काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा बाढीले क्षति पुर्याएको ६ महिना बितिसक्दा पनि यकिन विवरण आउन सकेको छैन । हालसम्म आयोजना पुनः निर्माणको काम नै सुरु हुन सकेको छैन् ।
आयोजना प्रमुख बासुदेव पौडेल भन्छन् ‘क्षति पुगेको ठाउँ, हेडवक्ससम्म जाने बाटोको पहुँच पुगेको छ, अरू काम प्रक्रियामै छन् ।’ सोही प्रश्न मन्त्रालयका प्रवक्ता ज्ञानप्रसाद ढकाललाई गर्दा उनले पनि बाटोको पहुँच पुर्याएको बाहेक जवाफ दिन सक्दैनन् ।
‘बाटोको पहुँच पुगेको छ, पुनःनिर्माणको काम सुरु भएको छैन । आयोजनाको लागि प्रस्ताव मन्त्रिपरिषद्मा लगेका छौं’ ढकालले भने । तर, उनीहरूले अस्थायी रुपमा सञ्चालनमा ल्याएको भनिएको बाटो पनि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकासँगको सहकार्यमा पुनःनिर्माण भएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमल्सेनाका अनुसार आयोजनाले पालिकालाई विपद् व्यवस्थापन शिर्षकमा १ करोड रुपैयाँ दिएको थियो । उक्त बजेट अपुग भएर पालिकाको पनि थप करिब १ करोड गरी जम्मा करिब २ करोड रुपैयाँको लागतमा गत असोजमै अस्थायी बाटो निर्माण गरिएको हो ।
आयोजना प्रमुख पौडेलका अनुसार अस्थायी रूपमा ८ किलोमिटर बाटो निर्माण भएको छ । आयोजनाका विभिन्न संरचनाहरू गत असार १ र साउन १६ गते मेलम्ची खोलामा गएको लेदो सहितको बाढीले पुरिएको छ । बाढीले आयोजना स्थलमा ल्याएको गेग्रान नपन्साउँदा क्षतिको यकिन विवरण प्राप्त हुन सकेको छैन ।
जसका कारण आगामी चैतसम्म काठमाडौं उपत्यकामा अस्थायी रूपमा पानी ल्याउने सरकारको योजना पूरा हुने सम्भावना कम हुँदै गएको छ । आयोजना प्रमुख पौडेल सरकारको योजनाअनुसार उपत्यकावासीलाई पानी दिने गरी काम भइरहेको दाबी गर्छन् ।
आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्त भने आयोजनाको कामप्रति गुनासो बढेको तथा पुनःनिर्माणको काम सुस्त भएको बताउँछन् । यद्यपि कछुवा गतिको काम हेर्दा आयोजनाको दाबीमा विश्वास गर्न सकिने अवस्था छैन ।
उपत्यकामा मेलम्चीको पानी अस्थायी रूपमा ल्याउनका लागि लक्ष्यअनुसार काम समन्न हुन अब ४ महिना पनि बाँकी छैन । प्रतिस्थापन बजेटमार्फत सरकारले मेलम्ची खानेपानी आयोजनाको पुनःनिर्माण गर्न १ अर्ब रुपैयाँ बिनियोजन गरी सकेको छ । उक्त १ अर्ब रुपैयाँ पुनःनिर्माणका लागि पर्याप्त हुने सूचना अधिकारी पन्त बताउँछन् ।
चिनियाँ कम्पनी सिनो हाइड्रोको म्याद सकिँदा अध्ययनको काम अघि नबढेको र क्षतिको यकिन विवरण आउन नसकेको पन्तको भनाइ छ । ‘म्याद थपको सार्वजनिक खरिद ऐनअनुसार ५० प्रतिशतभन्दा बढीको म्याद थप गर्नुपरेमा सरकारको मन्त्रिपरिषद्ले मात्रै निर्णय गर्न सक्ने उल्लेख छ ।’ पन्तले भने, ‘मन्त्रिपरिषद्ले निर्णय भयो भने हामीले तत्काल काम अगाढि बढाउन सक्छौं । त्यसको लागि हामीले खानेपानी मन्त्रालयलाई अनुरोध गर्ने हो, मन्त्रालयमा पटकपटक हामीले छलफल गरेका छौं ।’
सिनो हाइड्रोले यसअघि आयोजनाको सुरुङ र हेडवक्स निर्माण गरेको थियो । त्यसमध्ये टनेलको म्याद अघिल्लो वर्ष नै सकिएको थियो भने हेडवक्स निर्माणको म्याद गत अगस्टमा सकिएको हो । अब सिनोले मेलम्चीमा काम गर्नको लागि म्याद थप्नु पर्ने हुन्छ । तर, म्याद थप्ने अधिकार भने आयोजना तथा खानेपानी मन्त्रालयमा नभइ मन्त्रिपरिषद्सँग हुन्छ ।
मन्त्रालयले सिनो हाइड्रोको म्याद थपका लागि एक हप्ता पहिला मन्त्रिपरिषदलाई अनुरोध गरेको मन्त्रालयका प्रवक्ता ढकाल बताउँछन् । यद्यपी मन्त्रिपरिषद्ले हाइड्रोपावरको म्याद थपको विषयमा निर्णय कहिले गर्छ भन्ने निश्चित छैन ।
करिब ३ महिना मेलम्चीको पानी प्रयोग गरेर राहत महसुस गरेका उपत्यकावासीले हिउँद लागेसँगै पानीको समस्या फेरि भोग्न थालेका छन् । त्यसो त वर्षामा समस्या नै नभएको भने होइन । तर, हिउँद लागेसँगै पानीको माग दोब्बर बढेको काठमाडौं उपत्यका ट्याङ्कर तथा बोरिङ व्यवसायी संघले जनाएको छ ।
संघका अध्यक्ष हरि कँडेलका अनुसार मेलम्चीको पानी उपत्यकामा आउदा ७५ प्रतिशत ट्यांकरको पानीको माग घटेकोमा अहिले बन्द तथा हिउँद लागेसँगै दोब्बरले बढेको छ ।