काठमाडौं । लगानीकर्ताहरुमा नाफा बुक गर्ने होड देखिँदा साताको अन्तिम दिन बिहीबार सेयर बजारमा तीव्र उतार चढाव देखिएको छ । बिहीबार उच्च र न्यून बिन्दूबीच ५७ अंकको फरक छ । यद्यपि, बजार सूचक नेपाल स्टक एक्सचेञ्ज १२.५३ अंकले बढेर २५२०.२३ बिन्दूमा रोकिएको छ ।
बुधबार २५०७ अंकमा रहेको नेप्से प्रि-कारोबार सेसनमै २५२२ पुगेको थियो । तर, बजार खुलेको २० मिनेटमै सूचक ओरालो लागेर २४८५ सम्म पुग्यो । त्यसपछि बजार फेरि बाउन्स ब्याक हुँदै सुरुवाती उचाइलाई छुने कोसिस गरे पनि टिक्न सकेन र फेरि घट्यो ।
त्यसपछि घट्ने बढ्ने प्रतिस्पर्धामा बढ्दै गएर बजार सूचक २५४२ सम्म चढे पनि टिक्न सकेन । र, फेरि घट्ने बढ्ने क्रम चल्दै अन्तिम मिनेटमा २५१५ बाट थप उचालिएर बन्द भयो । खासगरी, अर्थतन्त्रका खराब सूचकहरु सार्वजनिक भइरहेका बेला राष्ट्र बैंकले सवारी साधनसहित विभिन्न १६ वस्तुको आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था र अर्थ मन्त्रालयले स्थानीय सञ्चित कोषमा जाने रकमको ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न दिने सुविधाका कारण यो साताको मंगलबारबाट बजार उकालो लागेको थियो ।
सोमबार २३५८ मा रहेको सूचक तीन दिनमा १८३ अंकको उचाइ पक्रियो । जसले गर्दा गतसाता न्यून बिन्दूमा सेयर किनेकाहरुले अधिकांश कम्पनीमा १० प्रतिशतभन्दा बढीको मूल्य वृद्धि पाए । अल्पकालीन कारोबारलाई घट्दो बजारमा १० प्रतिशतभन्दा बढीको मार्जिन आउनु राम्रो प्रतिफल हो ।
त्यसैले आयात कडाइ निक्षेप गणनाले वित्तीय क्षेत्रमा तरलता अभावको स्थितिमा सुधार आउने व्याख्या गर्दै बजार बढाएर नाफा लिन चलाख लगानीकर्ताहरु सफल भएका छन् । राष्ट्र बैंकले बुधबार मात्रै थप ९२ अर्ब रुपैयाँ पुनर्कर्जा वित्तीय क्षेत्रमा जाने बताएको छ । यसले तरलता समस्यामा अझ सहजता प्राप्त गर्ने अनुमान गरिएको छ ।
उता, स्थानीय तहको निर्वाचन वैशाख तेस्रो साता हुने आँकलन गर्न थालिएको छ । त्यसले घर गाउँमा गएको पैसा वित्तीय प्रणालीमा फर्कन मद्दत गर्ने र तरलता समस्या थप सहज हुने अनुमानलाई नयाँ तरिकाले व्याख्या गर्दै बजार उठाउने कोसिस आगामी साता हुन सक्छ । यद्यपि, अहिले अर्थतन्त्रका कुनै पनि सूचकहरु सकारात्मक छैनन् । पुसको ६ गतेसम्म निक्षेप बढेर र कर्जा लगानी घटेको देखि बाहेक अन्य सकारात्मक खबर छैन । मंसिर महिनाको आयातको वृद्धि उच्च नै छ । यसले अर्थतन्त्रमा थप दबाब सिर्जना गर्ने निश्चित जस्तै छ । यस्तो अवस्थामा लगानीकर्ताहरुले सचेततापूर्वक लगानी गर्नुपर्छ ।
बजार बढ्यो भनेर हौसिएर लगानी गर्ने बेला यो होइन । यद्यपि, राम्रा कम्पनीहरु जसको मूल्य घट्दा पनि प्रतिफलले नोक्सानी हुँदैन, त्यस्ता कम्पनीमा लगानी गर्नु बुद्धिमानी हुन्छ । आन्तरिक सूचनालाई खेलाएर स्मार्ट लगानीकर्ताले सामान्य लगानीकर्ताहरुलाई पछार्ने रणनीति नै सेयर बजारको खेल हो । त्यसैले उछालिएका कम्पनीमा मूल्य लगाउँदा लगानीकर्ता सचेत भए धेरै घाटा व्यहोर्नु पर्दैन । वित्तीय बजारमा अन्य सकारात्मक सन्देश नआएको अवस्थामा आगामी साता बजार फेरि ओरालो लाग्छ । बिहीबारको कारोबार प्रवृत्तिले त्यही देखाउँछ ।
बिहीबार अन्तिमसम्म शिखर इन्स्योरेन्सले उच्च मूल्यवृद्धि पाएको छ भने गोर्खाज् फाइनान्सको मूल्य उच्च अंकले घटेको छ । यद्यपि, दिनभर जस्तो नकारात्मक सर्किट लागेको गोर्खाजको अन्तिम समयमा भने ६.७४ प्रतिशतले मात्रै मूल्य घटेको छ । बिहीबार हिमालयन डिष्टिलरी र गोर्खाज फाइनान्सको कारोबार उच्च रहेको छ । शतप्रतिशत लाभांश घोषणा गरेको हिमालयनको ३६ करोड २४ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर किनबेच हुँदा उच्च मूल्य घटेको गोर्खाजको २० करोड ६८ लाख ४४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बिहीबार कुल कारोबार रकम भने बुधबारकै हाराहारी छ । बिहीबार ४ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।