काठमाडाैं । ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङसम्बन्धी देशव्यापी साक्षरता अभियान, हालसम्म १७५ वटा कार्यक्रम सम्पन्न
ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार र प्रोत्साहनका लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत १७५ भन्दा बढी डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले प्रदेश १ मा २९, प्रदेश २ मा १७, बागमती प्रदेशमा २१, गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा ५४, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिम प्रदेशमा २२ वटा कार्यक्रमहरू सञ्चालन गरिसकेको छ ।
उक्त अभियान आगामी हप्ता कर्णाली र काठमाडौं उपत्यकामा सञ्चालन गरी समापन गरिनेछ । बैंकले यस्ता साक्षारता कार्यक्रम आयोजना गरी बैंकिङ सेवा कम समयमै छिटो तथा छरितो र घरमै बसेर लिन पाउने सहजताका लागि देशव्यापी अभियानका रूपमा चलाएको हो ।
स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पुर्याउने उद्देश्यका साथ अभियानका लागि बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासी लाभान्वित बनाएको छ ।
आजको समयमा डिजिटल बैंकिङ अपरिहार्य रहेको तथा मूलधारका वित्तीय माध्यमलाई डिजिटल माध्यमले विस्थापित गर्दै जाने हुनाले डिजिटल बैंकिङको प्रयोग र यसका फाइदाबारे सर्वसाधारणसमक्ष जानकारी पुर्याउनु जरुरी रहेको बैंकले जनाएको छ ।