काठमाडौं । हवाई क्षेत्रमा आक्रामक बनिरहेको निजी वायुसेवा कम्पनी श्री एयरले थप नयाँ जहाज ल्याएको छ । जेट इन्जिनबाट नेपाली आकाशमा उडान सुरु गरेको कम्पनीले धमाधम नयाँ जहाज थपेर सेवा सुरु गरिरहेको छ ।
कम्पनीले शनिबार मात्रै ९ एन–एएनआर क्यू ४०० जहाज ल्याएको हो । कम्पनीले उक्त जहाजबाट सुर्खेत, भरतपुर, तुम्लिङटार, पोखरासहित पुरानै गन्तव्यमा उडान गर्ने भएको हो । कम्पनीले क्यू ४०० तीनवटा र जेट इन्जिट ४ वटा जहाज छ । केही दिनपछि कम्पनीले नयाँ क्यू ४०० जहाज ल्याउने तयारी पनि अन्तिम चरणमा पुर्याएको छ ।
नेपाली आकाशमा श्री एयरलाइन्सको प्रवेशपछि हवाई भाडामा देखिएको एकाधिकार अन्त्य भएको थियो । सुरुमा जेट इन्जिनबाट सेवा दिइरहेको थियो । त्यसपछि श्रीले नयाँ जहाज क्यू ४०० बाट सेवा तीव्र रुपमा अघि बढाइरहेको छ ।
श्रीकै प्रवेशपछि आन्तरिक उडानको भाडा आधाभन्दा बढी सस्तो भएको थियो । श्रीले हाल ६ वटा जहाजमार्फत उडान भर्दै आएको छ । योसहित ७ वटा जहाज श्रीसँग छ ।
एयरलाइन्सले भद्रपुर, विराटनगर, राजविराज, पोखरा, भैरहवा, नेपालगन्ज, धनगढीलगायतका विमानस्थलमा सेवा दिँदै आएको छ । यस्तै श्रीले उद्धार उडान र चार्टर्डका लागि हेलिकप्टरसमेत सञ्चालन गर्दै आइहरेको छ ।
कोभिड संक्रमणपछि आन्तरिक यात्रामा जहाज चढ्नेको संख्या बढेको छ । लामो दूरीको बसभाडा सरह नै जहाजको टिकट पाउने भएकाले पनि धेरैले हवाई यात्रा गर्न थालेका हुन् । यसबाहेक कोभिडका बेला पनि सुरक्षित यात्राका रुपमा एयरलाइन्सलाई लिइएको थियो ।