दाङ । पछिल्लो समय दाङका महिला आफ्नै गाउँठाउँमा काम गरेर स्वरोजगार बन्दै छन् । घोराही–८ दुन्द्राकी एमुना चौधरी पूर्वकमलरी हुन् । कमलरीमुक्त भएपछि समूहमा आबद्ध भएर आयआर्जन गर्न बंगुरपालन व्यवसाय सुरु गरेकी छिन् । अहिले उनको खोरमा ३० बंगुर छन् । आफ्नै गाँउघरमा सानो लगानी गरी आयआर्जनमा जोडिन पाउँदा खुसी भएको उनले बताइन् ।
मुक्तकमलरी विकास मञ्च र आईएम नेपालको सहयोगमा २७ महिलालाई समूहमा आबद्ध गराई तालिमसमेत प्रदान गरिएको थियो ।
घोराही–२ रामपुर पलासेका तुलसा चौधरी जागरण महिला समुहकी अध्यक्ष हन् । उनी पनि पूर्वकमलरी हन् । अहिले उनको समूहमा मासिक ३०० बचत गर्छिन् । समूहमा बचत गरेको पैसालाई घुम्ती कोषमार्फत सबै सदस्यले पालैपालो लैजाने गर्दछन् । उनले ती संस्थाद्वारा सञ्चालित कृषि र उद्यमशीलताको तालिम लिएकी थिइन् । र, घुम्ती कोषबाट पैसा ल्याएर व्यावसायिक तरकारी खेती थालेकी हुन् । १० कट्ठा जमिनमा टमाटर, लसुन, काउली र बन्दा लगाएकी उनको मासिक आम्दानी ३० देखि ३५ हजार हुन्छ ।
मञ्चकी केन्द्रीय अध्यक्ष शान्ति चौधरीले पूर्वमुक्त कमलरीलाई आयआर्जन गरेर आत्मनिर्भर बनाउन कृषि र पशुपालनमा जोडेको बताइन् । महिलाले गर्दै आएका पेसा, व्यवसाय, कृषि, उद्यमशीलताका कामको अनुगमन गर्न र सम्बन्धित कार्यालयका प्रमुखसँग समन्वयन गराउने गरेको पनि उनले बताइन् ।
घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले मुक्तकमलरी विकास मञ्चले महिलालाई आयआर्जनमा जोडेर राम्रो काम गरेको बताउँद महिला सचेत भएमा बालविवाह न्यूनीकरण र लैंगिक हिंसा अन्त्यका लागि पनि सकारात्मक प्रभाव पर्ने उल्लेख गरे ।
आईएम कार्यक्रमका प्रबन्धक माधवराज चौधरीले लक्षित महिलाको उत्थानका लागि परियोजनामार्फत आयआर्जन र सचेतनामूलक कार्यक्रम भएको बताए । मञ्चले हाल घोराही उपमहानगरपालिकाको वडा नम्बर २, ४ र ८ मा कार्यक्रम लागू गरेर महिलालाई स्वरोजगार बनाउन सहयोग गरेको छ ।
हाल दाङमा मुक्तकमलरीको संख्या तीन हजार ६५८ जना रहेको मञ्चले जनाएको छ ।