यटन मन्त्रालयलेसमेत लिखित सहमति जनाइसकेको अवस्थामा फेरि नयाँ कार्यकारी अध्यक्ष अधिकारी र पर्यटनमन्त्री आलेको मिलेमतोमा ती जहाज सञ्चालनका लागि आवश्यक तयारी अघि बढाइएको छ । तर, यो विषयमा सञ्चालक समितिका सदस्य भने राजी छैनन् ।
निगमलाई घाटामा लैजाने चिनियाँ जहाज सञ्चालन गर्नुभन्दा बिक्री वा भाडामा दिएर नयाँ जहाज ल्याउन सुझाव दिँदै आएको सञ्चालक समितिलाई आन्दोलनको बहानामा निकाल्ने तयारीसमेत गरेका छन् ।
अध्यक्ष अधिकारी र मन्त्री आलेले आफूअनुकूल निर्णय गर्न नमान्ने देखेपछि उनीहरूलाई निकाल्न लागिएको हो । हाल सञ्चालकका रूपमा निजी क्षेत्रबाट महाप्रबन्धक डिमप्रकाश पौडेल, हेली एभरेस्टका प्रबन्ध निर्देशक फुरगेल्जे शेर्पा, पर्यटन व्यवसायी ईश्वरी पौडेल र व्यवसायी किशोर प्रधान छन् ।
कर्मचारीहरूले भनेअनुसार स्वार्थ बाझिएका कुनै पनि सञ्चालक देखिँदैनन् । आन्तरिक एयरलाइन्सका सञ्चालक नभएका ती सदस्यलाई निकाल्ने तयारी गरिरहँदा कम्पनी मोडलमा लैजाने प्रारम्भिक मस्यौदा बनाउने समितिका संयोजक प्रधानलाई भने सञ्चालक समितिकै रूपमा बैठकमा बोलाइएको छ । अर्थात् प्रधानबाहेक शेर्पा र दुई जना पौडेललाई भने निकाल्ने तयारी भएको छ ।
कर्मचारीले भने स्वार्थ बाझिएका र मस्यौदामा हस्ताक्षर गर्ने सबै सञ्चालकलाई निकाल्नुपर्ने माग अघि सार्दै आए पनि मन्त्री र अध्यक्षले भने मस्यौदाकारका संयोजक प्रधानलाई सञ्चालकका रूपमा राख्ने र अरूलाई निकाल्ने तयारी गरेका छन् ।
मन्त्री र अधिकारीकै डिजाइनमा यसअघि दुईपटकसम्म बसेको बैठकमा शेर्पा र पौडेललाई बोलाइएको छैन । तर, उनीहरूले भने आफूहरू बैठकमा सहभागी हुन नसकेको भन्दै इमेल र टेलिफोनमार्फत अध्यक्ष अधिकारीलाई जानकारी गराउँदै आएका छन् ।
मन्त्री आले र अध्यक्ष अधिकारीले सार्वजनिक रूपमै उनीहरूलाई निगमको सञ्चालक समितिको सदस्यबाट राजीनामा दिनका लागि दबाब दिइसकेका छन् । उनीहरूको राजीनामापछि आफूअनुकूलका सदस्य ल्याउने र सोहीअनुसारको निर्णय लिन सक्ने अंकगणितीय हिसाब गरेका छन् ।
तर, सञ्चालकहरूले भने मन्त्रिपरिषद्को निर्णयबाट आफूहरू नियुक्त भएको र निगमसँग कुनै स्वार्थ बाझिने काम नगरेको भन्दै राजीनामा दिने पक्षमा नभएको बताउँदै आएका छन् । मन्त्री र अध्यक्षले बोर्डबाट जबर्जस्ती हटाए अदालतमा जाने तयारी उनीहरूको छ ।
यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर पार्टी प्रवेश गरेका प्रधानलाई भने सदस्यका रूपमा निरन्तरता दिएको भन्दै कर्मचारीले विरोध गरेका छन् । सरकारले पर्यटन र उड्डयन क्षेत्रको विज्ञका रुपमा निजी क्षेत्रबाट निगममा सञ्चालक समितिमा चार वर्षका लागि नियुक्ति गर्ने गरेको छ ।
मन्त्रीलाई प्रभावमा पारेर प्रधानलाई निरन्तरता दिएको भन्दै सञ्चालकबाट उनलाई पनि हटाउनुपर्ने, नभए कसैलाई पनि नहटाउन माग गरिएको कर्मचारी संघका उपाध्यक्ष देवेन्द्र पुनको भनाइ छ ।
‘हाम्रो माग मस्यौदा बनाउने सबैलाई हटाउनुपर्छ भन्ने हो’ उपाध्यक्ष पुनले भने, ‘तर, सीमित स्वार्थका लागि संयोजकलाई राखेर अरूलाई मात्र हटाउने तयारी गलत हो । यो सच्याउनुपर्छ ।‘