अन्ततः सोनी पिक्चर्स र जी इन्टरटेन्मेन्टले ‘मर्ज’ को सम्झौतामा हस्ताक्षर गरेका छन् ।
जापानका विभिन्न कम्पनीहरुको समूह सोनीको भारत एकाइले स्थानीय प्रतिद्वन्द्वी जीसँग सम्झौता गरेको छ ।
जी इन्टरटेनमेन्टसँग भएको सम्झौतापछि यो देशकै दोस्रो ठूलो इन्टरटेनमेन्ट नेटवर्क बनेको छ ।
मंगलबार भएको सम्झौताअनुसार ७५ भन्दा बढी टीभी च्यानल, फिल्मसँग जोडिएको अधिकार र दुई स्ट्रिमिङ प्लेटफर्म्स अब एउटै नेटवर्कअन्तर्गत आउने भएका छन् ।
भारतमा बढ्दो मनोरञ्जन क्षेत्रमा मुख्य भूमिका निभाउन चालिएको यो कदमलाई महत्वपूर्ण रूपमा हेरिएको छ । साथै यो नेटवर्क अब वाल्ट डिज्नीको हट स्टारजस्ता प्रतिद्वन्द्वीलाई चुनौती दिन तम्तयार छ ।
भारतीय इन्टरटेनमेन्ट इन्डस्ट्रीमा ९० करोडभन्दा बढी टेलिभिजन दर्शक रहेका अनुमान गरिएको छ । यस्तै ८०० प्लस टीभी च्यानल छन् ।
यी ८०० च्यानलमा ड्रामा, खेल, रियालिटी सो, इन्टरटेनमेन्ट गरी सबै प्रकारका कार्यक्रम देखाइन्छ ।
मंगलबार उल्लिखित दुई कम्पनी मर्जको घोषणापछि अब नयाँ बन्ने कम्पनीको ५१ प्रतिशत सेयर सोनी पिक्चर्स नेटवर्क इन्डियाको हुनेछ ।
जीका सीईओ पुनित गोयनका नयाँ कम्पनीका प्रमुख हुनेछन् । उनले मर्ज (विलय) लाई महत्वपूर्ण भन्दै मर्जपछि बन्ने यस कम्पनीले मनोरञ्जन व्यवसायलाई अझै व्यापक बनाउने बताए, ‘यसमार्फत हामीले हाम्रा उपभोक्तालाई अझै स्तरीय रुपमा कन्टेन्ट दिन सक्नेछौं ।’
यी दुवै कम्पनी भारतमा वर्षौंदेखि बनेका र स्ट्रिमिङ प्लेटफर्म जी–५ र सोनी–लिभका मालिक हुन् ।
सोनी र जी टीभी भारतका लोकप्रिय च्यानल हुन् । यिनीहरुको फ्लोइङ राम्रो छ। मर्जपछि यसले कैयौं कमीलाई पूरा गर्ने बुझिएको छ ।
अझै पनि अधिकांश भारतीय दर्शक ‘डाइरेक्ट टु होम’ टीभी मनोरञ्जनमा निर्भर छन् । यस्तै समयानुसार स्ट्रिमिङ प्लेटफर्म पनि तीव्र रूपमा बढिरहेका छन् । युवा दर्शक, विशेषगरी डिजिटल अडियन्स यसका ठूला उपभोक्ता हुन् ।
पछिल्ला केही वर्षमा नेटफ्लिक्स, अमेजन प्राइम भिडियो र हट स्टारजस्ता कैयौं स्ट्रिमिङ प्लेटफर्मबीच प्रतिस्पर्धा बढ्दो छ ।
जानकारहरूका अनुसार सोनी र जीबीच भएको यस सम्झौताले प्रतिस्पर्धा अझै बढ्नेछ ।
-बीबीसीबाट