काठमाडौं । देशकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले हालसम्म ७१ करोड युनिट बिजुली उत्पादन गरेको छ । अर्धजलासय आयोजना माथिल्लो तामाकोसीले साँझ पिक आवरको ४ घण्टामा ४०० देखि ४५६ मेगावाटसम्म बिजुली उत्पादन गरिरहेको छ ।
नदीमा जलस्तर तल्लो तहमा पुग्ने फागुनमासमेत आयोजनाले दैनिक ४ घण्टा ४५६ मेगावाट बिजुली उत्पादन गर्ने छ । तामाकोसी विद्युत प्रणालीमा बढी खपत हुने समयका लागि ठूलो ब्याकअप आयोजना भएको छ ।
आयोजनाले साउनदेखि बिजुली उत्पादन सुरु गरे पनि भदौ २५ गतेदेखि व्यावसायिक उत्पादन थालेको हो । तामाकोसीबाट वार्षिक २ अर्ब २८ करोड १० लाख युनिट बिजुली उत्पादन हुनेछ ।
अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ । कम्पनीले वार्षिक बिजुली बिक्रीबाट ९ अर्ब रुपैयाँ आम्दानी गर्नेछ ।
आयोजना सञ्चालनमा आएको ३ महिना साउनदेखि असोजसम्म) मा ८६ करोड रुपैयाँ खुदनाफा गरेको छ । ३ महिनामा कम्पनीले बिजुली बिक्रीबाट १ अर्ब ७२ करोड ७७ लाख रुपैयाँ आम्दानी गरी सो रकम नाफा गर्न सफल भएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत कम्पनीहरुमध्ये सबैभन्दा बढी नाफा गर्नेमा अपर तामाकोसी भएको छ । कम्पनीले लगानीकर्तालाई भविष्यमा थप प्रतिफल दिन रोल्वालिङ डाइभर्सन र रोल्वालिङ खोला आयोजना निर्माण सुरु गर्न लागेको जनाएको छ । रोल्वालिङ बनेपछि बिजुली उत्पादन साढे १७ करोड युनिट थप हुनेछ ।
यसरी उत्पादित बिजुली ४७ किलोमिटर लामो २२० केभी प्रसारण लाइनबाट राष्ट्रिय प्रसारण ग्रीड प्रणालीमा आबद्घ गरिएको छ । आयोजनाको पुँजी संरचनामा नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ६ प्रतिशत, नागरिक लगानी कोषको २ प्रतिशत र राष्ट्रिय बिमा संस्थाको २ प्रतिशत लगानी रहेको छ । बाँकी सर्वसाधारणको छ ।