काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूमध्ये लाभांश घोषणामा ढिला गरेका बिमा कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।
बिमा क्षेत्र बाहेकका अन्य क्षेत्रका अधिकांश कम्पनीको लाभांश घोषणा भइसकेका बेला बिमा कम्पनीको अझै सुरसार छैन । अझ जीवन बिमा कम्पनीहरूको २ वर्षकाे लाभांश बाँकी नै छ । चालू आर्थिक वर्षको ६ महिना सकिँनै लाग्दा लाभांश घोषणा गर्ने हल्ला फैलिएसँगै सेयर मूल्यमा एकाएक उछाल आएको हो ।
अधिकांश बिमा कम्पनीको मूल्य एक वर्षको न्यून मूल्यभन्दा तल झरेकाे थियाे । यसबीचमा न्यून मूल्यमा कारोबार भइरहेका बिमा कम्पनीको आइतबार एकाएक चमक देखिएको हो । बिमा कम्पनीसहित अन्य कम्पनीको मूल्यमा पनि सामान्य वृद्धि देखिएपछि नेप्से सूचकले थप उचाइ लिएको छ ।
भदौ २ गतेको ३१९९ बिन्दुबाट तल झरेको बजार मंसिर २७ गते हालसम्मकै न्यून २२५९ अंकसम्म झरेको थियो । त्यसपछि केन्द्रीय बैंकले आयातमा कडाइ गर्ने नीति जारी गरेको र सरकारले स्थानीय सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न पाउने सुविधा दिएपछि तरलता सहज हुने भन्दै बजार उँभो लागेको हो ।
पछिल्लो ८ कारोबार दिनमा ३३७ अंकले सूचक उक्लिएको छ । औसतमा दैनिक ४२ अंकको बढोत्तरी देखिन्छ । यही बीचमा अन्य कम्पनीहरूको लाभांशपछि मूल्य समायोजन भइरहँदा बिमा कम्पनीको पनि आक्रामक लाभांश आउने अपेक्षामा आइतबार १४ वटा कम्पनीको मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ ।
उच्च मूल्य बढ्ने २० कम्पनीमा आइतबार कारोबार सुरु भएको मध्यभोटेकोसी जलविद्युत् कम्पनीबाहेक सबै बिमा कम्पनी छन् । यद्यपि, आइतबार १३२ कम्पनीको मूल्य बढेको छ ।
बिहीबार २५२० मा रोकिएको सूचक आइतबार प्रिओपनिङ कारोबार मै बढेर २५३१ पुगेको थियो । नियमित कारोबार सुरु भएसँगै बढ्न थालेको बजार बढ्ने र घट्नेक्रमलाई चार 'भी' आकारमा बनाएर निरन्तरता दिएको छ । यद्यपि, पछिल्ला २ वटा 'भी' लाई डब्ल्यूका रूपमा बुझ्न सकिन्छ ।
यसले के देखाउँछ भने मूल्य घटाउन तीब्र होड चलिरहे पनि आइतबार सम्भव भएन । यसबाट सोमबार पनि बजारले थप उचाइ लिन सक्छ । खासगरी, बजारमा देखिएको सकारात्मक भावलाई लगानीकर्ताहरूले उपयोग गर्न खोजेको देखिन्छ । समग्रमा अर्थतन्त्रका अवयवहरू सकारात्मक बाटोमा जाने आकलनसहितको निष्कर्ष गतसाता राष्ट्र बैंकले सार्वजनिक गरेको थियो । त्यसैको जगमा आइतबार लगानीकर्ता उत्साहित देखिएका थिए ।
उछालिँदो बजारमा लगानीकर्ताले संयम अपनाउनुपर्ने छ । अन्यथा आफ्नो सम्पत्ति गुमाएको रिस अरूलाई पोख्नुपर्ने स्थिति आउन सक्छ । यद्यपि, उच्च कारोबार र उच्च वृद्धिलाई ट्र्याकमा राख्न यो साताको अन्तिम तिर सूचक घट्ने प्रवल सम्भवना छ । लगानीकर्तामा नाफा बुकको होड देखिन सक्छ । किनभने लामो समयदेखि लगानीकर्ताले नाफा बुक गर्न नपाएको अवस्था छ ।
बजार बढेसँगै आइतबार कारोबार रकममा पनि वृद्धि देखिएको छ । यो केही दिनदेखिको निरन्तरता पनि हो । मंसिर २८ मा १ अर्ब ७८ करोडमा खुम्चिएको कारोबार रकम आइतबार १ महिना यताकै उच्च देखिएको छ । मंसिर १२ गते ५ अर्ब ६८ करोडको कारोबार भएकोमा आइतबार ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ कारोबार भएको छ ।
बढेको बजारमा पनि ५१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । सबैभन्दा बढी गोर्खाज फाइनान्सको ५.५ प्रतिशतले मूल्य घटेको छ । धेरै पनि ७ कम्पनीहरूको कारोबार रकम १० करोड नाघेको छ ।
सबैभन्दा बढी कारोबार नबिल बैंकको ३२ करोड ७ लाख रुपैयाँको भएको छ ।