कञ्चनपुर । नदीको बगरमा उखुखेती गर्न थालिएपछि लालझाडी गाउँपालिका–४ चन्दापुरका रामप्रवेश रानाको दिनचर्या नै बदलिएको छ । दोदा नदीको बगरमा उनले पाँच वर्ष अघिदेखि उखुखेती गर्दै आएका हुन् ।
बगरमै उखुखेती गरेर सबैभन्दा बढी आम्दानी गर्ने किसानका रुपमा राना गाउँमँ परिचित छन् । डेढदशक अघि दोदा नदीमा आएको बाढीले उनीसहित धेरै परिवारको जग्गा बगाएर बगरमा परिणत भएको थियो । नदीले जग्गा बगाएपछि रानालाई परिवार पाल्नकै लागि अन्यत्र भौतिरिनु पर्ने बाध्यता थियो ।
नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाले नदीले बगर बनाएको जग्गामा उखुखेती गर्न सकिने सल्लाह दिनाका साथै बीउबिजन र प्राविधिक सल्लाह पनि दिएपछि राना परिवारले उखुखेती गर्दै आएको थियो । “उखुखेती गरेपछि घरखर्च चलाउनका लागि कतै जानै परेन” उनले भने, “उखु खेतीबाट राम्रै आम्दानी हुन थालेपछि यसैलाई नै निरन्तरता दिँदै आएका छौं ।”
“धेरैजसो बालुवामा पानी उखुखेती हुन्छ रु भन्दै काम गर्न हच्किन्थे । बालुवामै उखु फलाएर गतिलो आम्दानी लिन थालेपछि नदीले जग्गा बगाएका अरु परिवार पनि उखु खेतीमा आवद्ध भएका छन्”, रानाले भने, “उखुखेतीबाटै वार्षिक रुपमा ३ लाख रूपैयाँदेखि ५ लाखसम्म खर्च कटाएर बचत गर्दै आएका छौं ।”
बढी उत्पादन दिने उखुका नयाँङनयाँ जात खोजी गरी रोप्न थालेपछि आम्दानी पनि बर्सेनि बढ्दै जान थालेको उनको भनाइ थियो । “उखुबाट गतिलो आम्दानी मात्रै हात पारेका छैनौ” शुक्लाफाँटा नगरपालिका–१२ अगलीपट्टिका राम अवतार रानाले भने, “बगरमा उखु रोप्न थालेपछि नदीले बर्सेनि जग्गा कटानी गरेर दिने दुःखसमेत हटेर गएको छ ।”
परियोजाका कार्यक्रम संयोजक महेश घिमिरेका अनुसार कृष्णपुर, शुक्लाफाँटा, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकामा गरी ५ सय ४३ दशमलव दुुई बिघा जमिन र दोदा, स्याली, सनवोरालगायत नदीका बगरमा परियोजनाको सहयोगमा उखुखेती लगाउँदै आइएको छ ।
आव २०७७/७८ मा बगरमा लगाइएको उखुको उत्पादन ६३ हजार ७ सय ७२ क्वीन्टल भएको थियो । यसबाट किसानले रु तीन करोड ३४ लाख ८० हजार ३०० आम्दानी गरेका छन् । आव २०७६/७७ मा ३८ दशमलव ६७ बिघामा उखु लगाइएकामा रु तीन करोड २१ लाख ९२ हजार ४०१ आम्दानी भएको थियो । यसवर्ष ६० बिघा बगरमा उखु विस्तार गरिएकाले उत्पादन बढ्ने उनले बताए।
सबैभन्दा बढी बगरमा उखु खेती बेलौरी र पुर्नवासमा गरी २०१, लालझाडी गाउँपालिकामा १२३, शुक्लाफाँटामा ४० र कृष्णपुरमा ८ बिघामा उखु खेती हुँदै आएको छ । उखु खेतीलगायतमा परियोजनाले स्थानीय तहसँग मिलेर ५३ प्रतिशत रकम लगानी गरेको छ ।
संयोजक घिमिरेका अनुसार आव ०७७/७८ मा उखुसँगै किसानले अन्तरबालीका रुपमा तेलहन, दलहन र आलु बालीको खेती गरेर १० लाख ९३ हजार रूपैयाँ आम्दानी गरेका थिए । उखु खेती गर्दै आएका किसानलाई आवश्यक तालिमको व्यवस्थाका साथै उन्नत उखु खेती सम्बन्धी नमुना प्रर्दशनका कार्यसमेत गरिँदै आएको छ ।
“उखु किसानलाई प्राविधिक सल्लाह दिनका लागि कृषि प्राविधिक परिचालन गरेका छौँ” उनले भने, “उन्नत तरिकाले उखु खेती गर्नका लागि चिनी मिलसँगको सहकार्यमा भारतबाट कृषि विज्ञ बोलाई आवश्यक तालिमसमेत दिएका छौं।
उखु खेतीका लागि आवश्यक औजार र उपकरणसमेत किसानलाई परियोजनाबाटै अनुदान स्वरुप उपलव्ध गराईएको छ ।” बगरमा तरकारी खेती गरेर मात्रै किसानले आब ०७७÷७८ मा ६३ लाख ६० हजार रूपैयाँ आम्दानी लिएका थिए ।
यसैगरी बगर संरक्षण गरी किसानले खर बिक्रीबाट रु एक लाख ५७ हजार हात पारेका छन् । तिल्की र सिकलपट्टिका किसानले बगरमै केरा खेती गरेर १ लाख ५७ हजार रूपैयाँ रकम आम्दानी गरेका परियोजनाका कृषि प्राविधिक लक्ष्मण रानाले बताए । रासस