काठमाडौं । हिउँद लागेसँगै उपत्यकामा पानीको माग दोब्बरले बढेको छ ।
काठमाडौं उपत्यका ट्याङ्कर तथा बोरिङ व्यवसायी संघका अध्यक्ष हरि कँडेलका अनुसार ट्यांकरको पानीको माग दोब्बरले बढेको छ ।
‘सुख्खा समयमा पानीको माग यसै पनि बढ्छ । बर्खाको समयमा २/३ पटक पानी वितरण गर्ने ट्यांकरले अहिले दिनमै ५/६ पटक पानी वितरण गर्छ’ उनले भने ।
गत वैशाखमा मेलम्चीको पानी आउँदा ७५ प्रतिशतसम्म ट्यांकरको पानीको माग घटेको थियो । तर, अहिले मेलम्चीको पानी आउन छाडेपछि माग दोब्बरदले बढेको हो ।
उपत्यकामा मात्रै करिब ८५० ट्यांकरले र उपत्यकाबाहिर १०० ट्यांकरले पानी वितरण गर्दै आएका छन् । फेरि मेलम्चीको पानी निरन्तर आउने हो भने यो माग ८० प्रतिशतसम्म घट्ने अध्यक्ष कँडेलको भनाइ छ ।
उपत्यकाभित्र चल्ने ट्यांकरमा मात्रै करिब ९ हजार व्यक्ति आश्रित रहेको संघले जनाएको छ । वैशाखदेखि असारसम्म मेलम्चीको पानी आउँदा धेरै ट्यांकर व्यवसायी तथा चालक कामविहीन बनेका थिए । तर, अहिले पानीको माग बढेपछि ट्यांकर व्यवसायीको दिन फर्किएको छ ।
उपत्यकामा वितरण गर्ने पानी उपत्यकाभित्रकै रहेको संघले जनाएको छ । काठमाडौंको जोरपाटी, गोंगबु, गोदावरी, चाल्नाखेल तथा मातातीर्थ र बालाजु क्षेत्रबाट ट्यांकरले पानी भरी बिक्री–वितरण गर्दै आएका छन् ।
यता जार तथा बोतलको पानीको माग भने ३५ प्रतिशतले घटेको नेपाल बोटल वाटर उद्योग संघले जनाएको छ । जाडोको समयमा कम पानी पिउने भएकाले माग संघका अध्यक्ष सुवास भण्डारी बताउँछन् ।
‘बर्खाको तुलनामा हिउँदमा पानीको माग घट्ने गर्छ’ क्यापिटल नेपालसँग कुरा गर्दै भण्डारीले भने, ‘यो वर्ष करिब ३५ प्रतिशतले माग घटेको छ ।’
बिहेको महिना तथा चाडपर्वको समयमा पानीको खपत केही बढे पनि हिँउदमा बोतल तथा जारको पानीको माग घट्ने उनको भनाइ छ । बर्खामा दैनिक १ लाख ५० हजारदेखि ८० हजारवटा जार उपत्यकाभित्र बिक्री गर्दै आएको संघले अहिले करिब १ लाखवटा जार मात्रै वितरण गर्छ ।
त्यस्तै बर्खामा एक लिटर पानीको बोटल दैनिक १५ देखि १८ हजार कार्टुन बिक्री हुँदै आएको थियो । तर, हाल घटेर करिब १० हजार कार्टुनमा झरेको अध्यक्ष भण्डारीले सुनाए ।
दैनिक ४३ करोड लिटर पानीको माग रहेकामा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले हिउँद लागेसँगै दैनिक १० देखि ११ करोड लिटर मात्रै पानी वितरण गर्दै आएको छ । यस्तै बर्खाको समयमा दैनिक १५ करोड लिटरसम्म केयूकेएलले पानी वितरण गर्छ ।
उपत्यकामा बाँकी पानीको माग बोतल, जार तथा ट्यांकरले धान्दै आएका छन् ।
मेलम्चीको पानी अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापनका लागि केयूकेएलले उपत्यकाभित्र ५ करोड लागतमा १० वटा ट्युबेल खन्ने बताएको छ । जसबाट १० करोड लिटर पानीको व्यवस्था हुन्छ ।
तर, हालसम्म पनि कुन ठाउँमा ट्युबेल खन्ने विषयमा टुंगो लाग्न नसकेको केयूकेएलका प्रवक्ता प्रकाश राई बताउँछन् ।
उपत्यकामा ठूलो परिमाणमा जार तथा बोतलबाट पानी आपूर्ति भए पनि गुणस्तर परीक्षण हुने गरेको छैन । परीक्षणबिनै उपत्यकावासीले ट्यांकर र जारको पानी प्रयोग गर्दै आएका छन् ।
सिन्धुपाल्चोकको मेलम्चीबाट करिब १७ करोड लिटर पानी उपत्यकामा आपूर्ति हुन्थ्याे । तर, गत असार–साउनमा मेलम्ची खोलामा गएको बाढीका कारण खानेपानी आयोजनामा क्षति पुगेको छ ।
सरकारले आगामी वैशाखसम्म पानी आपूर्ति गर्ने जनाए पनि आयोजना पुनर्निर्माणको गति हेर्दा समयमै पानी आपूर्ति हुने सम्भावना कम हुँदै गएको छ ।