काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निर्देशक प्रदीप अधिकारीले नेतृत्व गरेका अधिकाशं परियोजनाको काममा ढिलासुस्ती भएको छ ।
तत्कालीन महानिर्देशक सञ्जीव गौतम र राजन पोखरेललाई प्रभावमा पारी लामो समयदेखि इन्जिनियरिङ विभाग र राष्ट्रिय गौरव आयोजना प्रमुख बनेका अधिकारी मातहतका अधिकाशं आयोजनाको काममा ढिलाइ भएको हो ।
राजनीतिक पहुँचका आधारमा महानिर्देशकहरुलाई प्रभावमा पार्ने र आफू अनुकूल काम गराउँदै आएका उनलाई पूर्वमहानिर्देशक पोखरेलले आफ्नो अवकाशको अन्तिम दिनमा काज फिर्ता गराएका थिए ।
अर्कैको दरबन्दीमा लामो समयदेखि रजगज गर्दै आएका अधिकारीको ठाउँमा पुरानै दरबन्दीअनुसार मुरारी भण्डारीको काज फिर्ता गराएका थिए । यद्यपि अधिकारी अहिले पनि राष्ट्रिय गौरव आयोजना प्रमुखका रुपमा छन् । त्यसका प्रमुख पनि तत्कालीन पर्यटनमन्त्री स्व.रवीन्द्र अधिकारीलाई प्रभावमा पारेर आफैंले जिम्मेवारी लिएका थिए ।
उनैले जिम्मेवारी लिएका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम लम्बिँदै गएको छ । त्यति मात्र होइन, गौतमबुद्ध विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि एरोथाई नेपालमा आए पनि भित्री काम नसकिएपछि त्यतिकै अलमलमा परेर बसेको स्रोतको दाबी छ ।
गत महिनामा प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीको तीन महिनाभित्रै क्यालिब्रेसन फ्लाइट गर्ने घोषणालाई पनि अहिले फेल खुवाएका छन् । यसबाहेक उनै अधिकारीले लिड गरेको प्राधिकरणको अत्याधुनिक भवनसमेत छ वर्ष बितिसक्दा पनि निर्धारित समयमा निर्माण सम्पन्न हुन सकेको छैन ।
१ अर्ब ६५ करोडको लागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअघि २०७२ साल वैशाख १ गतेबाट निर्माण सुरु गरिएको सो भवनको काम आगामी असारभित्र सकिसक्ने गरी काम भइरहेको इन्जिनियर नलविक्रम थापाले जानकारी दिए ।
४ रोपनी ५ आनामा निर्माण भइरहेको सो भवन ४ वर्ष भित्रमा सम्पन्न गर्ने गरी तुन्डी रसुवा जेभिसँग सम्झौता गरेको थियो । तर, भूकम्प, नाकाबन्दी र कोरोनालाई दोष देखाउँदै आगामी असारसम्ममा सम्पन्न गर्ने लक्ष्य प्राधिकरणलाई दिएको थापाले बताए ।
तीनवटा ब्लकमा सो भवन निर्माण भइरहेको छ । जसमध्ये बीचको ब्लक ११ तला र अन्य दुई ब्लक क्रमशः ५ र ७ तलाका हुनेछन् । यस्तै दुईवटा बेसमेन्ट पार्किङ रहने उल्लिखित भवनको निर्माण दुई चरणमा चलिरहेको छ । भवनको पहिलो चरणको काम सकिएको दोस्रो चरणअन्तर्गमा फिनिसिङको काम भइरहेको त्यहाँका अधिकारीले बताएका छन् ।
यो पनि हेर्नुहोस
प्रदीप अधिकारीः प्राधिकरणको तीनवटा राष्ट्रिय गौरबका आयोजनाको प्रमुख तर सबै असफल