दिपायल । दिपायल सिलगढी नगरपालिका वडा नं २ र ५ मा रहेका एतिहासिक तथा पुरातत्व बोकेका पुराना धार्मिकस्थल कोटभैरव तथा दूधेश्वर मन्दिर जोड्नका लागि झोलुङ्गे पुल निर्माण गरिन थालिएको छ । द्वारी खोलामाथि ७० मिटरको उचाइमा उक्त पुल बन्न लागेको हो ।
कोटभैरव तथा दूधेश्वर मन्दिरको प्रचारप्रसार तथा पर्यटकलाई आकर्षित गर्न पुल निर्माण थालिएको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले जानकारी दिइन् । उनका अनुसार जिल्लाकै इतिहास बोकेका दुई पुराना मन्दिरमा पर्यटकको सहजताका लागि पुल निर्माणे सुरु गरेका हौं ।’
दुई डाँडामाथि रहेका धार्मिकस्थलको एकैचोटि दर्शन गर्न पाइने र आन्तरिक तथा बाह्य पर्यटकलाइ भित्र्याउन उक्त पुलले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको नगर उपप्रमुख शिवराज खड्काले जानकारी दिए ।
प्रदेश सरकार र दिपायल सिलगढी नगपालिकाको ८६ लाख ३८ हजार ७०० को लागतमा निर्माण हुन लागेको उक्त पुलको लम्बाइ २०० मिटर छ । देवभूमि कन्स्ट्रक्सन अमरगढी–५, डडेल्धुराले २०७८ असार १७ गते सम्झौता गरी आउँदो २०७९ असार १५ गतेसम्म निर्माणको काम सक्ने गरी सम्झौता गरेको छ ।
पर्यटनको प्रमुख केन्द्रबिन्दु बन्न सक्ने जनाउँदै पुरानो राजदरबारमेत रहेको उक्त ठाउँमा सुदूरपश्चिममा झल्किने परम्परागत बाजागाजा, पहिरन, भाँडाकुँडालगायतका लोप हुन लागेका चिजलाई राख्ने र संग्रहालय निर्माण गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ ।
उक्त पुलबाट प्रमुख व्यापारी केन्द्र दिपायल, पिपल्ला एअरपोर्ट, राजपुर तथा घोलतडालगायतका होचा फाँट हेर्न मिल्ने भएको हुँदा पर्यटकको आर्कषण बढ्ने स्थानीयवासी तुलसी शाहीले बताए । उनले रमाइला फाँट र व्यापारी केन्द्रको अवलोकन गर्न निकै सहज हुने भएकाले पुल बनेपछि पर्यटकका लागि निकै सहज बताए ।
आन्तरिक तथा बाह्य पर्यटकसमेत पुल अवलोकन गर्न आएपछि धार्मिक पर्यटकलाई देश विदेशमा चिनाउन सहज हुने अपेक्षा लिइएको छ । रासस