काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले १२ वर्षपछि जापानको ओसाकामा उडान गर्ने भएको छ । निगमले यसअघि १२ अप्रिल २००७ मा ओसाकामा अन्तिम उडान गरेको थियो ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले १२ वर्षपछि उडान सुरु गर्नका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिए । वाइडबडी जहाज भित्रिएको १३ महिनापछि पहिलो पटक नयाँ र लामो गन्तव्यमा उडान गर्न लागेको हो ।
निगमको वाइडबडी जहाजले १२ गते बिहान २ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाकाका लागि सीधा उडान गर्ने छ । काठमाडौंमा क्याप्टेन श्रवण रिजाल र महेश्वरमान डङ्गोलले विमान उडाउने छन् भने जापानबाट फर्कंदा क्याप्टेन विजय लामाले नेपाल ल्याउने छन् । लामा जापानको ओसाका पुगिसकेका छन् ।
पहिलो उडानमा ५६ जनाभन्दा बढी यात्रुले टिकट लिएको जनाइएको छ । यस्तै सरकारी स्तरबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढासहित ४ जना सभासद गरी सय जनाभन्दा बढी व्यक्ति जापान जाने भएका छन् ।
वाइडबडी जहाजमा २ सय ७४ ओटा सिट छन् । निगमले सुरुआती चरणमा १ महिनाका लागि एकतर्फी ३६ हजार ९९९ र दुईतर्फी ७२ हजार ८१४ रुपैयाँ भाडादर तोकेको छ ।
निगमले साताका तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान गर्ने छ । काठमाडौंबाट ६ घण्टा ३० मिनेटमा ओसाका पुग्न सकिन्छ । काठमाडौंबाट बिहान २ बजेर ३० मिनेटमा ओसाकाका लागि उडेको विमान स्थानीय समयअनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओसाका पुग्नेछ ।
ओसाकाबाट स्थानीय समयअनुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन ६ः०० बजे काठमाडौं आइपुग्नेछ ।