काठमाडाैं । अटोमाेबोइल्स डिलर्स एसाेसिएसन नाडाकाे पहिलो कार्यसमिति बैठकले पदाधिकारी चयन गरेका छ ।
कार्यसमिति सदस्यले पदाधिकारी चयन गर्ने नाडाकाे व्यवस्थाअनुसार बुधबार कार्यसमितिका सदस्यले मतदानमार्फत उपाध्यक्षसहितका पदाधिकारी निर्वाचित गरेका हुन् । उपाध्यक्षमा मोहनबाबु खड्गा र सुवास आचार्य निर्वाचित भएका हुन् । यसैगरी साधारण उपाध्यक्षतर्फ राजनबाबु श्रेष्ठ, सुनिल रिजाल र निराकार श्रेष्ठ रहेका छन् । रिजाल र श्रेष्ठको मत समान भएका कारण नाडाको विधानअनुसार दुवै जनाकाे एक–एक वर्ष कार्यकाल रहनेछ ।
यसैगरी महासचिवतर्फ सुरेन्द्र कुमार उप्रेती निर्विराेध निर्वाचित भएका छन् । यस्तै सचिवमा विक्रम सिंघानिया, कोषाध्यक्षमा मिलनबाबु मल्ल र सहकोषाध्यक्षमा पंकज अग्रवाल चुनिएका छन् ।
यसैगरी नाडाले सोहन श्रेष्ठ, अभिमन्यु गोल्छा र दिपक अग्रवाललाई मनोनित सदस्यमा चयन गरेको छ भने निशान ढकाल र अमृत जोशीलाई आमन्त्रित सदस्यमा चयन गरेको हाे ।
सबै पदाधिकारीले बुधबार नै शपथग्रहण गरे ।
कार्यक्रममा बोल्दै नाडाका नवनिर्वाचित अध्यक्ष धुव्र थापाले कार्यसमितिको पहिलो बैठकले राष्ट्रबैंकले ल्याएको एलसीमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने नीतिको संसोधनका लागि माग राख्ने बताए ।
राष्ट्रबैंकले जारी गरेको सो नीतिले गाडी आयातलाई अप्ठ्यारो बनाएर अटोमोबाइल्स क्षेत्र नै तहसनहस बनाउने भन्दै नाडाले आपत्ति जनाएको छ ।
`यो नीति कार्यन्वयनमा आए एलसी खोलेको ३ महिनापछि मात्र गाडी सोरूममा आउँछ । यसरी त हाम्रो पैसा फ्रिज भएर खर्च बढ्छ । यसको अन्तिम भार उपभोक्तामाथि नै पर्छ' थापाले भने, 'यसैले यो नीति व्यवसायीभन्दा पनि उपभोक्ताका लागि अहितकारी छ ।´